नेपालले एएफसी एशिया कप २०२७ र फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणअन्तर्गत यमनबिरुद्धको पहिलो लेगका लागि तयारी थालेको छ।
नेपालले आगामी मंसिर ५ गते घरेलु मैदानमा यमनबिरुद्ध विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको खेल खेल्दैछ। नेपाली फुटबलको प्रशासकीय निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलवार दशरथ रंगशालामा पत्रकार सम्मेलन गर्दै यमनबिरुद्धको खेलका लागि आवश्यक तयारी गरिरहेको जानकारी दिएको हो। दोस्रो चरणको छनोटमा नेपाल समूह ‘ए’ मा छ। चार राष्ट्र रहेको यस समूहमा नेपालले यमनसँग दोस्रो खेल खेल्न लागेको हो। त्यसअघि नेपालले संयुक्त अरब इमिरेट्स (युुएई) सँग खेल्दैछ।
नेपालले यमनसँग पहिलो लेग मंसिर ५ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ७ बजे हुनेछ। प्रारम्भिक चरणमा लाओसलाई हराउँदै नेपालले दोस्रो चरणको यात्रा तय गरेको हो। नेपालले अब आफूभन्दा बलियो राष्ट्रसँग दोस्रो चरणमा खेल्नेछ। फिफा वरियतामा नेपाल १७६ औं स्थानमा रहेको नेपालले १५६ औं स्थानको यमनको सामना गर्नेछ। यसअघि घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेलहरू प्रायः साँझ ५ः३० बजे हुने गरेको थियो।
यस पटक भने एन्फाले नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको सल्लाहअनुसार खेल साढे एक घण्टापछि सारेको छ। एन्फाको प्रतियोगिता निर्देशक सञ्जीव मिश्रले प्रशिक्षकले साँझ सात बजे खेलाउँदा टोलीका लागि पनि राम्रो हुने भएकाले साँझ सात बजे खेल सारिएको बताए। समर्थकलाई जाडो मौसममा ढिलो खेल हुँदा रंगशाला पुगेर खेल हेर्न कठिन हुने भएकाले एन्फाले त्यसको आवश्यक विकल्प खोज्ने जनाएको छ।
एन्फाले त्यो समयमा चक्रपथमा २० देखि २५ वटा बसको व्यवस्था गर्ने जनाएको छ। एन्फाले उक्त खेलको टिकटदर साधारण प्यारापिटतर्पm चार सय र भिआइपी प्यारापिटमा एक हजार रुपैयाँ तोकेको छ। एन्फाका प्रवक्ता सुरेश साहले मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको प्रशिक्षणमा हाल २६ सदस्यीय टोली बन्द प्रशिक्षणमा रहेको उल्लेख गरे। उनले छनोट खेलका लागि एन्फाले सबै तयारी अगाडि बढाएको बताए।
एन्फाले प्रतियोगिताको अनुमानित बजेट ५५ हजार ६ सय ८० अमेरिकी डलर रहेको जनाएको छ। नेपालले समूहको पहिलो खेल संयुक्त अरब इमिरेट्स (युएई) बिरुद्ध कात्तिक ३० गते खेल्दैछ। त्यसका लागि नेपाली टोली आगामी कात्तिक २६ गते दुबई प्रस्थान गर्दैछ। नेपालले त्यो खेल भने राति ९ः३० बजे खेल्नेछ।
प्रकाशित: २१ कार्तिक २०८० ११:३७ मंगलबार