खेल

जयस्नु र योङ्गीलाई स्वर्ण

कीर्तिपुर नगरपालिका ६ का जयस्नु महर्जन र कीर्तिपुरकी योङ्गी पौडेलले तेस्रो अल नेपाल अन्तरवडा टेबल टेनिस प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन्।

सातदोबाटोको अन्तर्राष्ट्रिय खेलकुद परिसरस्थित कराते हलमा भएको यु–१६ सिंगल्सको बोइजमा जयस्नु र गल्र्समा योङ्गी पहिलो भएका हुन्। स्पिन इभेन्ट प्रालिको आयोजनामा भइरहेको प्रतियोगिताको बोइज फाइनलमा जयस्नुले ललितपुर महानगरपालिका ७ का एलेन महर्जनलाई १२–१०, ९–११, ९–११, ११–९ र ११–९ को सेटमा पराजित गरे।

काठमाडौं महानगरपालिका २६ का आर्यन शाही र मन्थली ४ का प्रजिल भट्टराई तेस्रो भए। गल्र्सको उपाधि भिडन्तमा योङ्गीले ओखलढुंगाकी सुस्मिता खड्कालाई १०–१२, ११–७, ११–१३, ११–९ र ११–८ को सेटमा हराइन्।

धरान १० का दुई खेलाडी सोनम थोकर तथा सुलेखा ठाकुर तेस्रो बने। भेट्रान ४० वर्षमाथि महिला सिंगल्समा काठमाडौं २९ की इन्दिरा पराजुलीले स्वर्ण हात पारिन्। इन्दिराले फाइनलमा आफ्नै वडाकी सम्झना पोखरेलमाथि ११–३, ११–८ र ११–६ को सहज जित दर्ता गरिन्। ललितपुर ११ की शर्मिला शाक्य र भक्तपुरकी इमी प्रजापति तेस्रो स्थानमा रहे ।

प्रकाशित: ४ कार्तिक २०८० ०४:५३ शनिबार

जयस्नु र योङ्गीलाई स्वर्ण