खेल

पोखरामा शनिबारदेखि अन्तर क्लव टी–ट्वान्टी क्रिकेट

शनिबारदेखि पोखरा रंगशाला क्रिकेट मैदानमा क्लबस्तरीय टी–२० क्रिकेट प्रतियोगिता हुदैं छ। पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना र महानगर क्रिकेट सघको व्यवस्थापनमा पहिलो पटक क्लबस्तरीय टी–२० क्रिकेट प्रतियोगिता आयोजना गरिएको हो। महानगर क्रिकेट संघ गठनपछिको यो पहिलो प्रतियोगिता हो।

प्रतियोगितामा पोखराका ८ वटा क्लवहरुको सहभागिता रहने  शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। राइजिङ क्रिकेट क्लव, साँग्रिला क्रिकेट क्लव, पोखरा क्रिकेट क्लव, अरण्यज्योती क्रिकेट क्लव, कास्की क्रिकेट क्लव, आर के भिक्टोरी क्रिकेट क्लव, आदर्श युवा क्लव र लेकसाइड क्रिकेट क्लवले सहभागिता जनाउने भएका हुन्। प्रतियोगितामा वितेजा, उप–विजेता तथा विभिन्न विद्यागत खेलाडीहरुले पुरस्कार प्राप्त गर्ने महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए।

पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपकबहादुर गोदारले नेपालमा क्रिकेटको लोकप्रियता निकै बढेको बताए। पोखरामा पनि क्रिकेट गतिविधी चयालमान बनाउन प्रतियोगिता आयोजना गरिएको उनले सुनाए। प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले महानगरको आयोजनालाई सफल बनाउन संघको सहयोग रहने प्रतिबद्धता जनाए। आगामी दिनमा क्रिकेट विकासमा महानगरसंग हातेमालो गर्ने उनले जनाए। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दिननाथ बरालले पोखराका क्रिकेट खेलाडीहरुमा थप निखारता ल्याउन यस्ता प्रतियोगिताहरु निरन्तर सञ्चालन हुनुपर्नेमा जोड दिए।

पोखरा महानगर क्रिकेट संघका अध्यक्ष विरेन्द्र पुनले महानगरले यो प्रतियोगिता सञ्चालनका लागि २ लाख आर्थिक सहयोग प्रदान गरेको जानकारी दिंदै अपुग रकम संघले व्यवस्थापन गर्ने उल्लेख गरे । संघले आगामी दिनमा क्रिकेट विकासका लागि ग्रासरुटदेखिकै कार्यक्रम ल्याउने उनले बताए । आयोजक समितिका सदस्य सचिव सुवास खड्काले पनि प्रतियोगिताका बारेमा जानकारी दिएका थिए।

प्रकाशित: १९ आश्विन २०८० ०८:३९ शुक्रबार

अन्तर क्लव टी–ट्वान्टी क्रिकेट पोखरा