खेल

जर्मनी अर्काे खेल कुर्न बाध्य

विश्वकप छनाेट अन्तर्गत साेमबार स्लाेभाकियाविरूद्ध गाेल गरेपछि इङ्ल्यान्डका इरिक डायर (बायाँ) । तस्बिर : एपी

पेरिस – जर्मनीले नर्वेको चुनौती ६ गोलले पाखा लगाएको दिन सोमबार विश्वकपको युरोपेली छनोटअन्तर्गत अर्को खेलमा पहिला गोल खानाका बावजुद इङ्ल्यान्डले स्लोभाकियामाथि २–१ को जित हासिल गरेको छ। 

जर्मनीले स्टुटगार्टमा नर्वेमाथि ६–० को एकतर्फी जित हासिल गर्दा आरबी लिपजिगका स्ट्राइकर टिमो वेर्नेरले दुई गोलमा नाम लेखाए । जोचिम लोउको विश्व च्याम्पियन जर्मनी सोमबारको जितपछि छनोट चरणका आठ खेलसम्म शतप्रतिशत नतिजा कायम राख्न सफल भएको छ । ८ खेलमा २४ अंक जोडेको टोली समूह ‘सी’ को शीर्ष स्थानमा छ । तर दोस्रो स्थानको नर्दन आयरल्यान्डले बेलफेस्टमा चेक गणतन्त्रमाथि २–० को जित हासिल गरेपछि जर्मनीले समूहविजेताको हैसियतमा सोझै रूसको टिकट काट्न अर्को खेलसम्म कुर्नुपर्ने भएको छ । अक्टोबर ५ मा हुने आगामी खेलमा जर्मनी र नर्दन आयरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । 

प्रागमा चेक गणतन्त्रमाथि २–१ को जित हासिल गर्दा आफ्नै समर्थकबाट अपमानजनक व्यवहार सामना गर्नुपरेका वेर्नेरले सोमबार भने २१ र ४०औं मिनेटमा गोल गरेपछि पूरा रंगशालाबाट विशेष सम्मान पाए । 

चेक गणतन्त्रमाथि जित हासिल गर्दा संघर्षमय प्रदर्शन गरेको जर्मनी सोमबार निकै छरितो रूपमा प्रस्तुत भयो । आर्सनलका मिडफिल्डर मेसुट ओजिलले १०औं मिनेटमा गोल गर्दै टोलीको खाता खोलेका थिए । जुलियन ड्रयाक्जलरले १७औं मिनेटमा टोलीको अग्रता दोब्बर पारे । त्यसपछि वेर्नेरले लगातार दुई गोल गर्दै मध्यान्तरअघि नै जर्मनीलाई ४–० को अग्रता दिलाए । मध्यान्तरपछि पनि जर्मनीको आक्रमण धार भुत्ते भएन । लियोन गोरेट्जकाले ५०औं मिनेटमा गोल गरे भने मारियो गोमेजले ७९औं मिनेटमा गोल गर्दै जित अन्तर थप फराकिलो पारे । 

‘आज टोलीले सही ढंगबाट आफ्नो छवि देखायो । हाम्रो फुटबलको सुन्दर पक्ष यही हो,’ जर्मनीका प्रशिक्षक लोउले भने, ‘चेकविरुद्धको खेल साँच्चै लज्जाजनक थियो ।’

जोनी इभान्सको दोस्रो अन्तर्राष्ट्रिय गोलमा वेस्ट ब्रोममा उनका टिम सहयात्री क्रिस ब्रन्टले अर्को गोल थपेपछि नर्दन आयरल्यान्डले कम्तीमा प्लेअफ खेल्ने पक्का गरेको छ । इभान्सले पहिलो अन्तर्राष्ट्रिय गोल आठ वर्षअघि गरेका थिए । 
प्रशिक्षक माइकल ओनिलले रक्षात्मक रूपमा अर्को जब्बर प्रदर्शन गरेपछि आफ्ना खेलाडीहरूलाई बधाई दिए । ‘हामी अहिले तालिकाको राम्रो अवस्थामा छौं । हामीले दोस्रो स्थान पक्का गरेका छौं । यसबीचमा सात खेलसम्म गोल नखानु अझै राम्रो भयो । यसले हामीलाई आगामी खेलका लागि पनि मनोबल प्रदान गर्नेछ,’ ओनिलले भने । 

उता वेम्बलीमा स्लोभाकियाका स्टानिस्लाभ लोबोट्काले तेस्रो मिनेटमै गोल गरेपछि इङ्ल्यान्ड स्तब्ध भएको थियो । मार्कुस रसफोर्डको गल्तीमा लोबोट्काले गोल गरेका थिए । तर रसफोर्डले तत्काल गल्ती सुधार्ने क्रममा ३७औं मिनेटमा पास मिलाएपछि इरिक डायरले इङ्ल्यान्डका लागि बराबरी गोल गरे । रसफोर्डले नै ५९औं मिनेटमा गोल गरेर घरेलु टोलीको जित पक्का गरे । 

जितपछि गारेथ साउथगेटको इङ्ल्यान्ड समूह ‘एफ’ मा स्लोभाकियाभन्दा पाँच अंकले अगाडि रहँदै शीर्ष स्थानमा छ । अर्को वर्ष रूसमा हुने विश्वकपमा स्थान पक्का गर्न साउथगेटको टोलीलाई स्लोभेनिया र लिथुवानियाविरुद्ध हुने बाँकी दुई खेलबाट दुई अंक जोड्न सके पर्याप्त हुनेछ ।

‘राम्रा खेलाडीहरूको टोलीसँग सुरुमा गोल खाएर पनि पुनरागमन जनाउनु भनेको राम्रो पक्ष हो,’ साउथगेटले भने, ‘मार्कुस रसफोर्डले अत्यन्तै परिपक्व प्रदर्शन गरे । उनको गल्तीमा पहिलो गोल भएको थियो । तर उनले त्यसबाट दबाब महसुस गरेनन् । यो राम्रो पक्ष रह्यो ।’

सोही समूहबाट स्कटल्यान्डले घरेलु मैदानमा माल्टामाथि २–० को विजयी नतिजा निकाल्दै प्लेअफलाई छानिने आशा जीवित राख्यो ।

उता समूह ‘इ’ मा पोल्यान्डले कजाकस्तानलाई ३–० को नतिजामा हराउँदै शीर्ष स्थानमाथिको पकड कायम राख्दा डेनमार्क अर्मेनियालाई ४–१ ले हराउँदै दोस्रो स्थानमा उक्लियो । 

दोस्रो स्थानको नर्दन आयरल्यान्डले बेलफेस्टमा चेक गणतन्त्रमाथि २–० को जित हासिल गरेपछि जर्मनीले समूहविजेताको हैसियतमा सोझै रूसको टिकट काट्न अर्को खेलसम्म कुर्नुपर्ने भएको छ ।

प्रकाशित: २१ भाद्र २०७४ ०२:३९ बुधबार

जर्मनी अर्काे खेल कुर्न बाध्य