खेल

वर्ल्ड सिरिज धावक गुरुङ सम्मानित

नेपाली सेनाका कप्तान राजीव चन्द (दायाँ)तेन्जिङ हिलारी एभरेष्ट म्याराथनका तर्फबाट अल्टा धावक भीमबहादुर गुरुङलाई १ हजार अमेरिकी डलरको चेक हस्तान्तरण गर्दै

काठमाडौं—तेन्जिंग हिलारी एभरेस्ट म्याराथन प्रालिले बिहीबार सन् २०१५ को एभरेस्ट म्याराथनको बिजेता र सन् २०१४ र २०१६ को उपबिजेता भिम बहादुर गुरुङलाई एक कार्यक्रमबीच सम्मान गरेको छ। एभरेस्ट म्याराथनका कार्यक्रम ब्यबस्थापक शिखर पाण्डेले गुरुङलाई अभिनन्दन पत्रले सम्मान गर्दै तेन्जिंग हिलारी एभरेस्ट म्याराथनको ‘हल अफ फेम’मा समाहित गरेको जनाए।

उनले गुरुङलाइ स्कटल्याण्डमा आगामी सेप्टेम्बर १७ मा आयोजना हुने मिगु रन स्काईरनर वर्ल्ड सिरिज २०१७ अन्तर्गतको ग्लेन को स्काईलाइन रेसमा सहभागी हुन नगद १,००० अमेरिकी डलर आर्थिक सहयोग प्रदान गरे।

मिगु रन स्काईरनर वर्ल्ड सिरिजको ‘एक्स्ट्रिम दौड’ बिधामा २०५.६ अंकका साथ उनी हाल प्रथम स्थानमा छन्। स्कटल्यान्डमा हुने अन्तिम दौडमा अन्तिम दशमा मात्रै परे पनि गुरुङ उक्त विधामा विश्व च्याम्पियन बन्नेछन्।

गोर्खाको आरुघाट गाउँपालिका अन्तर्गत पोखरी गाउँमा सन् १९८१ मा जन्मिएका गुरुङ सन् २००९ देखि लामो दुरीको दौडमा सहभागी हुँदै आएकाछन्। नेपाली सेनाका हबल्दार गुरुङले देश-बिदेशमा आयोजना भएका दर्जनौं लामो दुरीको दौडमा भाग लिइसकेकाछन्।

विश्वकै प्रतिष्ठित मिगु रन स्काईरनर वर्ल्ड सिरिजमा गुरुङले सन् २०१६ देखि भाग लिन थालेका हुन्। सन् २०१६ मा वर्ल्ड सिरिजको तीन वटा दौडमा भाग लिएका गुरुङले दुई वटा –२९ किलोमिटर लामो यादिंग स्काईरन (चीन) र ५२ किलोमिटर लामो ट्रोफो किमा (इटाली) मा मा स्वर्ण पदक जितेका थिए।

त्यस्तै २०१७ मा भाग लिएको वर्ल्ड सिरिजको ४ वटा दौडमध्ये गुरुङले तीन वटा – २९ किलोमिटर लामो यादिंग स्काईरन (चिन), ५५ किलोमिटर लामो ग्राण्ड प्याराडिसो (इटाली) र ५५ किलोमिटर लामो ट्रोफो किमा (नर्वे) मा स्वर्ण पदक जिति सकेकाछन्। चौथो दौडमा भने उनी बाटो बिराएका कारण १५ औं भएका थिए। मिगु रन स्काईरनर वर्ल्ड सिरिजको ‘एक्स्ट्रिम दौड’ बिधामा २०५.६ अंकका साथ उनी हाल प्रथम स्थानमा छन्। स्कटल्यान्डमा हुने अन्तिम दौडमा अन्तिम दशमा मात्रै परे पनि गुरुङ उक्त विधामा विश्व च्याम्पियन बन्नेछन्।

स्कटल्यान्डमा सेप्टेम्बर १७ मा हुने दौडमा भाग लिन उनी आगामी सेप्टेम्बर १० मा त्यसतर्फ प्रस्थान गर्दैछन्। २०१३, २०१४ र २०१६ मा गुरुङ सामेल रहेको चारसदस्यीय नेपाली टोलीले १०० किलोमिटर लामो हंगकंग अक्सफाम ट्रेलवाकर्स दौडको उपाधि जितेको थियो।

“'बिदेशी धाबकहरुले हामीलाई धेरै सम्मान गर्छन्। केही त नेपालीले भाग लिने दौडमा हामीले केही गरे नि जित्न सक्दैन भन्छन्। उनीहरुबाट यस्तो कुरा सुन्न पाउँदा गर्बको महसुस हुन्छ',” त्रिभुवन आर्मी क्लबका धाबक गुरुङले भने। “आफू कार्यरत संस्था, नेपाली सेना, र देशको शिर उँचो राख्न पाउँदा एकदम खुशी रहेको उनले सुनाए।”

उनले अन्तराष्ट्रिय प्रतियोगितामा आठ स्वर्ण र दुई रजत जितीसकेकाछन्। “नेपालमा आयोजित प्रतियोगितामा दुई दर्जन जति स्वर्ण पदक जितिसकेको गुरुङले सुनाए।

 

 

 

प्रकाशित: १५ भाद्र २०७४ १३:१४ बिहीबार

वर्ल्ड सिरिज धावक गुरुङ सम्मानित