खेल

फर्किएन तेक्वान्दोको साख

सन् १९९० को बैंकक एसियाड नेपालको तेक्वान्दो र नेपाली खेलकुदकै लागि सदैव यादगार रहँदै आएको छ । यो त्यही एसियाड हो, जहाँ नेपालले एसियाली राष्ट्रहरूको ठूलो खेल प्रतिस्पर्धा ऐतिहासिक सफलता चुमेको ।  

तेक्वान्दोकी सविता राजभण्डारीले चाइनिज ताइपेईकी खेलाडीलाई हराउँदै नेपाललाई त्यो पदक दिलाएकी थिइन् । नेपाली तेक्वान्दोको सफलता त्यतिमा मात्र सीमित छैन । दक्षिण एसियाली होस् या एसियाली खेलकुद, नेपाली तेक्वान्दोको इतिहास गर्विलो छ । सात दशक एसियाली खेलकुदमा सहभागिताको इतिहासमा नेपालले प्राप्त गरेका २४ पदकमध्ये १४ पदक तेक्वान्दोबाट प्राप्त भएको हो । नेपाली तेक्वान्दोको ती सफलतामा राजभण्डारीको रजत पदक सदैव यादगार बन्नेछ ।  

त्यो गर्विलो इतिहास बोकेको नेपाली तेक्वान्दो पछिल्ला केही वर्षयता अधोगतिमा गइरहेको छ । यसको अर्थ हो, नेपालको तेक्वान्दो नतिजाविहीन छ । त्यो खराब नतिजाको शृंखला चीनको हानझाउमा जारी १९औं एसियाडमा पनि रोकिएन । आफ्नो गुमेको साख फर्काउने आशासहित १३ खेलाडीको टोली हानझाउ आएको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पदक सम्भावनाको आशासहित तेक्वान्दोलाई पहिलो प्राथमिकतामा राखे पनि सोअनुसार तयारीमा भने नेपाल तेक्वान्दो संघ जुटेको थिएन ।

दशकौंदेखि तेक्वान्दो संघमा रहँदै आएका पदाधिकारी र खेलकुद निकायबीच सदैव टकराव हुने गर्दछ । पछिल्लो समय संघको खराब सम्बन्धको सूचीमा प्रमुख प्रशिक्षक नवीनकुमार श्रेष्ठसहित दर्जनौं प्रशिक्षक थिए । खेलकुद निकाय र प्रशिक्षकसँग चिसोपनाका कारण नेपाल तेक्वान्दो संघ एसियाडमा खेलाडीको तयारीका लागि त्यति चासोका साथ नलागेको सातदोबाटोस्थित खेलाडीहरूको प्रशिक्षण केन्द्रमा जाँदा स्पष्ट हुन्थ्यो । खेलाडीहरूको प्रशिक्षणमा जाँदा उनीहरू संघको तयारीप्रति अत्यन्त रुष्ट थिए । आफूहरूको कुनै पनि मागमा संघको बेवास्ता हुने गरेको खेलाडीको गुनासो हुन्थ्यो ।

खेलाडीहरूको तयारी मात्र फितलो थिएन उनीहरूको मनोबल पनि घटेको थियो । तथापि, नेपालको तेक्वान्दो फाइट टोलीले थाइल्यान्डमा करिब एक महिना र पुम्सेले मलेसियामा वैदेशिक प्रशिक्षण गरेको थियो । त्यसअघि देशभित्र नै उनीहरूले पछिल्ला तीन महिनादेखि नै तयारी गरेका थिए । यद्यपि, संघभित्रको आन्तरिक द्वन्द्वले गर्दा पनि त्यसको प्रभाव खेलाडीको तयारीमा पर्न गयो । १३औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक ल्याएका अधिकांश खेलाडीहरूसहित राष्ट्रिय टोलीमा बलियो सम्भावना बोकेका ‘बी’ ग्रेडका खेलाडी नै विदेश पलायन भैसकेका थिए ।  

यस पटक १९औं एसियाली खेलकुदमा सहभागी हुने सिनियर खेलाडी वीरबहादुर महरा मात्र हुन् । अधिकांश नयाँ थिए । उनीहरूमा पर्याप्त एक्सपोजर थिएन । त्यस कारण नयाँ अनुहारबाट अपर्याप्त अनुभवका कारण धेरै अपेक्षा गर्नुको औचित्य नै थिएन । त्यसैले नतिजा पनि सोहीअनुरूप नै आएको मान्न सकिन्छ । वीरसँगै गोविन्दबहादुर आलेले पछिल्लो १३औं दक्षिण एसियाली खेलकुद खेलेका थिए । त्यसैले यी दुईबाट बढी अपेक्षा गरिएको थियो । तर, उनीहरूको प्रदर्शन पनि सोचेअनुरूप हुन सकेन । कुनै पनि खेलाडीले क्वार्टरफाइनल चरण नै पार गर्न सकेनन् ।

सबैभन्दा धेरै आशा गरिएका वीरबहादुरले त पहिलो खेल नै जित्न सकेनन् । सहभागी ११ खेलाडीमध्ये गोविन्दबहादुरसहित अञ्जली तामाङ र पुम्सेमा प्रेमबहादुर भुजेलले एक खेल जित्नु नै जारी एसियाली खेलकुदमा नेपाली तेक्वान्दोका लागि सबैभन्दा ठूलो सफलता रह्यो । बिहीबार पुरुष ८० केजी तौलसमूहमा प्रतिस्पर्धा नै नेपालको तेक्वान्दोमा अन्तिम चुनौती थियो । तर, नेपालका ज्याक्की यादवले अन्तिम १६ को खेलमा सादिक एनाससँग दुवै राउन्ड सहजै गुमाए ।

तेक्वान्दो टोली (माथि) र विपक्षी सादिक एनासलाई प्रहार गर्दै नेपालका ज्याक्की यादव (बायाँ) । तस्बिर: नागरिक

त्यससँगै जारी एसियाडमा नेपाली तेक्वान्दोको अन्तिम तथा ११औं चुनौती समाप्त हुन पुग्यो । साथै एक समय एसियाली खेलकुदमा सफलताको शिखरतिरै पुगेको नेपाली तेक्वान्दो यस पटक पनि पदकविहीन बन्यो । एसियाली खेलकुदमा नेपालको तेक्वान्दोले पदक जित्न नसकेको १७ वर्ष भइसकेको छ । सन् २००६ को दोहा एसियाडमा दीपक विष्ट, आयषा शाक्य र मनिता शाहीसहित तीन खेलाडीले कांस्य पदक जितेका थिए । त्यसयता भने एसियाली खेलकुदमा खाली आत फर्कंदै आएको तेक्वान्दोले यस पटक पनि पुरानो साख फर्काउन सकेन ।  

अब सन् २०२६ मा जापानमा २०औं एसियाली खेलकुद हुँदै छ । नेपाली तेक्वान्दो पदक जित्न कम्तीमा त्यो एसियाडसम्म प्रतीक्षा गर्नुपर्नेछ । तर, त्यसका लागि पनि तेक्वान्दो संघभित्र सदैव हुने गरेको आन्तरिक द्वन्द्व, खेलकुद निकायसँगको खराब सम्बन्धलाई सुधार गर्नुपर्छ । साथै अहिलेदेखि नै यी नयाँ खेलाडीहरूलाई पर्याप्त मात्रामा एक्सपोजरसँगै उच्च मनोबलका साथ प्रशिक्षण गर्ने वातावरण सिर्जना गर्न सक्नुपर्छ । अनि मात्र १७ वर्षदेखि एसियाली खेलकुदमा पदक जित्ने नेपाली तेक्वान्दोको लक्ष्य पूरा हुनेछ ।

पछिल्लो पटक सन् २००६ मा पदक जितेका तेक्वान्दोका विष्टले संघभित्रको द्वन्द्व र दीर्घकालीन योजना नहुनुले खेलाडीको मानसिकता असर परेको बताए । ‘पदकको बाटो हिँडिरहेको नेपालको तेक्वान्दो राजनीतिको बाटोमा लाग्दा खराब नतिजा आइरहेको हो । संघ धेरै राजनीतिमा लाग्दा त्यसको असर खेलाडीको मानसिकतामा परेको छ,’दोहा एसियाडमा पदक विजेता विष्टले भने, ‘एक दुई महिनाको तयारीले मात्र पदक जित्न सकिँदैन । संघहरूमा धेरै विवाद भइरहेको छ । त्यसले पनि खेलाडीको नतिजामा असर परेको छ ।’

यस पटक खराब नतिजा आउनुको पछाडि राम्रा खेलाडी बिदेसिनु र नयाँ खेलाडीले उचित समयमा पर्याप्त एक्सपोजर नपाउनुको कारण रहेको उनको भनाइ छ । त्यसका लागि संघले काम गर्न नसकेको उनको आरोप छ । ‘राम्रा खेलाडीहरू विदेश पलायन भए र त्यसका कारण सुखद नतिजा आउन सकेन । हाम्रा खेलाडीमा क्षमता छ । तर उनीहरूलाई लामो समयको एक्सपोजर आवश्यक छ,’ विष्टले भने, ‘एसियाडअगाडि थाइल्यान्डमा तयारी गराएर झारा टार्ने काम भयो । त्यसैले पनि यो नतिजा आएको हो ।’

प्रकाशित: १२ आश्विन २०८० ०१:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App