खेल

भदौ अन्तिममा लोमान्थाङमा गल्फ प्रतियोगिता

लोमान्थाङस्थित गल्फ कोर्ष। फाईल तस्बिर: धन बस्नेत/नागरिक

लोमान्थाङमा यही भदौ ३० गते शनिबार दोस्रो संस्करणको गल्फ प्रतियोगिता गर्ने अन्तिम तयारी गरिएको छ। लोमान्थाङ गाँउपाालिकाको आयोजना तथा गण्डकी प्रदेशका पूर्व सदस्य इन्द्रधारा विष्टको सक्रियतामा ४६ सय ४५ मिटरको उचाईमा दोस्रो सस्करणको एमेच्योर गल्फ प्रतियोगिता आयोजना गरिने छ। कोर्ष मर्मत गर्न पोखरास्थित व्यवसायिक गल्फर भूबहादुर गुरुङ एकसाता अघि नै लोमान्थाङ पुग्ने तयारीमा छन्।  

समुद्रीसहतदेखि ४६ सय ४५ मिटर उचाईमा गतवर्ष गल्फ कोर्ष बनाईएको छ। त्यही कोर्षलाई वर्षदिनपछि मर्मत सम्भार गरेर दोस्रो संस्करणको प्रतियोगिता गरिदैं छ। ९ होलको कोर्षमा नेपालका उत्कृष्ट गल्फरले प्रतियोगिता दोस्रो पटक खेल्न उक्लिने तयारीमा छन्। गल्फकै लागि नेपालका गल्फरहरु अर्को साता लोमान्थाङ पुग्ने छन । भदौ अन्तिम शनिबार ९ होलको स्टेफल फोर्डको फरम्याटमा प्रतियोगिता खेल्ने गण्डकी प्रदेशका पूर्व सदस्य समेत रहेका विष्टले सुनाए।  

‘होल ईन वान हान्नेलाई पुरस्कार स्वरुप घोडा प्रदान गरिने छ,’ विष्टले गतवर्ष झैं आफनो योजना सुनाए, ‘७० वर्षमाथिको उमेरका गल्फरलाई सम्मान गरिने छ।’ गल्फमा हुने होल ईन वानसँगै बेष्ट ग्रस, लङगेष्ट ड्राईभ, होल नजिक प्रहार गर्ने गल्फरलाई समेत आकर्षक पुरस्कार प्रदान गरिने छ। ‘लाोमान्थाङको परिचय बदल्ने योजनामा छौ। त्यही अनुसार गल्फको हब बनाउने लक्ष्यलाई साकार रुप दिन यो वर्षपनि प्रतियोगिता गर्दै छौं,’ विष्टले भने, ‘गल्फले लोमान्थाङको परिचय बदल्ने छ।’  

‘वर्षदिन अघि बनाएको कोर्षमा दोस्रो पटक प्रतियोगिता आयोजनाको तयारी भएकोले एकसाता अघि नै मर्मत गर्नुपर्ने छ। त्यसैले एकसाता अघि नै लोमान्थाङ पुगेर मर्मत सम्भार गरी कोर्ष तयार गर्ने छौं’ नेपाल गल्फ संघका केन्द्रीय सदस्य भूबहादुर गुरुङले भने, ‘गतवर्ष मिलाउन नसकिएको होल र ड्राइभ रेन्ज अहिले मिलाईने छ,’ प्रतियोगिता स्टेफल फोर्ड फरम्याट ३÷४ ह्याण्डीक्यापमा खेलाईने छ। लोमान्थाङमा हुने प्रतियोगिताले विश्वकै एडभेन्चर गल्फ खेल्ने गल्फरलाई आकर्षण गर्ने उनले दावी गरे।  

गल्फ कोर्ष लोमान्थाङदेखि झण्डै २५ मिनेटको दुरी टाढा पर्छ। प्रतियोगिताको व्यवस्थापकीय जिम्मेवारी स्थानीयबासी लिएका छन। लोमान्थाङ गाँउपालिकाको आयोजनामा हुने प्रतियोगितालाई विभिन्न संघसंस्थाले सहयोग भूमिका खेलेको छ। प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिटी एक्सप्रेस, जर्मन बेकरी, सोल्टी पानी, मुस्ताङस्थित छिम्ले अर्चार्ड प्रालि लगायतले सहयोग गरेका छन्। गतवर्षको प्रतियोगिताको लागि नेपालका ४० जना भन्दा बढी गल्फरहरुले प्रतिस्पर्धा गरेका थिए।  

प्रकाशित: २० भाद्र २०८० १०:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App