खेल

सामाखुसीको फराकिलो विजय

काठमाडौं- एएफसी फुटसल च्याम्पियनसिप २०१८ छनोट प्रतियोगिताको तयारीका लागि बिहीबारबाट सुरु राष्ट्रिय फुटसल लिगमा सामाखुसी फुटसल, चौर रिक्रिएसन सेन्टर र धन्वन्तरी फुटसलले फराकिलो अन्तरमा नतिजा निकालेका छन् ।

सामाखुसी फुटसलले ढुकु फुटसलमाथि ५–० को विजय हासिल गर्दा चौर रिक्रिएसनले फुटसल भिलेजलाई ७–१ ले स्तब्ध बनायो । धन्वन्तरीले खुमलटार युवा क्लबलाई ६–२ ले हरायो । भदौ २५ सम्म सञ्चालन हुने प्रतियोगिताका सबै खेल स्तुपा फुटसल बौद्ध र चौर रिक्रियसन सेन्टरमा हुनेछन् ।

१६ टोलीको सहभागिता रहेको यस प्रतियोगितामा बिहीबार बिजी फुटसलले विजी ब्रदर्सलाई ३–२ ले हराउँदा स्वयम्भु रिक्रिएसन सेन्टरले पनि किकअफ फुटसललाई ३–२ कै नतिजामा हरायो । शंखमूल फुटसलले रेभ फुटसलमाथि ५–२ को नतिजा निकाल्दा हरिसिद्धि फुटसल र खालीबारी फुटबल क्लबले ७–७ को बराबरी खेले । रजनी फुटसलले स्तुपा फुटसललाई ३–२ को नतिजा सुम्पियो ।

नेपालमा पहिलो पटक आयोजना भएको राष्ट्रिय फुटसल लिगको उद्घाटन युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले गरेका थिए । चौर रिक्रिएसन सेन्टरमा लिगको उद्घाटन गर्दै मन्त्री केसीले यस्ता प्रतियोगिताले युवा खेलाडीलाई प्रतिभा देखाउन अवसर दिने बताए । उनले थपे, ‘फुटसल अहिले निकै लोकप्रिय भइरहेको छ । एन्फाले आयोजना गरेको यस्ता प्रतियोगिताले युवालाई प्रतिभा देखाउने अवसर दिनुका साथै खेलको स्तरमा पनि वृद्धि हुनेछ ।’

यस फुटसल लिगबाट इरानमा अक्टोबर १३ देखि १५ सम्म हुने छनोट प्रतियोगिताका लागि खेलाडी छनोट गर्ने अखिल नेपाल फुटबल संघले जनाएको छ । दक्षिण एसियाबाट छनोट प्रतियोगिता खेल्ने नेपाल एक्लो टोली हो ।

प्रतियोगिताको विजेता टोलीले ५ लाख र उपविजेता २ लाख ५० हजार पाउनेछन् । त्यस्तै उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही २० हजार प्राप्त गर्नेछन् ।

प्रकाशित: १६ भाद्र २०७४ ०३:५० शुक्रबार

सामाखुसीको फराकिलो विजय