खेल

रेडियन्ट र ज्ञानोदय विजयी

तेस्रो पुष्पसदन कप काठमाडौं उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा रेडियन्ट पब्लिक स्कुल र ज्ञानोदय स्कुल विजयी भएका छन्।

कीर्तिपुरस्थित आयोजक पुष्पसदन स्कुलको बास्केटबल कोर्टमा मंगलबार सम्पन्न सिनियर ब्वाइजको खेलमा रेडियन्टले मंगल स्कुललाई ४०–१७ को स्कोरमा पराजित गरेको छ। सो खेलमा रेडियन्टका रोहितले सर्वाधिक १४ स्कोर गरे।

सिनियर ब्वाइजमै ज्ञानोदयले स्वर्णिम स्कुललाई २७–२३ को स्कोरले पाखा लगाएको छ। ज्ञानोदयका रिजनले सर्वाधिक ११ स्कोर गरे। सिनियर ब्वाइजमै आइएमएस स्कुलले एभिएम स्कुललाई ४६–२८ स्कोरले हरायो। आइएमएसका आरोनले सर्वाधिक १३ स्कोर गरे।

सिनियर ब्वाइजकै अर्को खेलमा जनसेवा स्कूलले निसर्ग माविलाई २४–१४ को स्कोरमा हराएको छ। ९ स्कोर गरेका जनसेवाका धिरेन सार्वाधिक स्कोरकर्ता भए। अर्को खेलमा राराहिलले एलआरआईलाई ३८–२७ को स्कोरमा हराएको छ। १२ स्कोर गरेका राराहिलका निसन सर्वाधिक स्कोरर बने। जुनियर ब्वाइजतर्फ निसर्ग स्कुल राराहिलसँग पराजित भएको छ। खेलमा राराहिलले १६ स्कोर गर्दा निसर्गले भने ६ मात्र स्कोर गर्न सक्यो।

आगामी असोज ८ गतेसम्म चल्ने प्रतियोगितामा २५ ओटा विद्यालय सहभागी भएका छन्। प्रतियोगिता लिग कम नकआउटको आधारमा खेलाइएको छ। प्रतियोगितामा प्रथम र द्वितीय हुनेलाई ट्रफी र मेडल प्रदान गरिनेछ भने प्रतियोगिताका बेस्ट प्लेयर, इमर्जिङ प्लेयर र फेयर प्लेका लागि पनि विशेष पुरस्कार राखिएको छ। जुनियर ब्वाइजतर्फ रेडियन्ट पब्लिक र आयोजक पुष्पसदन स्कुलबीचको खेल वर्षाका कारण अवरुद्ध भएको छ। यो खेल बिहीबार हुनेछ।

प्रकाशित: ३ आश्विन २०८० ०६:०८ बुधबार

रेडियन्ट र ज्ञानोदय विजयी कीर्तिपुरस्थित आयोजक पुष्पसदन स्कुलको बास्केटबल कोर्ट