खेल

कोरियन एम्बासडर तेक्वान्दो भदौ २७ देखि

११औं कोरियन एम्बासडर अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप आगामी भदौको अन्तिम सातादेखि सुरु हुने भएको छ।

नेपाल तेक्वान्दो संघले आइतबार त्रिपुरेश्वरमा पत्रकार सम्मेलन गर्दै आगामी भदौ २७ देखि ३१ गतेसम्म अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप आयोजना हुने जनाएको हो। नेपालस्थित दक्षिण कोरियाको दूतावास र संघको संयुक्त आयोजनामा पहिलो पटक अन्तर्राष्ट्रिय च्याम्पियनसिप हुन लागेको हो। यसअघिका संस्करण राष्ट्रियस्तरमा मात्र सीमित थियो। च्याम्पियनसिपमा भारत, बंगलादेश र नेपाल गरी तीन राष्ट्रका खेलाडीले खेल्नेछन्। नेपाली राष्ट्रिय तेक्वान्दो टोली चीनमा आयोजना हुने १९औं एसियाडको तयारीमा रहेकाले राष्ट्रिय टोलीबाहेक खेलाडीले च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने नेपाल तेक्वान्दो संघका उपाध्यक्ष एवम् प्रतियोगिताका संयोजक भानबहादुर चन्दले जानकारी दिए।  

यस च्याम्पियनसिपमा सात सय ११ महिला र एक हजार ६७ पुरुष गरी कुल एक हजार ७ सय ७८ जना सिनियर तथा जुनियर खेलाडी सहभागी हुने संघका उपाध्यक्ष चन्दले बताएका छन्। पुम्सेतर्पm २५ र ग्यरोगी (फाइट) मा ३२ गरी कुल ५७ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ। च्याम्पियनसिपमा भारतबाट ३५ र बंगलादेशबाट ३३ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। ती देशका खेलाडी पनि एसियाडको तयारीमा रहेकाले दोस्रो रोजाइका खेलाडीले च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ।  

प्रतियोगिताका लागि संघका उपाध्यक्ष चन्दको संयोजकत्वमा ३५ सदस्यीय आयोजक समिति गठन गरिएको छ भने सो समितिअन्तर्गत १० वटा उपसमिति छन्। प्रतियोगिताका लागि ६० जना निर्णायक, १५ जना प्राविधिक र ३५ जना स्वयंसेवक तय गरिएको संघले जनाएको छ। प्रतियोगिताको लागि करिब ३५ लाख लागत लाग्ने आयोजकले जनाएको छ। त्यसमा कोरियाली दूतावासबाट करिब पाँच हजार अमेरिकी डलर र प्रतियोगिताका लागि खेलाडी दर्ताबाट करिब १७ लाख रूपैयाँ प्राप्त हुने संघका उपाध्यक्ष चन्दले जानकारी दिए। प्रतियोगिता सञ्चालन गर्न बाँकी रकम भने संघले व्यवस्थापन गर्नेछ।

प्रकाशित: २५ भाद्र २०८० ०२:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App