खेल

नेत्रहिन क्रिकेटलाई साहसको साथ

काठमाडौं– नेत्रहिन क्रिकेट संघ (क्याब) ले नेपाली खेलपोशाक उत्पादक कम्पनी साहस स्पोर्टससँग सोमबार तीन वर्षे प्रायोजन सम्झौता गरेको छ।

सम्झौतापत्रमा क्याबका अध्यक्ष पवन घिमिरे र साहस स्पोर्टसका प्रवन्ध निर्देशक जनक न्यौपानेले हस्ताक्षर गरे। सम्झौताअनुसार साहस स्पोर्टसले तीन वर्षसम्म नेत्रहिन क्रिकेट टोलीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदा अभ्यास तथा खेलका लागि पोशाक उपलब्ध गराउनेछ। 

पाँचौं नेत्रहिन एकदिवसीय विश्वकप २०१८बाट साहस र क्याबबीचको सम्झौता लागु हुनेछ । यही प्रतियोगितादेखि साहसले २१ सदस्यीय नेपाली नेत्रहिन क्रिकेट टोलीलाई अभ्यास तथा खेल पोशाक उपलब्ध गराउने सोमबार सम्झौता कार्यक्रममा जानकारी गराइयो । आसन्न पाँचौं नेत्रहिन एकदिवसीय विश्वकप जनवरी १० देखि २५ सम्म पाकिस्तान र संयुक्त अरब इमिरेट्स (युएई) मा हुनेछ। 

क्याबका अध्यक्ष घिमिरेले प्रायोजक पाउँदा नेत्रहिन क्रिकेटमा गरेका कामको मुल्यांकन भएको अनुभुति मिलेको बताए। ‘नेत्रहिन क्रिकेटमार्फत हामीले देशको गौरवमा केही इटा थपेका छौं । आज साहसको साथ पाउनु त्यसैको परिणाम हो। तर मैदानको समस्याका कारण हामीले सही रुपमा अभ्यास गर्न पाइरहेका छैनौं । अभ्यास मैदानमात्र हुने हो भने पनि अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा हाम्रो नतिजा थप राम्रो हुने थियो,’ घिमिरेले दुखेसो गरे।

साहसका प्रवन्ध निर्देशक न्यौपानेले नेत्रहिन क्रिकेट टोलीलाई प्रायोजन गर्न पाउँदा गौरव लागेको प्रतिक्रिया दिँदै थपे, ‘नेत्रहिन क्रिकेटको विकासमा सहकार्यको यो सुरुआत हो। आगामी दिनमा यसले अझै ठूलो परिमाणमा निरन्तरता पाउनेछ। म टोलीलाई आसन्न विश्वकपमा सुखद नतिजाको सुभकामना दिन चाहन्छु।’

नेत्रहिन क्रिकेट टोलीका कप्तान कृतन श्रेष्ठ, नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र मुख्य प्रशिक्षक जगत टमाटाले प्रायोजनका लागि साहस स्पोर्टसलाई धन्यवाद दिए। प्रायोजनले नेपाली नेत्रहिन क्रिकेटलाई विशेष उर्जा मिल्ने उनीहरुको भनाई थियो। 

प्रकाशित: १४ कार्तिक २०७४ ०४:३० मंगलबार

नेत्रहिन क्रिकेटलाई साहसको साथ