खेल

आर्मी र मनाङका आआफ्नै दाउ

प्रतियोगिताको ट्रफीसहित मनाङ र आर्मीका प्रशिक्षक र कप्तान। तस्बिरः नागरिक

झापा – त्रिभुवन आर्मी र मनाङ मस्र्याङ्दी क्लब शुक्रबार उपाधि भिडन्तमा उत्रिनु अघिसम्म दर्शक र  प्रतिस्पर्धी दुवै टोलीलाई मेची नेत्रालय काँकडभिट्टा गोल्डकप फुटबलको फाइनलमा एक साताअघि सम्पन्न सताक्षी गोल्कडप फाइनलको दृश्य मात्रै दोहोरिने हो कि नतिजा पनि भन्ने प्रश्नले लखेटिरहनेछ। 

मोफसलकै सर्वाधिक पुरस्कार राशिको उपाधि भिडन्तका लागि मैदान ओर्लंदा  आर्मी नतिजा पनि दोहो¥याउने दाउमा हुनेछ भने मनाङ उसलाई जसरी पनि रोकेर साताअघि उसैको हातबाट बेहोरेको हारको बदला लिने लक्ष्यमा हुनेछ ।  अघिल्लो बिहीबार मात्रै  सताक्षी गोल्डकप फाइनलमा मनाङलाई २–१ ले हराउँदै सिजनको दोस्रो उपाधि जितेको विभागीय टोली आर्मी ८ लाख राशिको  प्रतियोगिता जितेर यो सिजनमा उपाधिमा ह्याट्रिक गर्ने सुरमा छ ।  उसले यसअघि वीरगन्जको विशाल मेमोरियल गोल्डकप र सताक्षी गोल्डकप जितेको थियो । ‘हामी लगातार उत्कृष्ट प्रर्दशन गरिरहेका छांै, त्यसलाई काँकडभिट्टामा पनि निरन्तरता दिनेछौं’, बिहीबार प्री म्याच कन्फरेन्समा आर्मीका प्रशिक्षक नवीन न्यौपानेले भने ‘उपाधि ह्याट्रिक हाम्रो मुख्य लक्ष्य हो ।’ बलियो रक्षापंक्ति र धारिलो अग्रपंक्ति आफ्नो मुख्य अस्त्र रहेको उनको भनाइ छ। 

राष्ट्रिय टोलीका अधिकांश स्टार खेलाडी सम्मिलित मनाङ भने झापाकै मैदानमा फाइनल हारेको आलो घाउमा काँकडभिट्टामा जितको मलम लगाउन चाहन्छ । केही महिनाअघि चितवनको जेसिज कप जितेको मनाङका कप्तान विराज महर्जन आर्मीलाई जितेर बदला लिने लक्ष्यमा टिम रहेको खुलाउँछन् ।   ‘हामीलाई रिभेन्जको राम्रो मौका छ’, टोलीका नियमित कप्तान अनिल गुरुङको साटो प्रि म्याच कन्फरेन्समा प्रशिक्षक विजय घलेसँगै उपस्थित विराजले भने  ‘हामी सताक्षी गोल्डकपको पीडा बिर्सन जितका लागि मैदानमा उत्रनेछौं ।’ यसका लागि टिमसँग पुग्दो आधार भएको तर्क विराजसँग छ । रक्षापंक्तिदेखि अग्रपंक्तिसम्म उत्कृष्ट खेलाडीको साथ टोलीसँग रहेको र ९० मिनेटभित्र आफू अनुकूल नतिजा निकाल्न टिम सक्षम रहेको उनको भनाइ छ । यद्यपि मनाङले जारी प्रतियोगितामा निर्धारित समयमा जित निकाल्न भने सकेको छैन। 

दुवै टोलीले जित आफ्नो पक्षमा आउने दाबी र आधार पेस गरिरहँदा जारी प्रतियोगितामा दुवै टोलीको तुलनामा आर्मीको पल्ला भारी छ । बाइ पाएर सोझै क्वार्टरफाइनल खेलेको आर्मीले पहिलो खेलमा सुदूरपश्चिमविरुद्ध टाइब्रेकरमा ३–० को नतिजा निकालेको थियो। सेमिफाइनलमा भने आर्मीले अर्को विभागीय टोली नेपाल पुलिसविरुद्ध निर्धारित समयमै ३–० को प्रभावशाली जित दर्ता गर्‍यो। प्रतियोगितामै सर्वाधिक गोल गरेका दिनेश हेन्जन, कप्तान  भरत खवास, जर्जप्रिन्स कार्की, नवयुग श्रेष्ठलगायतका स्टार खेलाडीसहितको धारिलो अग्रपंक्ति तथा जितेन्द्र कार्की, विकेश कुथुसहितको बलियो रक्षापंक्ति आर्मीको मुख्य अस्त्र हो। 

फाइनलसम्मको यात्राको मनाङ कथा भने आर्मीभन्दा थोरै फरक र कमजोर छ ।  सोझै क्वार्टरफाइनल खेलेको मनाङले फाइनल पुग्नुअघि खेलेका दुईवटै खेलमा ‘सडन डेथ’ को प्रतीक्षा गर्नुपरेको थियो । पहिलो खेलमा रूपन्देहीलाई सडन डेथमा ७–६ ले हराएको मनाङले सेमिफाइनलमा आयोजक काँकडभिट्टासँग पनि सडन डेथमै ८–७ को नतिजा निकालेको थियो । अनिल गुरुङ, विमल घर्तीमगर, सुजल श्रेष्ठ, विक्रम लामा, विशाल राईजस्ता भरपर्दा खेलाडीको उपस्थितिको औचित्य पुष्टि गर्न मनाङलाई हम्मे परिरहेको छ । ‘फुटबलमा जसरी जिते पनि जित त एकै हो’, प्रशिक्षक विजय घलेले भने ‘तर, अहिलेसम्म हामी निर्धारित समयमा नतिजा निकाल्न असफल छौं । फाइनलमा भने त्यो खडेरी तोड्ने आशा छ ।’ 

 

प्रकाशित: १५ मंसिर २०७४ ०४:३२ शुक्रबार

आर्मी मनाङका आआफ्नै दाउ