खेल

नेपाल फेरि पराजित

काठमाडौं– एएफसी यु–१९ च्याम्पियनसिप छनोट फुटबलमा नेपालले लगातार दोस्रो खेलमा हारको सामना गरेको छ । 
बिहीबार १० खेलाडीमा सीमित रहँदै खेलको अन्त्य गर्दा नेपाल बहराइनसँग ४–० ले पराजित भयो। 

एएफसी यु–१९ च्याम्पियनसिप छनोट फुटबलअन्तर्गत समूह ‘ए’ को खेल किर्गिस्तानमा भैरहेको छ । नेपाल छनोटको पहिलो खेलमा आयोजक किर्गिस्तानसँग मंगलबार २–० ले पराजित भैसकेको थियो । लगातार दोसो खेलमा हारको सामना गरेसँगै नेपाल दबाबमा परेको छ। 

किर्गिस्तानको बिस्केकमा बिहीबार नेपालले २०औं मिनेटमा पहिलो गोलको सामना गरेको थियो । बहराइनका लागि अली हसन मिफथाहले गोल गरेका थिए । उनले ६७औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै बहराइनलाई खेलमा थप बलियो बनाएका थिए । 

खेलमा क्रमशः बलियो बन्दै गएको बहराइनका लागि  ८६औं मिनेटमा इबराहिम मुबारकले गोल गरेका थिए । खेलको अन्त्यतिर इन्जुरी समयमा बहराइनका साइद मोहमद अमिनले गोल गरे । बहराइनसँगको हारसँगै नेपालले पहिलो रोजाइका दिनेश हेनजनलाई अर्को खेलमा गुमाउने भएको छ । ८८औं मिनेटमा दिनेश रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । 
मंगलबार पहिलो खेलमा पराजित भएपछि नेपाली युवा टोलीका प्रशिक्षक छिरिङ लोप्साङले आफ्नै स्तरअनुसारको प्रदर्शन गर्न नसकेको बताएका थिए । प्रशिक्षक लोप्साङले भनेअनुसार दोस्रो खेलमा नेपालले आफ्नो स्तरको खेल देखाउन सकेन । 
पराजयपछि अर्को वर्ष हुने एएफसी यु–१९ च्याम्पियनसिप खेल्ने नेपालको सम्भावना थप कठिन बन्दै गएको छ। 

राउन्ड रोबिन पद्धतिमा हुने छनोट प्रतियोगितामा नेपालले अब शनिबार युएईसँग खेल्नेछ। बुधबार अन्तिम खेलमा टोलीले ओमानसँग प्रतिस्पर्धा गर्नेछ । 

अर्को वर्ष अक्टोबर १८ देखि नोभेम्बर ४ सम्म इन्डोनेसियामा हुने एएफसी यु–१९ च्याम्पियनसिपका लागि विभिन्न १० छनोट समूहबाट विजेताले स्वत स्थान पक्का गर्नेछन् । यसबाहेक १० समूहका उपविजेतामध्ये उत्कृष्ट पाँच र आयोजक इन्डोनेसिया गरी १६ टोलीको प्रतियोगितामा सहभागिता रहन्छ । इन्डोनेसियामा हुने च्याम्पियनसिपमा शीर्ष चार स्थान हासिल गर्ने टोली २०१९ मा यु–१९ विश्व कपका लागि छानिनेछन्। 

पराजयपछि अर्को वर्ष हुने एएफसी यु–१९ च्याम्पियनसिप खेल्ने नेपालको सम्भावना थप कठिन बन्दै गएको छ । 

प्रकाशित: १७ कार्तिक २०७४ ०५:१७ शुक्रबार

नेपाल फेरि पराजित