खेल

नेपाली खेलाडीको सुखद सुरुआत

काठमाडौं– आदित्य सुवेदी, आर्यन गिरी, चिराग तिमल्सिना, आरभ हाडा र आदित सुवेदीले सोमबार केशा ग्रुप एएनएलटिए यु–१४ र्‍याङकिङ टेनिस प्रतियोगितामा विजयी सुरुआत गर्दै क्वार्टरफाइनलमा स्थान पक्का गरेका छन्। 

अखिल नेपाल लन टेनिस संघ (एएनएलटिए) को आयोजनामा सातदोबाटो स्थित टेनिस कम्प्लेक्समा सुरु प्रतियोगितामा आदित्यले नेपालकै एकी जुबेन रावतलाई ३–६, ६–२, ६–४ को सेटमा हराउँदा आर्यनले भारतका हरिशरण भास्करनमाथि ६–२, ६–० को सहज जित हासिल गरे । यसैगरी चिरागले भारतका समृत शर्माको चुनौती ६–३, ६–४ को सोझो सेटमा समाप्त पार्दा आरभले नेपालकै इभाक जोशीलार्य ६–०, ६–१ को नतिजामा हराए । यसैगरी आदितले पनि आफ्नै देशका प्रणभ मानन्धरलाई ६–१, ६–० को सोझो सेटमा पराजित गरे। 

छात्र एकलतर्फका अन्य खेलमा भारतका सिवसामी रामालिंगम नाथिन रामले आफ्नै देशका आर्या मुन्धारालाई ६–१, ६–२ को साेझो सेटमा हराए भने भारतकै रुशिकेश सन्काराले नेपालका निसान श्रेष्ठमाथि ६–०, ६–१ को जित हासिल गर्दै क्वार्टरफाइनल प्रवेश गरे। 

छात्रातर्फ नेपालकी इशाश्री शाह, स्नेहा यादव, लुमुत्सो लामा, रायना शाह, शर्भानी श्रेष्ठ र सलोनी तामाङले जितका साथ क्वार्टरफाइनलमा स्थान पक्का गरे । इशाश्रीले नेपालकै प्रकृति श्रेष्ठलाई ६–३, ६–३ को नतिजामा हराउँदा स्नेहाले आफ्नै देशकी निमिशा ढकाललाई ६–२, ६–३ ले निराश पारिन । यसैगरी लुमुत्सोले रोशनी लिम्बुलाई ६–१, ६–२ को नतिजामा हराउँदा रायनाले पनि नेपालकै शुभांगी लक्ष्मी शाहलाई सोही अन्तरमा पराजित गरिन । सर्भानीले उत्शा लामालाई ६–०, ६–० तथा सलोनीले आइशा डोलकर गुरुङलाई ६–२, ६–१ को नतिजामा पराजित गरिन। 
छात्रातर्फको अर्को खेलमा भारतकी रिया माथारुले आफ्नै देशकी प्रँची मन्त्रीमाथि ६–२, ६–२ को सेटमा जित हासिल गर्दै क्वार्टरफाइनलको टिकट काटिन । 

यसैगरी आर्यन गिरी र आरभ हाडाको नेपाली जोडीले आफ्नै देशका प्रणभ मानन्धर र  चिराग तिमल्सिनाको जोडीमाथि ६–०, ६–२ को जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गर्दा भारतका हरिशरण भास्करन र सिवसामी रामालिंगम नाथिन रामको जोडीले आफ्नै देशका आर्या मुन्धारा र सामप्रित शर्माको जोडीलाई हराउँदै अन्तिम चारमा स्थान पक्का गरे । छात्र युगलको अर्को खेलमा नेपालका आदित सुवेदी र आदित्य सुवेदीले आफ्नै देशका इभाक जोशी र एकी जुबेन रावतलाई हराउँदै सेमिफाइनल प्रवेश गरे। 

छात्रा युगलतर्फ नेपालका इशाश्री शाह र सर्भानी श्रेष्ठको जोडीसँगै भारतकी प्राची मन्त्री र नेपालकी सुभांगी लक्ष्मी शाहको जोडी तथा भारतकी रिया माधारु र नेपालकी रायना शाहको जोडीले सेमिफाइनल यात्रा तय गरे। 

प्रतियोगितामा आयोजक नेपालसहित भारत, हङकङ र अमेरिकाका पुरुष र महिला गरि कुल ४० खेलाडीको सहभागिता छ । प्रतियोगितामा एकलतर्फका विजेताले २ सय तथा उपविजेताले १ सय ३३ अंक हासिल गर्नेछन् भने तेस्रो हुनेले ८० अंक पाउनेछन् । यसैगरी युगलतर्फ विजेताले २ सय, उपविजेताले १ सय ३० तथा तेस्रो हुनेले ८० अंक प्राप्त गर्नेछन्।

प्रकाशित: १४ कार्तिक २०७४ ०५:१२ मंगलबार

नेपाली खेलाडीको सुखद सुरुआत