खेल

आज नेपाल र भारतबीच क्रिकेट प्रतिस्पर्धा: नयाँ अध्याय लेख्ने अवसर

एसिया कपमा आज नेपालले विश्वक्रिकेटको महारथी भारतको सामना गर्दै छ। अर्थात् नेपाली क्रिकेटले गौरवान्वित इतिहासमा एउटा नयाँ अध्याय लेख्दै छ।

श्रीलंकाको पालेकेलेमा दक्षिणी छिमेकी भारतविरुद्ध मैदान उत्रिँदै गर्दाको क्षण नेपालका लागि फगत एउटा खेलमा सीमित हुने छैन। अन्तर्राष्ट्रिय क्रिकेटमा सम्भावना बोकेको एउटा उदीयमान टोलीको हैसियत बनाएको नेपालका लागि शीर्ष स्तरमा चुनौती प्रस्तुत गर्ने एउटा सुनौलो अवसर हुनेछ, भारतविरुद्धको खेल।

त्यसो त, नेपालले यही एसिया कपमा विश्ववरीयताको शीर्ष टोली पाकिस्तानसँग खेलेर एउटा सुनौलो इतिहास लेखिसकेको छ। नतिजा जस्तो भए पनि विश्ववरीयताको शीर्ष विपक्षीसँग खेल्नु नेपालका लागि ठूलो अवसर थियो। बुधबार पाकिस्तानको मुल्तानमा नेपालले आफ्नो इतिहासकै सबभन्दा ठूलो खेल खेलेको थियो, पाकिस्तानविरुद्ध।

अन्तर्राष्ट्रिय क्रिकेटमा विश्वकपपछिको ठूलो प्रतियोगिताको रूपमा लिइने एसिया कपमा दोस्रो पटक छनोट भए पनि नेपालले सहभागिता जनाएको भने यो पहिलो अवसर थियो। यसअघि सन् २००१ मा पहिलो पटक एसिया कपलाई छानिए पनि भारत र पाकिस्तानबीचको भूराजनीतिक समस्याका कारण प्रतियोगिता रद्द भएको थियो। जसका कारण नेपालले इतिहासकै ठूलो प्रतियोगिता खेल्ने मौका चुकाएको थियो।

गएको वैशाखमा घरमै भएको एसिसी प्रिमियर ट्रफीको उपाधि जितेर नेपाल दोस्रो पटक एसिया कपलाई छनोट भयो। यसपालि पनि २२ वर्षअघिझैँ भारत र पाकिस्तानबीचको खराब राजनीतिक सम्बन्धले एसिया कप नहुने शंका व्याप्त थियो। भारतले पाकिस्तानको भ्रमण गर्न अस्वीकार गरेका कारण प्रतियोगिता नहुने आशंका थियो।

अन्ततः श्रीलंका सहआयोजकका रूपमा आएपछि प्रतियोगिता सम्भव भयो। नेपालले पनि पाकिस्तानविरुद्धको समूहखेल मुल्तानमा खेलेपछि भारतविरुद्धको खेल खेल्नका लागि श्रीलंकाको भ्रमण गरेको छ।

अन्तर्राष्ट्रिय क्रिकेटमा विश्वकपपछिको ठूलो प्रतियोगिताको रूपमा लिइने एसिया कपमा दोस्रो पटक छनोट भए पनि नेपालले सहभागिता जनाएको भने यो पहिलो अवसर थियो।

प्रतियोगिताको अंकतालिका अनुसार आजको खेल नेपाल र भारत दुवैका लागि गर या मरको खेल हो। जित्ने टोली समूह ‘ए’ बाट पाकिस्तानसँगै ‘सुपर फोर’मा प्रवेश गर्नेछ। पराजित हुने टोलीको एसिया कप यात्रामा पूर्णविराम लाग्नेछ।

नेपाल बुधबारको खेलमा पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो। भारत र पाकिस्तानबीच श्रीलंकाको पालेकेलेमै शनिबार सम्पन्न समूहको दोस्रो खेल वर्षाका कारण नतिजारहित टुंगियो। समूह ‘ए’ मा पाकिस्तान ३ अंकका साथ शीर्ष स्थानमा छ भने भारत १ अंकका साथ दोस्रो स्थानमा छ। नेपालले भने अंकको खाता खोल्न छैन।

अंकतालिकाको समीकरण जेजस्तो भए पनि नेपाल सोमबारको खेलमा जितको हकदार पक्कै पनि होइन। यथार्थ यही हो। पाकिस्तानविरुद्धको खेलमा प्राप्त अनुभव र शिक्षाको उपयोग गर्दै शिर ठाडो पारेर मैदानबाट फर्किनु सोमबार नेपालको लक्ष्य हुनेछ।

नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान पवन अग्रवाल भारतविरुद्धको खेलमा नतिजा जस्तो भए पनि नेपाली टोली शिर ठाडो पारेर मैदानबाट फर्किनेमा विश्वस्त छन्।

‘हामीले पाकिस्तानसँग राम्रो क्रिकेट खेलेका हौं। यसो हेर्दा फराकिलो हार भए पनि हामीले पहिलो पटक यति ठूलो स्तरमा खेल्दा उच्च परिपक्वता देखाएका थियौं,’ अग्रवाल भन्छन्, ‘हामीलाई उच्चस्तरीय क्रिकेटमा अनुभवको खाँचो थियो। पाकिस्तानविरुद्धको खेलमा हामीले त्यो पायौं। विश्ववरीयताको शीर्ष टोलीसँग खेल्दा धेरै कुरा सिक्ने मौका पनि पायौं। अब यहाँ सिकेका कुरा भारतविरुद्धको खेलमा प्रयोग गर्नुपर्छ र मैदानबाट शिर ठाडो पारेर फर्किने वातावरण हुनुपर्छ। यो सम्भव छ।’

शीर्ष स्तरको क्रिकेटमा पहिलो अनुभव लिइरहेको अवस्थामा भारतमाथि जित हासिल गर्नु नेपालका लागि असम्भव लक्ष्य हुन सक्छ। तर उमेरसमूहमा भने दक्षिणी छिमेकीमाथि जित हासिल गरिसकेको इतिहासले आज नेपाली टोलीलाई प्रेरणा दिन सक्छ।

सन् २०१७ को नोभेम्बरमा मलेसियाको क्वालालम्पुरमा सम्पन्न यु–१९ एसिया कपमा नेपाली युवा टोलीले भारतमाथि सनसनीपूर्ण जित हासिल गरेको थियो।

दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको नेपालले त्यति बेला क्वालालम्पुरको बायोमास ओभल मैदानमा भारतलाई १९ रनले स्तब्ध बनाएको थियो। भारतीय क्रिकेटमा ‘दिवाल’ को उपनामले परिचित लेजेन्ड राहुल द्रविडको प्रशिक्षणमा आएको टोलीमाथि नेपालले हासिल गरेको त्यो जितले विश्वक्रिकेटमा सनसनी मच्चाएको थियो।

टस हारेपछि पहिला ब्याटिङलाई निम्त्याइएको नेपालले ऐरीको अर्धशतक प्रेरणामा निर्धारित ५० ओभर खेल्दै आठ विकेटको क्षतिमा १ सय ८५ रन बनाएको थियो। जबाफमा भारतलाई ४८.१ ओभरमा १ सय ६६ रनमा रोक्दै नेपालले विश्वक्रिकेटमा एउटा स्तव्धतापूर्ण नतिजा निकालेको थियो।

नेपाल बुधबारको खेलमा पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो। भारत र पाकिस्तानबीच श्रीलंकाको पालेकेलेमै शनिबार सम्पन्न समूहको दोस्रो खेल वर्षाका कारण नतिजारहित टुंगियो।

उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका कप्तान ऐरीले १०१ बलमा २ छक्का र ६ चौकाको मद्दतमा ८८ रनको योगदान गर्दा ओपनर जितेन्द्र ठकुरीले ३६ तथा भीम सार्कीले १५ रन थपेका थिए। जवाफमा भारतलाई अनपेक्षित रूपमा रोक्दा ऐरीले चार विकेट लिए भने पवन सर्राफ र साहब आलमले दुईदुई तथा कमल ऐरी र सन्दीप लामिछानेले एकएक विकेटमा नाम लेखाएका थिए।

भारत जस्तो विश्वक्रिकेटको महारथीमाथि जित हासिल गर्ने क्रममा ६ वर्षअघि मैदान उत्रिएकामध्ये ६ खेलाडी अहिले पनि नेपाली टोलीमा छन्। त्यति बेला भारतलाई हराउने कप्तान ऐरी, विकेटकिपर आसिफ शेख, भीम सार्की, किशोर महतो, सन्दीप लामिछाने र रोहित पौडेल वर्तमान नेपाली टोलीका मुख्य हतियार हुन्। रोहित त वर्तमान नेपाली टोलीका कप्तान हुन्।  

प्रकाशित: १८ भाद्र २०८० ०१:२० सोमबार

इतिहासमा नयाँ अध्याय लेख्ने अवसर उत्कृष्ट अलराउन्ड प्रदर्शन