खेल

इजरायलमा तय सम्पूर्ण खेल रद्द

सुरक्षाको कारण देखाउँदै युनियन अफ युरोपियन फुटबल एसोसिएसन (युइएफए) ले इजरायलमा तय सम्पूर्ण खेल रद्द गरेको छ । इजरायलको सरकारले शनिबार हमासको आक्रमणमा परी ६ सयभन्दा बढी इजरायलीले ज्यान गुमएको जनाएको छ ।  

‘इजरायलको वर्तमान अवस्था नियन्त्रणबाहिर रहेको छ । त्यसैले युरोपियन च्याम्पियनसिप २०२४ को छनोट चरणअन्तर्गत इजरायलमा बिहीबारका लागि तय स्विट्जरल्यान्डविरुद्धको खेल हालका लागि रद्द गरिएको छ,’ युइएफएको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘यस खेलका लागि छिट्टै नयाँ स्थान र मिति तय गरिनेछ ।’  

इजरायलको राष्ट्रिय फुटबल टोलीले अक्टोबर १२ मा घरेलु मैदानमा युरोपियन च्याम्पियनसिप २०२४ को छनोट चरणअन्तर्गत स्विट्जरल्यान्डविरुद्ध खेल्ने तालिका थियो भने यु–२१ टोलीले युरोपियन यु– २१ च्याम्पियनसिप २०२५ को छनोटमा सोही दिन स्टोनिया र अक्टोबर १७ मा इजरायलविरुद्ध खेल्ने तालिका रहेको थियो । त्यस्तै इजरायल, बेल्जियम, जिब्राल्टर र वेल्स गरी ४ राष्ट्र सम्मिलित प्रतियोगिता पनि रद्द भएको छ । सो प्रतियोगिता अक्टोबर ११ देखि १७ सम्म सञ्चालन हुने तालिका थियो ।  

युइएफएले अवस्था सामान्य नभएको खण्डमा युरोपियन च्याम्पियनसिप २०२४ को छनोट चरणअन्तर्गत इजरायल र कोसोभोबीचको खेल पनि निर्धारित समयमा हुने सम्भावना न्यून रहेको बताएको छ । ‘हामी अहिले इजरायलको अवस्थाबारे जानकारी लिइरहेको छांै,’ युइएफएले भनेको छ, ‘हामी त्यहाँको अवस्थाको सामान्य भएपछि मात्र खेलस्थल र नयाँ मितिबारे निर्णयमा पुग्नेछौं।

इजरायलको घरेलु लिग विजेता मकाबी हैफाले युरोपा लिगअन्तर्गत नोभेम्बर ७ मा भियारियालविरुद्ध खेल्ने तालिका छ । सो खेल पनि समयमा हुनेमा दुबिधा रहेको छ । 

प्रकाशित: २३ आश्विन २०८० ०२:०४ मंगलबार

युइएफए हमास इजरायल