खेल

सेलिब्रिटी जुत्ता

यस्तो पनि!

गत आइतबार जर्मनीको बर्लिनमा सम्पन्न म्याराथन दौडमा एउटा जुत्ता सेलिब्रिटी बन्न पुग्यो। इथियोपियाकी म्याराथन धावक टिजिस्ट आसेफाले यसअघिका सारा कीर्तिमान भंग गरिदिएपछि त्यसको श्रेय धाविकाको साटो जुत्ताले पाएको छ। एडिडास कम्पनीले बनाएको ‘एडिजेरो एडिओस प्रो इभो वन’ लगाएर दौडिएपछि र निर्धारित समयभन्दा दुई मिनेटअघि नै दौड सम्पन्न गरेपछि जितको श्रेय धाविकाको साटो जुत्तातर्फ मोडिएको हो।

एडिडास कम्पनीले विशेष किसिमले बनाएको यो जुत्ता अन्य जुत्ताभन्दा ४० प्रतिशतले हलुको भएको दाबी छ। यसअघि नाइक कम्पनीले गराएको एउटा अध्ययनले कुनै पनि दौड सजिलो बनाउन हलुका जुत्ताले चार प्रतिशत बढी भूमिका खेल्छ।

कडा प्रतिस्पर्धामा एक प्रतिशतले मात्र पनि ठूलो भूमिका खेल्छ। म्यानचेस्टर मेटोपोलिटन युनिभर्सिटीमा स्पोर्ट्स इन्जिनियरका प्राध्यापक डा. थोमस एलेनको भनाइअनुसार सहज किसिमको जुत्ताले खेलाडीहरूको प्रदर्शन गज्जब बनाउन राम्रो भूमिका खेल्छ। त्यसैले संसारभरका ठूला जुत्ता उत्पादकले सहज, हल्का र सुन्दर जुत्ता उत्पादनका लागि करोडौं डलर अनुसन्धानमा खर्चने गर्छन्।

जुत्ता उत्पादकहरूले पनि संसारप्रख्यात यस्ता दौड प्रतियोगिताका लागि नै भनेर नयाँ नमुना जुत्ता बनाएर खेलाडीलाई दौडन दिन्छन्। गत अप्रिलमा अमेरिकाको बोस्टन म्याराथनमा केन्याकी हेलेन ओबिरीले स्विट्जरल्याण्डको कम्पनीले बनाएको ‘अन’ जुत्ता लगाएर खेल जितेकी थिइन्। उनले जितेपछि सो जुत्ताको विश्वव्यापी माग बढेको थियो। यतिबेला जब एडिडासको ‘एडिजेरो’ले दौड जित्यो, अचानक यसको पनि माग संसारभरबाट बढेको विभिन्न मिडिया रिपोर्टहरूले जनाएका छन्।

प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: १६ आश्विन २०८० ०१:०६ मंगलबार

सेलिब्रिटी जुत्ता इथियोपियाकी म्याराथन धावक टिजिस्ट आसेफा