खेल

जित्ने खेल हार्दाको दुःख !

भारतविरुद्ध २० ओभरमा १ सय ७९ रन

‘जित्ने खेल हार्दा त साह्रै दुख लाग्दो रहेछ,’ नेपाल र भारतबीचको मंगलबारको रोमान्चक खेलपछि सामाजिक सन्जालमा उमेश खनाल लेख्छन्, ‘जीतको नजिक ल्याउने नै थप केही बेर नअडिँदा जीत गुम्न पुग्यो।’

उनले भनेजस्तै मंगलबार बिहान भारतले दिएको २ सय ३  रनको लक्ष्य पछ्याउने क्रममा दीपेन्द्रसिंह ऐरी र सन्दीप जोराले नेपाललाई जीतको नजिक पुराएका थिए। तर ती खेलाडी चाडै आउट हुँदा नेपालको जित्ने संभावना हट्न पुग्यो।

पाचौं नम्बरका ऐरीले १५ बलमा चार छक्काको सहायतामा ३२ रन बनाए भने छैठौं नम्बरका सन्दीप जोराले १२ बलमा ३ छक्का र एक चौकाको सहाराले २९ रन बनाएका थिए। उनीहरु धेरै समय टिक्न नसक्दा मंगलबार बिहान झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट मैदानमा भारतले दिएको २ सय ३ रनको लक्ष्य पछ्याएको नेपालले ९ विकेटको क्षतिमा १ सय ७९ रन मात्र जोड्न सफल भयो।

खनालले भनेजस्तै कप्तान रोहित पौडेलले पनि दीपेन्द्रसिंह ऐरी र सन्दीप जोराले ब्याटिङ गरिरहेका बेला आफूहरू खेल जितिनेमा विश्वस्त भएको बताए। ‘उहाँहरु ब्याटिङमा रहँदा जित्छौं भन्ने लागेको थियो,’ पौडेलले भने, ‘दुई मध्ये एक जना मात्र पनि अन्तिमसम्म टिकेको भए नतिजा अर्कै हुन सक्थ्यो।’

नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मोन्टी देसाइले नेपालले राम्रो प्रदर्शन गरेको बताउँदै खेलाडीप्रति गर्व रहेको बताए। भारतविरुद्धको खेलमा नेपालले राम्रो प्रदर्शन गरेको भए पनि फिल्डिङमा केही ठाउँमा नचुकेको भए नतिजा फरक आउन सक्ने उनले बताए।

‘११ देखि १६ ओभर हामी निकै राम्रो अवस्थामा थियौ,’ उनले भने, ‘पछिल्ला चार ओभरमा केही चुक्यौ।’

जित्न नसके पनि यसले टिमको आत्मविश्वास बढाएको भन्दै यो अनुभवले अगाडिको यात्रा थप मजबुत हुने उनले सुनाए। यो खेलबाट विश्वकप छनौटका लागि धेरै आत्मविश्वासी भएको मोन्टीले बताए।

चर्केको ब्याटको चर्चा

नेपाली क्रिकेटर करन केसीको चर्केको ब्याटको चर्चा पनि सामाजिक सन्जालमा रह्यो। चर्केको ब्याट काँधमा राखेको केसीको तस्बिर राख्दै विश्वको नम्बर एक टिमसँग प्रतिष्र्धातमा रहेका खेलाडी भनेर धेरैले कमेन्ट गरेका थिए।

नवौँ नम्बरका केसीले १३ बलमा २ छक्का र एक चौकाको मद्दतले नट आउट रहँदै नेपाली पारी सम्हालेका थिए।

‘खेलाडीसँग एक्ट्रा ब्याटपनि छैन,’ सामाजिक सन्जालमा व्यङ्ग गरिएको छ, ‘तर पनि उनीहरु देशका लागि लडिरहेका छन्।’

मंगलबार बिहान भएको पहिलो क्वार्टर फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा २०२ रन बनायो। भारतका लागि ओपनर यशस्वी जयसवालले शतकीय पारी खेले।

उनले ४९ बलमा आठ चौका र सात छक्का प्रहार गर्दै एक सय रन बनाए। साथै रिङ्कु सिंहले ३७ तथा ऋतुराज गायक्वाड र शिवम दुवेले समान २५/२५ रनको योगदान दिए।

त्यस्तै नेपालका लागि दीपेन्द्र सिंह ऐरीले दुई तथा सोमपाल कामी र सन्दीप लामिछानेले एक/एक विकेट लिए। निकै रोमान्चक खेलमा २०३ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ७९ रन मात्रै बनाउन सक्यो।

भारतका लागि आवेश खान र रवी विस्नोइले समान तीन/तीन विकेट लिए भने अर्शदीप सिंहले दुई तथा साई किशोरले एक विकेट लिए। जितसँगै भारत सेमिफाइनलमा प्रवेश गरेको छ।

प्रकाशित: १६ आश्विन २०८० १४:०६ मंगलबार