खेल

एनएनआइपिएमा दीपक दोहोरिए

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) को अध्यक्षमा करातेका दीपक श्रेष्ठ दोहोरिएका छन्।

मंगलबार सम्पन्न साधारणसभा तथा निर्वाचनले दीपकको नेतृत्वमा आगामी दुई वर्षका लागि १५ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको हो। उपाध्यक्षमा आयशा शाक्य (तेक्वान्दो) र दीपक थापा (ब्याडमिन्टन), महासचिवमा शिवसुन्दर गोथे (टेबल टेनिस), सचिवमा मन्देकाजी श्रेष्ठ (कराते) र कोषाध्यक्षमा आङबाबु लामा (उसु) चयन भएका छन्।

पदाधिकारीमा दीपक थापाबाहेक अघिल्लो कार्य समितिमा सबै अहिलेकै जिम्मेवारीमा थिए। अघिल्लो कार्यसमितिमा दीपक सदस्य थिए। बास्केटबलका सदीश प्रधान, फुटबलका विकेश कुथु, उसुकी जुनी राई, बक्सिङका अजित गुरुङ, फेन्सिङका सञ्जीव लामा, टेबल टेनिसका पुरुषोत्तम वज्राचार्य, सुटिङकी फुलमाया क्याप्छाकी, भलिबलका मानबहादुर श्रेष्ठ र जुडोका सञ्जीव डंगोल सदस्यमा चयन भए।

नवनिर्वाचित पदाधिकारीलाई नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्वधावक जितबहादुर केसीले खादा लगाई दिनुका साथै सफल कार्यकालका लागि शुभकामना दिए।

प्रकाशित: २० भाद्र २०८० ०२:३९ बुधबार

एनएनआइपिएमा दीपक दोहोरिए अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्वधावक जितबहादुर केसी