खेल

कपिलवस्तुमा ‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियोगिता हुने

विजेतालाई ५० हजार नगद पुरस्कार

विजयादशमीको अवसर पारेर कपिलवस्तुमा ‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियोगिताको दोस्रो संस्करण असोज २७ गते हुने भएको छ।

लायन्स क्लब अफ कपिलवस्तुको आयोजनामा कपिलवस्तुको बाणगंगा नगरपालिका ३ मा अवस्थित ऐतिहासिक पर्यटकीय स्थल राजापानीको पोखरीमा प्रतियोगिता हुने भएको हो।

प्राचीन कपिलवस्तुको पर्यटकीय विकासकालागि प्रतियोगिता गर्न लागिएको हो। शनिबार पत्रकार सम्मेलनको आयोजना गरी क्लबका अध्यक्ष ओम प्रकाश घिमिरेले सो बारे जानकारी गराएका हुन्। 

गत वर्ष असोज १५ गते क्लब कै आयोजनामा राजापानीमा सो प्रतियोगिता नेपाल मै पहिलो पटक गरिएको थियो। प्रतियोगिताको चौतर्फी प्रशंसा र लोकप्रिय भए पछि आयोजनाले यस पटक पनि सो प्रतियोगिता गर्न लागेको हो।

प्रतियोगिताको दोस्रो संस्करणको तयारीलाई तीव्र पारिएको छ। साइकल प्लाङक ब्यालेन्स (पानी माथि ट्र्याक बनाएर खेलिने खेल) खेलिन्छ। क्लबका अध्यक्ष ओम प्रकाश घिमिरेले तयारीलाई द्रुत गतिमा अघि बढाइएको बताए।

पोखरीमा पानीको सतह ४ फिट चौडा र ५२ मिटर लम्बाइको ट्र्याक बनाइने छ। आयोजकले यस पटक गत वर्षको ट्र्याकमा केही परिमार्जन गरी निर्माण गर्ने जनाएको छ। ट्र्याक माथि नै प्रतियोगीले साइकल चलाएर एक कुनाबाट अर्को कुना सम्म पार गर्नु पर्ने हुन्छ। सहभागी हुने प्रतियोगिका लागि साइकल, लाइफ ज्याकेट र हेलमेटको व्यवस्थापन क्लब आफैले व्यवस्थापन गर्नेछ।

प्रतियोगिता सुरक्षाका हिसाबले चुनौतीपूर्ण रहेकाले सहभागीको सुरक्षाको लागि नेपाल प्रहरीको एपिएफ, एम्बुलेन्सको व्यवस्था समेत गरिने आयोजकले जनाएको छ। आयोजकले प्रतियोगितामा भाग लिनेहरुका लागी रजिष्टेशन खुलाएको छ। आयोजकका अनुसार रजिष्टेशन शुल्क १५ सय राखिएको राखिएको छ। आयोजकले प्रतियोगिताको लागि विष्णु प्रसाद घिमिरेको संयोजकत्वमा प्रतियोगिता मूल समिति निर्माण गरेर गरी तयारीलाई तीव्र पारेको छ।

प्रतियोगितामा भाग लिनेहरुका लागि टी–सर्ट, खाजा तथा प्रमाण पत्रको समेत व्यवस्था गरिएको मूल समिति संयोजक विष्णु प्रसाद घिमिरे  बताएका छन्। प्रतियोगिताको दोस्रो संस्करण ऐतिहासिक बनाउने गरी आफुहरु तयारीमा लागेको संयोजक घिमिरेले बताए।

‘यो एउटा प्रतियोगिता मात्र हैन , समग्र कपिलवस्तुको पर्वका रुपमा विकास गर्दै लैजाने हाम्रो लक्ष्य छ,’ उनले भने, ‘प्रतियोगितामा निकै रोमान्चक हुने छ।’

प्रतियोगिताको उपाधि जित्नेले ५० हजार, द्वितीय हुनेले २५ हजार, तृतीय हुनेले १५ हजार र सान्त्वना हुनेले गिफ्ट हेम्पर सहित मायाको चिनो र प्रमाण पत्र प्रदान गरिन क्लबका सचिव राजु भुसालले जानकारी दिए।

मिडिया संयोजक नवराज बेल्वासेले प्रतियोगिता संचालनका लागि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले अनुमति दिइसकेको छ भने राजापानी सामुदायिक वन उपभोक्ता समितिसँग पनि पोखरीका लागि समन्वय गरिएको छ।

पत्रकार सम्मेलनमा पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्यले प्रतियोगिता तालाई सफल बनाउन आफुहरुको पूर्ण साथ रहेको बताए। गत वर्ष १ सय ४५ जनाले खेलकालागि फर्म भरेका थिए। यस वर्ष ३५ जनाले फारम दर्ता गराई सकेका छन्। यस वर्ष विश्व साइकल यात्री अजित बराल समेत प्रतियोगितामा सहभागी हुनेछन्।

प्रतियोगिताका लागि गत वर्ष जस्तै यस वर्ष पनि बाणगंगा साइकल राईडरक क्लबले साथ दिएको छ। गत वर्षको प्रतियोगिता सशान्त थापाले जितेका थिए। खेलकालागि अनलाइन आवेदन समेत खुलाई सकिएको छ। प्रतियोगिता नेपाल बाहेकका सीमित देशहरूमा मात्र हुने गरेको आयोजकले जनाएको छ।

प्रकाशित: ६ आश्विन २०८० १२:२६ शनिबार

कपिलवस्तु साइकल प्लाङक ब्यालेन्स