खेल

पूर्वकै ठूलो नगद राशिको मदन भण्डारी गोल्डकप हुने

इटहरी– पूर्वकै पुरानो राष्ट्रिय जागृति क्लबले सबैभन्दा बढी नगद राशि पुरस्कारसहित अन्तर्राष्ट्रिय मदन भण्डारी मेमोरियल इटहरी गोल्डकप फुटबल प्रतियोगिता गर्ने भएको छ ।
पुस १५ गतेदेखि २२ गतेसम्म विजेतालाई एघार लाख र उपविजेता टिमलाई पाँच लाख राशि पुरस्कार राखेर प्रतियोगिता गर्न लागेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
पूर्वका सुनसरी, मोरङ र झापामा पछिल्लो समय ठूल्ठूला गोल्डकप प्रतियोगिता हुने क्रम बढ्दो छ । ठूला गोल्डकप चल्ने होडबाजी चलिरहेका बेला पूर्वमा पहिलोपटक मदन भण्डारी मेमोयरियल गोल्डकप हुन लागेको हो ।
आठौं संस्करणसम्म हुँदै आएको स्वर्गीय दानबहादुर फुयँल स्मृति गोल्डकप फुटबल प्रतियोगितालाई परिमार्जन गरी तीन वर्षसम्म इटहरी गोल्डकपको रुपमा खेल हुँदै आएको थियो । यसपटकदेखि भने दिवंगत नेता मदन भण्डारी मेमोरियल गोल्डकप फुटबल प्रतियोगिता गर्न लागिएको राष्ट्रिय जागृति क्लबका सञ्जिव ढुंगानाले बताए । उनका अनुसार, यस वर्षदेखि सुरु गर्न लागिएको मदन भण्डारी गोल्डकप निरन्तर रुमपा हुनेछ ।
प्रतियोगितामा नेपाल, भारत र वंगलादेशकाा दसवटा टिमको सहभागिता रहनेछ । गोल्डकपमा बिजेता र उपविजेताबाहेक सर्वोत्कृष्ट खेलाडीलाईं ३२ इन्चको टिभी र २५ हजार नगद प्रदान गरिनेछ । यस्तै, प्रत्येक खेलको म्यान अफ दी म्याचलाई दस हजार, इटहरीका उदयमान खेलाडीलाई २४ इन्चको टिभी र विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही २० हजार रुपैयाँ प्रदान गरिनेछ ।
प्रतियोगिता गर्नका निम्ति राष्ट्रिय खेलकुद परिषद र मदन मण्डारी फाउन्डेसनले सहयोग गर्ने भएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले महत्वपूर्ण व्यक्तित्वको नाममा हुँदै आएका गोल्डकपलाई निरन्तरता दिँदै हरेक वर्ष बजेट समेत बढाएर लैजाने बताए ।  ‘महत्वपूर्ण व्यक्तित्वका नाममा हुँदै आएका गोल्डकपलाई निरन्तरता दिँदै बजेट बढाएर लैजानुपर्छ,’ पत्रकार सम्मेलनमा उनले भने, ‘खेलकुद क्षेत्रको विकास गर्न स्थायी सरकारको आवश्यकता छ ।’
जिल्ला खेलकुद विकास समिति सुनसरीका कार्यबाहक अध्यक्ष अनुरोध थापाले मदन भण्डारी मेमोरियल गोल्डकपले इटहरीको खेलकुद क्षेत्रको विकासमा थप योगदान पुग्ने बताए ।

प्रकाशित: १४ मंसिर २०७४ १०:३१ बिहीबार

पूर्वकै राशिको मदन भण्डारी गोल्डकप हुने