खेल

हेटौंडा गोल्डकपमा ८ टोली

काठमाडौं- हेटौंडा टुबोर्ग अन्तर्राष्ट्रिय आमन्त्रण गोल्ड कपको तेस्रो संस्करणमा ८ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले गर्ने प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, एपिएफ, त्रिभुवन आर्मी क्लब, ए डिभिजनका तीन क्लब र एक विदेशी क्लबको सहभागिता रहनेछ । प्रतियोगितामा गत वर्ष १० टोलीले भाग लिएका थिए ।  त्रिभुवन आर्मी क्लबले प्रतियोगिताको दोस्रो संस्करण जितेको थियो । साढे दुई वर्षअघि गएको विनाशकारी भूकम्पमा परेर खेल पत्रकार भोम्जनको मृत्यु भएको थियो ।
भोम्जनको गृह जिल्ला हेटांैडामा स्थापना भएको सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले सुमनको सम्झनामा खेललगायत अन्य सामाजिक काम गर्दै आएको छ ।
प्रतियोगितामा भारत वा भुटानी क्लबलाई आमन्त्रण गर्ने योजना रहेको प्रतियोगिता संयोजक विशाल घोषले बताए । खेल पत्रकार सुमन भोम्जनको स्मृतिमा हुन लागेको प्रतियोगिता पुस ८ देखि १५ सम्म चल्नेछ ।
सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठान अध्यक्ष भेष खड्गीले हेटौंडा गोल्ड कप नेपाली फुटबलको लोकप्रिय प्रतियोगिताको रूपमा परिचित हुँदै गएको बताए । खड्गीले भने, ‘फुटबल प्रतियोगिता गर्न धेरै चुनौती छन् । हेटांैडा व्यापारिक केन्द्र होइन । प्रायोजक पाउन कठिन छ । तर यहाँ फुटबलको लोकप्रियताले प्रतियोगिता गर्न हामी उत्साही छौं । विगतभन्दा थप राम्रो प्रतियोगिता गर्दै अगाडि बढ्ने कोसिस गरिरहेका छौं ।’
टुबर्ग, रेडबुलले प्रायोजन गरेको प्रतियोगितालाई टाटा सुमो गोल्डले सहप्रायोजन गरेको छ ।
प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले ३ लाख प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार, अनुशासित टिमले १० हजार, प्रत्येक खेलको म्यान अफ दी म्याचले ५ हजार पाउनेछन् ।
प्रतियोगिताले सुमनको नामलाई अमर बनाउन महŒवपूर्ण भूमिका निर्वाह गर्ने घोषले बताए ।

 

प्रकाशित: ३० कार्तिक २०७४ ०४:०८ बिहीबार

हेटौंडा गोल्डकपमा टोली