खेल

सागका लागि २५ खेलको निर्णय

अस्गाबत– नेपालको पदक सम्भावना भएको ठानिएको कराते समेट्दै ढेड वर्षपछि नेपालमा हुने भनिएको १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि २५ खेलको निर्णय भएको छ।

तुर्कमेनिस्तानको अस्गाबतमा मंगलबार सम्पन्न दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले कराते, बास्केटबल, फेन्सिङ र गल्फ समावेश गर्दै २५ खेलको निर्णय गरेको हो । नेपाल ओलम्पिक कमिटी (एनओसी)का समेत अध्यक्ष रहेका काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा भएको बैठकले २०१६ मा भारतको गुवाहटीमा सम्पन्न १२औं संस्करणमा राखिएकामध्येबाट सेपाक टाक्रो र हक्की हटाएको छ। 

नेपाल ओलम्पिक कमिटीले १३औं सागका लागि २८ खेलको प्रारम्भिक प्रस्ताव गरे पनि काउन्सिलले २५ खेलको सिलिङ राखेर निर्णय गरेको अध्यक्ष श्रेष्ठले नागरिकलाई जानकारी गराए । ‘गुवाहटीमा भएको २३ खेलको संख्यामा आयोजकले दुई खेलसम्म थप्न पाउने गरी सिलिङ राखिएको थियो । त्यसमा हामीले आयोजकका नाताले कराते र गल्फ रोज्यौं । बाँकी २३ खेलमा सर्वसम्मति भयो,’ श्रेष्ठले भने।

नेपालमा हक्कीका लागि एस्ट्रो टर्फ नभएकाले समावेश गर्न नसकिएको बताउँदै उनले पूर्वाधार निर्माणमा सरकारको सहयोग पाए हक्की पनि थप्न सकिने सहमति भएको बताए । ‘हामीलाई ओसिए (ओलम्पिक काउन्सिल अफ एसिया) ले टर्फ अनुदान दिने भनेको छ । सरकार मैदान बनाउन तयार भए हक्की थपेर २६ खेल पु¥याउन हामीले बैठकबाट म्यान्डेट लिएका छौं,’ उनले थपे । 

पाँचौं एसियाली इन्डोर तथा मार्सल आर्ट्स खेलकुदको अवसर पारेर गरिएको बैठकले काठमाडौंमा काउन्सिलको मुख्यालय राख्ने, विधान संशोधन गर्नेलगायतका विषयलाई भने थाती राखेको छ । जनवरीको अन्तिममा काठमाडौंमै आगामी बैठक राख्ने र त्यही बैठकले विधान तथा मुख्यालयको विषयमा निर्णय गर्ने टुंगो लागेको छ। 
‘विधान र मुख्यालय राख्ने विषयमा प्रवेश नै भएन । विधान संशोधनका लागि मस्यौदा तयार गर्ने जिम्मेवारी श्रीलंकालाई दिइएको छ । श्रीलंकाले काठमाडौं बैठकभन्दा ६ हप्ताअघि काउन्सिललाई मस्यौदा बुझाउनेछ । त्यसपछि सबै देशलाई पठाइनेछ । बैठकले त्यसलाई अनुमोदन गर्नेछ,’ एनओसीका महासचिव लामा टेन्डी शेर्पाले भने। 
बैठकमा नेपालका तर्फबाट एनओसी अध्यक्ष श्रेष्ठ, महासचिव शेर्पा र कोषाध्यक्ष रतन टण्डन तथा पाहुनाका रूपमा राष्टिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टको उपस्थिति थियो । बैठकमा अध्यक्ष श्रेष्ठले नेपालको तयारीबारे जानकारी गराएका थिए । ‘हामीले आफूसँग भएका पूर्वाधार र निर्माणाधीन पूर्वाधारको अवस्थाबारे बैठकलाई जानकारी गरायौं । यसका साथै हामीले १३औं सागका लागि बनाएका योजना पनि प्रस्तुत गर्यौं। ’
बैठकले १३औं सागमा समावेश गर्ने निर्णय लिएका खेलमा आर्चरी, एथ्लेटिक्स, ब्याडमिन्टन, बास्केटबल, बक्सिड, फेन्सिड, फुटबल, गल्फ, ह्यान्डबल, जुडो, कबड्डी, कराते, खोखो, सुटिड, स्क्वास, पौडी, टेबल टेनिस, तेक्वान्दो, टेनिस, ट्रायथलन, भलिबल, भारोत्तोलन, कुस्ती, उसु र साइक्लिङ छन्। 

मन्त्रीको पत्र सहयोगी
अस्गाबत आउनुअघिसम्म नेपालमा सरकार र एनओसीबीचको विवादका कारण १३औं साग आयोजनाको अन्योल रहे पनि युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीको ‘सकारात्मक’ कदमले अन्योल हटेको श्रेष्ठले बताए।

श्रेष्ठका अनुसार मन्त्री केसीले आफ्नै हस्ताक्षरमा काउन्सिललाई पत्र लेख्दै १३औं साग समयमै गर्न सरकार प्रतिबद्ध रहेको जनाएका छन् । सरकारले श्रेष्ठ नेतृत्वको एनओसीलाई अवैधानिक भन्दै आएको छ । श्रेष्ठ एनओसीका पदाधिकारी सहभागी कार्यक्रम समेत बहिष्कार गर्दै आएका मन्त्रीले उनै श्रेष्ठ अध्यक्ष रहेको काउन्सिललाई पत्र लेखेका हुन् । 
‘मन्त्रीज्यूको पत्रले सबै अन्योल हटेको छ । यसअघि दक्षिण एसियाका अन्य देश पनि नेपालले १३औं साग गर्ने विषयमा विश्वस्त हुन सकेका थिएनन् । तर हामीले बैठकमा त्यो पत्र वितरण ग¥यौं । सरकारी प्रतिबद्धता देखेपछि सबै देश उत्साहित भएका छन्,’ श्रेष्ठले भने। 

बास्केटबलमा निराशा
थ्री बाइ थ्री बास्केटबलमा उज्वेकिस्तान र किर्गिस्तानसँग झीनो अन्तरमा पराजित हुँदा क्वार्टरफाइनल पुग्ने सम्भावनाबाट टाढियो । पहिलो खेलमा उज्वेकिस्तानसँग १८–१६ को अन्तरमा पराजित नेपालले मंगलबारै ढिलो गरी भएको दोस्रो खेलमा किर्गिस्तानलाई १९–१५ ले नतिजा सुम्पिएको थियो।

समूह चरणको अन्तिम खेलमा नेपालले बिहीबार मंगोलियाको सामना गर्नेछ । पहिलो दुई खेलमा पराजित भइसकेका कारण अन्तिम खेल नेपालका लागि अर्थहीन बनेको छ। 

 

प्रकाशित: ४ आश्विन २०७४ ०३:५६ बुधबार

सागका लागि २५ खेलको निर्णय