खेल

थ्री स्टारलाई अनुमति माग

काठमाडौंँ- अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमिति बैठकले एसियाली फुटबल महासंघ (एएफसी) सँग सोमबार थ्री स्टार क्लबलाई  नेपालको प्रतिनिधित्व गर्दै एएफसी क्लब च्याम्पियनसिपमा खेल्ने अनुमति माग्ने निर्णय गरेको छ ।
नेपालको लिग च्याम्पियनले एसियाली क्लब फुटबलमा दोस्रो श्रेणीको प्रतियोगिता एएफसी क्लब च्याम्पियनसिप खेल्ने अवसर पाउँछ  । एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले नेपालमा लामो समयदेखि लिग हुन नसकेको र पछिल्लो च्याम्पियनको हैसियतले थ्री स्टारलाई क्लब च्याम्पियनसिप खेल्न पठाउने निर्णय गरेको बताए ।
‘एएसफसीले हामीलाई अर्को संस्करणका लागि नेपाली लिग विजेतालाई पठाउन पत्र पठाएको थियो,’ तुलाधरले भने, ‘नेपालमा लामो समयदेखि लिग हुन नसकेकाले विगतको विजेताका रूपमा थ्री स्टारको नाम सिफारिस गरेका छौं ।’
गत संस्करणमा दोस्रो चरणका लागि छानिए पनि एन्फा पदाधिकारीको लापरबाहीका कारण थ्री स्टारले प्रतियोगिता खेल्न पाएको थिएन ।
एन्फा मुख्यालयमा अध्यक्ष नरेन्द्र श्रेष्ठको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले माघ ११ गते एन्फाको निर्वाचन गर्ने निर्णयसमेत गरेको छ । त्यसका लागि ४५ जिल्ला फुटबल संघको निर्वाचन कात्तिक २५ देखि मंसिर २५ सम्म गरिसक्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकले अधिवक्ता सुमन केसी र अधिवक्ता मोतीराम गौतमको संयोजकत्वमा क्रमशः ५÷५ सदस्यीय निर्वाचन कमिटी र  निर्वाचन अपिल कमिटी गठन गर्ने निर्णयसमेत गरेको छ ।
 

प्रकाशित: ७ कार्तिक २०७४ ०३:०५ मंगलबार

थ्री स्टारलाई अनुमति माग