खेल

मेसीको गोलमा बार्सिलोना विजयी

मड्रिड- बार्सिलोनाले घरेलु स्पेनिस ला लिगामा लगातार दोस्रो जित हासिल गर्ने क्रममा शनिबार आल्भेसलाई २–० को नतिजामा निराश पारेको छ। अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीले पहिलो हाफमा प्राप्त पेनाल्टी खेर फाले पनि दोस्रो हाफमा दुई गोल गरेपछि बार्सिलोनाको जित सम्भव भएको थियो।

३९औं मिनेटमा मेसीको पेनाल्टी आल्भेसका गोलकिपर फर्नान्डो पाचेकोले रोकेपछि बार्सिलोना निराश बनेको थियो। मेसीले खेल जीवनमा पेनाल्टी खेर फालेको यो २०औं पटक हो।

तर ५५ र ६६औं मिनेटमा गोल गर्दै मेसीले बार्सिलोनाको जित पक्का गरेका थिए। जोर्डी अल्बाको पासमा पहिलो गोल गरेका मेसीले फर्नान्डो अल्कासरको पासमा अग्रता दोब्बर पारेका थिए।

यस जितपछि दुई खेलमा ६ अंक जोडेको बार्सिलोना ला लिगाको दोस्रो स्थानमा छ। समान खेलमा समान अंक जोडेको रियाल बेटिस शीर्ष स्थानमा छ।

यता कोकेको दुई गोलप्रेरित एट्लेटिको मड्रिडले सिजनको पहिलो जित दर्ता गर्ने क्रममा लस पाल्मसलाई ५–१ को नतिजामा निराश बनायो। एट्लेटिकोले पाँच मिनेटभित्र २–० को अग्रता लिएको थियो।

तेस्रो मिनेटमा एन्जेल कोरियाको गोलमा अग्रता लिएको एट्लेटिकोका लागि त्यसको दुई मिनेटपछि यानिक फेरेरा कारास्कोले दोस्रो गोल गरेका थिए।

५८औं मिनेटमा जोनाथन कालेरीले गोल गर्दै पाल्मसलाई खेलमा फर्काउने प्रयास गरेका थिए। तर ६२ र ७५औं मिनेटमा कोकेले दुई गोल गर्दै एट्लेटिकोको अग्रता ४–१ मा पुर्‍याए। ८१औं मिनेटमा जोनाथन भिएरा पेनाल्टीमा गोल गर्न चुक्दा पाल्मसले अग्रता कम गर्ने मौका खेर फालेको थियो।

 ८८औं मिनेटमा थोमसले गोल गरेपछि एट्लेटिकोले सानदार जित हात पारेको हो। स्पेनिस ला लिगामा शनिबारै सम्पन्न अन्य खेलमा जिरोनाले मालागालाई १–० को नतिजामा पराजित गर्दा डेपोर्टिभो ला कोरुना र लेभान्टेले २–२ को बराबरीमा चित्त बुझाए।

प्रकाशित: १२ भाद्र २०७४ ०४:५९ सोमबार

मेसीको गोलमा बार्सिलोना