खेल

एसियाली पुरुष क्रिकेटः नेपालले समूह चरणमा पायो दुई प्रतिस्पर्धी

एसियाली खेलकुद अन्तर्गतको पुरुष क्रिकेटको खेल तालिका परिवर्तन भएको छ। बहराईनले प्रतियोगिताबाट नाम फिर्ता लिएसँगै खेल तालिका परिवर्तन भएको हो।  

प्रतियोगितामा अब नेपालले माल्दिभ्स र मङ्गोलियालाई समूह चरणको प्रतिद्वन्दीको रुपमा पाएको छ।  

नयाँ खेलतालिकामा नेपाल समूह ‘ए’ मा रहेको छ। यसअघि नेपालले जापान र कम्बोडियासँग खेल्ने तय भएको थियो। टी–ट्वान्टी फर्म्याटमा हुने खेलमा नेपाल टी–ट्वान्टी आई वरियतामा १७ औं स्थानमा छ भने माल्दिभ्स ८० औं र मङ्गोलिया वरियताभित्रै छैन।  

समूह ‘बी’ मा कम्बोडिया, जापान र हङकङ रहेको छ भने समूह ‘सी’ मलेसिया, सिङ्गापुर र थाईल्यान्ड रहेका छन्।  

यसअघि समूह चरण खेल्ने तय भएको पूर्ण सदस्य राष्ट्र अफगानिस्तान सिधै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।  

समूह चरणमा शीर्ष स्थानमा रहने टोली क्वाटरफाइनलमा स्थान बनाउने छ । भारत, पाकिस्तान, बङ्गलादेश र श्रीलङ्काले सिधा क्वाटरफाइनलमा स्थान बनाएका छन् ।  

नेपालले २७ सेप्टेम्बर (असोज १०) मा मङ्गोलियासँग, १ अक्टोबर (असोज १४) मा माल्दिभ्ससँग खेल्ने छ।

प्रतियोगिताको क्वाटरफाइनलका खेलहरू ३ र ४ अक्टुबर (१६–१७ असोज) मा हुनेछन् भने ६ अक्टोबर (१९ असोज) मा सेमिफाइनल र ७ अक्टोबर (२० असोज) मा फाइनल खेल हुने कार्यतालिका रहेको छ।  

प्रकाशित: २७ भाद्र २०८० ०१:५१ बुधबार

एसियाली खेलकुद पुरुष क्रिकेट नेपाल मङ्गोलिया