खेल

प्रतिष्ठाको खेलमा नेपाल पराजित

काठमाडौं- भारत र इराकले गोलरहित बराबरी खेलेपछि प्रतिष्ठाको खेलमा नेपालले एएफसी यु–१६ च्याम्पियनसिप छनोट प्रतियोगितामा प्यालेस्टाइनलाई २–१ को नतिजा सुम्पियो ।
पहिलो खेलमा इराकसँग १–० ले हारेको नेपालले दोस्रो खेलमा भारतसँग २–२ को बराबरी खेल्दै प्रतियोगिताको अन्तिम चरण पुग्ने गणितीय सम्भावना जिवित राखेको थियो । भारत इराकसँग पराजित हुनुका साथै नेपालले प्यालेस्टाइनलाई हराएको भए नेपाल उत्कृष्ट पाँच उपविजेता बन्दै अन्तिम चरणमा प्रवेश गर्ने सम्भावना हुन्थ्यो ।
तर, समुह ‘डी’ अन्तर्गत आइतबार हलचोकस्थित सशत्र प्रहरी बल (एपिएफ) मैदानमा भारत र इराकले बराबरी खेलेपछि नेपालको सम्भावना समाप्त भएको थियो । सोही मैदानमा प्रतिस्ठाको खेलमा पनि नेपाल प्यालेस्टाइनसँग पनि स्तब्ध बन्यो ।
जारी प्रतियोगितामा नेपाल यसअघिका तीन संस्करणमा छनोट भएको टोली हो । तर गत वर्ष भने नेपालका लागी एएफसी यु–१६ प्रतियोगिता सुखद बनेन ।  गत वर्ष बढी उमेरसमूहका खेलाडी खेलाएको भन्दै नेपाललाई एसियाली फुटबल संघ (एएफसी) को अनुशासन कमिटीले कारबाही गर्दै प्रतियोगिता खेल्नबाट वञ्चित गरेको थियो ।
यसपटक घरेलु मैदानमा नेपाल बिग्रेको छबीलाई सुधार गर्दै छनोट हुने लक्ष्य सहित खेलेको थियो । तर सफल भएन । आइतबार ब्रिजेश चौधरीले दशौं मिनेटमा पेनाल्टीबाट नेपाललाई अग्रता दिए । प्यालेस्टाइनका रक्षक मुआथ बारहाउसले आकाश बुढामगरलाई पेनाल्टी बक्समा लडाउँदा नेपालले पेनाल्टी अवसर पाएको थियो । तर, घरेलु टोलीले उक्त अग्रता लामो समय टिकाउन सकेन । २८औं मिनेटमा बराबरी गोल फर्काएका मोहम्मद रियातले खेल सकिन १५ मिनेट बाँकी रहँदा व्यक्तिगत दोस्रो गोल थपेपछि घरेलु दर्शक स्तब्ध बनेका थिए ।
नेपालका प्रशिक्षक सुनीलकुमार श्रेष्ठले यो हारलाई प्रतियोगिताकै खराब नतिजा भएको बताए । ‘समूहमा सबैभन्दा कमजोर सोचेको टोलीसँग नतिजा गुमायौं । पहिलो दुई खेलको नतिजाप्रति मलाई कुनै गुनासो छैन । तर, आज अहिलेसम्मकै खराब प्रदर्शन रह्यो,’ टोलीको प्रदर्शनबाट असन्तुष्ट बनेका प्रशिक्षक श्रेष्ठले थपे, ‘समूह पुछरमा रहनु दुखद हो । पहिलो दुई खेलमा जस्तो लय आज देखिएन ।’
नेपालको ठीक विपरित प्यालेस्टाइनका प्रशिक्षक याये जालायता भने टोलीको प्रदर्शन सन्तुष्ट देखिए । उनले भने, ‘पहिलो दुई खेलमा हाम्रो प्रदर्शन फिलतो देखिए पनि सुखद नतिजासहित प्रतियोगिता अन्त्य गर्न सफल भयौं ।’
नेपालको वातावरणसँग घुलमिल हुन नसक्दा क्षमता अनुसारको प्रदर्शन गर्न नसकेको बताउँदै प्यालेस्टाइनका प्रशिक्षक जालायताले थपे, ‘यहाँको वातावरणमा राम्रोसँग घुलमुल हुन नसक्दा क्षमतानुसारको प्रदर्शन गर्न सकिरहेका थिएनौं । तर, खेलाडीहरुले आज उच्च मनोबलका साथ खेले । अन्तिम चरणमा छनोट हुन नसकेकोमा समर्थकसँग माफी चाहान्छौ । प्राविधिक रुपमा नेपाल हामी भन्दा बलियो थियो तर हामीले पाएका अवसर सदुययोग गर्न सफल भयौं । जितको सम्पूर्ण श्रेय मेरा खेलाडीहरुलाई जान्छ ।’

हारसँगै नेपाल १ अंकका साथ समूह ‘डी’ को पुछरमा झरेको छ भने ३ अंक जोड्न सफल प्यालेस्टाइन तेस्रो स्थानमा उक्लियो । समूह ‘डी’ बाट इराक समूह विजेता तथा भारत उत्कृष्ट पाँच उपविजेता भित्र पर्दै अन्तिम चरणका लागि छनोट भएका छन् । ३ खेलमा दुई जित र एक बराबरी गरेको इराकले ७ अंकका शीर्ष स्थानमा रहँदा १ जित र २ बराबरी खेलेको भारत ५ अंक जोड्दै दोस्रो स्थानमा रह्यो ।
एसियाका ४५ राष्ट्रले विभिन्न १० समूहमा प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगितामा प्र्रत्येक समूहका शीर्ष टोली र उत्कृष्ट पाँच उपविजेताले आयोजक मलेसियासँगै सन् २०१८ को सेप्टेम्बर २० देखि अक्टोबर ७ सम्म हुने एएफसी यु–१६ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन् ।

 

प्रकाशित: ९ आश्विन २०७४ ०४:०२ सोमबार

प्रतिष्ठाको खेलमा नेपाल पराजित