नेपालले चीनको हानझाउ सहरमा जारी १९औं एसियाली खेलकुदमा आइतबार ११ खेलमा प्रतिस्पर्धा गर्दा निराशाजनक प्रदर्शन गरेको छ ।
जारी एसियाली खेलकुदमा नेपालका दुई सय ५३ खेलाडीले कुल २९ खेलमा प्रतिस्पर्धा गर्दै छन् । एसियाड औपचारिक रूपमा सुरु भएको दोस्रो दिनको खेल सकिँदा छिमेकी राष्ट्र चीनले स्वर्ण पदकमा वर्षा गरिरहेको छ । तर, नेपाल भने कम्तीमा कांस्य पदकको नजिक पनि पुग्न सकिरहेको छैन । त्यसैले सन् १९८६ को सिओल एसियाडदेखि कम्तीमा एक कांस्य पदक जित्दै आएको नेपाल यस पटक पनि हात खाली नराख्ने लक्ष्यमा छ । नेपालले एसियाडकै लागि तीन खेललाई विशेष तयारी गराएको थियो । ती खेल हुन्, तेक्वान्दो, कराते र बक्सिङ ।
हालसम्म एसियाडमा तेक्वान्दोले १४ पदक, बक्सिङले ६ र करातेले तीन पदक ल्याएको इतिहास छ । त्यसैले पनि नेपाली खेलकुदको निकायले यी खेलका खेलाडीलाई वैदेशिक प्रशिक्षण या विदेशी प्रशिक्षक नै नियुक्त गर्दै तयारी गराएका थिए । यी तीन खेलमध्ये बक्सिङ र तेक्वान्दो दुवैको प्रतिस्पर्धा सोमबारबाट सुरु हुँदा नेपालको सुरुआत सुखद भएन । सोमबार बिहान नेपालले तेक्वान्दोको एकल पुम्सेमा महिला र पुरुष दुवैतर्पm प्रतिस्पर्धा गरेको थियो ।
प्रेमबहादुर भुजेलले क्वार्टरफाइनलसम्म यात्रा तय गर्दा स्वस्तिका तामाङ अन्तिम १६ मै पराजित भएपछि तेक्वान्दोमा पहिलो दिन नै नेपालका दुई खेलाडीको चुनौती सकिएको छ । प्रेमले अन्तिम १६ मा पाकिस्तानका कदिर अब्दुसलाई हराउँदै क्वार्टरफाइनलको यात्रा तय गरेका थिए । तर, उनी क्वार्टरफाइनलमा फिलिपिन्सका पेरेज प्याट्रिक किङसँग पराजित हुन पुगे । प्रेमबहादुरले ७.१६० स्कोर ल्याउँदा प्याट्रिकले ७.५६० स्कोर प्राप्त गरे । स्वस्तिका भने मलेसियाकी दिहाना एकिदासँग पराजित भइन् । स्वस्तिकाले ७.२५० अंक ल्याउँदा दिहानाले ७.६०० अंक पाइन् ।
बक्सिङ: दीपक र संगीता निरास
जारी एसियाडमा पदकको आशा गरिएको बक्सिङमा नेपालका १३ बक्सरको चुनौती तय थियो । त्यसमध्ये पहिलो दिन दीपक श्रेष्ठ र संगीता सुनारको चुनौती पनि पहिलो खेलमा नै समाप्त भयो ।
दीपकले ८० केजीमुनि तौलसमूहमा विश्व बक्सिङ च्याम्पियनसिपका रजत विजेता उज्बेकिस्तानका खबिबउल्लेब तुराबेकसँग पराजित भए । संगीता भियतनामकी हा थी लिनसँग पराजित भइन् । दुवै बक्सरको चुनौती ५–० ले समाप्त भयो । १३औं दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता मीनु गुरुङ पहिलो खेलमा नै पराजित भइन् । महिला ५०–५४ केजी तौलसमूहमा उनी जापानकी किनोसिन्ता रिंकासँग ५–० ले सहजै पराजित भइन् । एसियाका लागि भारतमा विशेष प्रशिक्षण गर्दै चीन आएको नेपालको बक्सिङ टोलीको सुरुआत सुखद हुन सकेन ।
उसु: विजयको उत्साहजनक प्रदर्शन
पहिलो दिन उसुमा १३औं सागका स्वर्ण विजेता विजय सिन्जाली मगरले सोमबार एसियाडमा छानछ्वान विधामा उत्साहजनक प्रदर्शन गरे पनि नतिजा उनको पक्षमा आएन । उनी पदक जित्नबाट ०.०५७ अंकले मात्र पछि परे । यस विधामा स्वर्ण जितेका सुन पेयुनले ९.८४० अंक ल्याउँदा रजत विजेता इन्डोनसियाका मार्भेलो जाभियरले ९.७८६ अंक र कांस्य विजेता मकाउमा ची कुवानले ९.७६० ल्याए । विजयले ९.७०३ अंक ल्याए पनि पदकका लागि साँघुरो अन्तरले पराजित भए । सविता राईको प्रदर्शन भने निराशाजनक रह्यो । सविताले ८.७९६ अंक ल्याउँदा उनी १४औं स्थानमा खुम्चिइन् । उसुमा सोमबार नेपालका थप दुई खेलाडीले प्रतिस्पर्धा गरेका थिए । उसुको सान्सौं (फाइट) मा इलिना चौधरी र रोहित चुनारा पराजित भए ।
महिला ५२ केजी तौलसमूहको क्वार्टरफाइनलमा इलिना इरानकी मानसो¥यान इलाहेसँग पराजत भइन् । रोहित पनि पुरुष ५६ केजी तौलसमूहको क्वार्टरफाइनलमा किर्गिस्तानका एमानबेकोभसँग अभाजबेकसँग २–० ले पराजित भए ।
टेनिस: प्रदीपको विजयी सुरुआत
चीनको हाङझावमाजारी १९औं एसियाली खेलकुदको टेनिसमा नेपालका प्रदीप खड्काले पुरुष सिंगल्समा आइतबार विजयी सुरुआत गरेका छन् । हाङझाउ ओलम्पिक स्पोर्ट्स सेन्टर टेनिसमा प्रदीपले लिस्टे टिमोरका मेन्डेस एन्टेनियोलाई ६–० र ६–० को सोझो सेटमा पराजित गरे । जितसंगै प्रदीप अन्तिम ३२ मा प्रवेश गरेका छन् ।
अर्को चरणमा प्रदीपले सोमबार जापानका खेलाडीसंग प्रतिस्पर्धा गर्नेछन् । आइतबारै नेपाली खेलाडीले दुई महिला सिंगल्स तथा एक पुरुष डबल्स स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । तीनै खेलमा नेपाली खेलाडीले हारको सामना गरे । महिला सिंगल्समा अभिलाषा विष्ट र माहिका राणाले पहिलो चरणमा बाई पाएका थिए ।
दोस्रो चरणमा अभिलाषा थाइल्यान्डकी खेलाडीसँग सोझो सेटमा ६–० र ६–० ले पछि परिन् । माहिका दक्षिण कोरियाली खेलाडीसँग ०–६ र १–६ ले चुकिन् । पुरुष डबल्समा प्रदीप र अभिषेक बाँस्तोलाको जोडी भारतीय जोडीसँग ६–२ र ६–३ ले चुक्यो । सोमबार प्रदीपसँगै अभिषेकले पुरुष सिंगल्स तथा अभिलाषा र माहिकाले महिला डबल्समा खेल्नेछन् । त्यसै दिन अभिलाषा र अभिषेक तथा प्रणव खनाल र सुनिरा थापाको जोडीले मिक्स डबल्समा प्रतिस्पर्धा गर्नेछन् ।
प्रकाशित: ८ आश्विन २०८० ०१:०३ सोमबार