खेल

च्याम्पियन्स लिगबाट बाहिरियो एथ्लेटिकको मड्रिड

मड्रिड- च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा इङ्लिस क्लब म्यान्चेष्टर युनाइटेड समूह ‘ए’ को विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको छ। गएराति सम्पन्न खेलमा युनाइटेडले सिएसकेए मस्कोलाई २–१ ले पराजित गरेको हो। पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा मस्को पराजित हुन पुग्यो। मस्कोका लागि खेलको ४५ मिनेटमा विटिन्होले गोल गर्दै अग्रता दिलाएपनि त्यो अग्रता जोगाउन सकेन।

एक गोलले पछि परेको युनाइटेडका लागि ६४ औं मिनेटमा रोमेरु लुकाकुले गोल गर्दै बराबरी गरेका थिए । त्यसको लगतै ६६ औं मिनेटमा मार्कस रास्फोर्डले अर्को गोल गरेपछि युनाइटेडले अग्रता लिएको थियो । सो अग्रता अन्त्य सम्म जोगाउँदै युनाइटेड नकआउट चरणमा प्रवेश गर्न सफल भएको छ।

जितपछि १५ अंक जोडेको युनाइटेड समूह बिजेता बन्दा सोहि समूह बाट एफसी बासेल उपविजेता बन्दै अन्तिम १६ मा प्रबेश गर्न सफल भयो। बासेलले राति सम्पन्न खेलमा बेन्फिकालाई २–० ले हराउहै अघिल्लो चरणमा प्रवेश गर्‍यो।

लिग अन्तरगत नै राति भएको खेलमा अर्को इङ्लिस टोली चेल्सी एथ्लेटिकको मड्रिडसँग एक/एक को बराबरीमा रोकिएको छ। बराबरीपछि एथ्लेटिकको मड्रिड च्याम्पियन्स लिग फुटबलको समुह चरणबाटै बाहिरिएको छ। पहिलो हाफमा बराबरी भएको खेलको ५६ औं मिनेटमा साउल निगुएजले गोल गर्दै एथ्लेटिको लागि अग्रता दिलाए पनि ७५ औं मिनेटमा एथ्लेटिकोका स्टेफेन साविकले आत्मघाति गोल गरेपछि  खेल एक/एक को बराबरीमा पुगेको थियो । त्यसपछि निर्धारीत समयमा कुनै गोल नभएपछि एथ्लेटिकको मड्रिड समूह चरणबाटै बाहिरिन बाध्य भयो । बराबरी पछि चेल्सी भने समूह ‘सी’ बाट उपविजेता बनेको छ भने सोही समुहबाट एएस रोमा समूह बिजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्न सफल भयो । राति सम्पन्न खेलमा रोमाले एफ.के कारावागलाई १–० ले हराएको हो।

त्यस्तै राति नै सम्पन्न अर्को खेलमा बार्सिलोनाले स्पोर्टिङ लिस्बोनलाई २–० ले पराजित गरेको छ । खेलमा बार्साको लागि  पाको अलकेसरले १ गोल गरे भने अर्को एक गोल स्पोटिङ्का जेरेमी म्याथ्युले आत्माघाती गोल गरेका थिए ।  जितपछि समूह ‘डी’ को बिजेता बार्सिलोनाको १४ अंक भएको छ । बार्सिलोना भने यसअघि नै नकआउट चरणमा प्रवेश गरिसकेको थियो । यता ओलम्पियाकोसलाई २–० ले पराजित गर्दै युभेन्टस पनि बार्सिलोनाको समूहबाट उपबिजेता बन्दै च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाउँन सफल भएको छ। अवे मैदानमा भएको खेलमा युभेन्टसका लागि कुएड्राडो र बेर्नाडेस्चीले गोल गरेका थिए।

राति नै सम्पन्न अन्य खेलमा बार्यन म्युनिख र एण्डरलेक्ट  पनि बिजयी भएका छन् । समूह चरणको अन्तिम खेलमा बार्यन म्युनिखले पेरिस सेन्ट जर्मेन पिएसजी लाई ३–१ ले पराजित गर्‍यो। घरेलु मैदानमा भएको खेलमा बार्यनका लागि कोरेन्टिन टुलिसोले २ तथा रोबर्ट लेवानडोस्किले १ गोल गरेका थिए।

यता पराजित पिएसजी का लागि एमबाप्पेले १ गोल फर्काएका थिए । पराजित भए पनि पिएसजी समुह ‘बी’ को विजेताको रुपमा अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ ।  जितपछि बार्यनको १५ अंक भएको छ । पिएसजीको पनि १५ अंक नै भए पनि गोल अन्तरका आधारमा उ समूह बिजेता बन्यो । समूह ‘बी’ अन्तरगत राति नै भएको खेलमा एण्डरलेक्टले सेल्टिकलाई १–० ले पराजित गरेको छ।

प्रकाशित: २० मंसिर २०७४ ०२:३८ बुधबार

च्याम्पियन्स लिगबाट बाहिरियो एथ्लेटिकको मड्रिड