खेल

बिहीबारदेखि विद्यालयस्तरीय व्याडमिन्टन प्रतियोगिता

कास्की जिल्ला व्याडमिन्टन संघको आयोजनामा आगामी बिहीबारदेखि १९ औं संस्करणको अन्तर विद्यालयस्तरीय व्याडमिन्टन प्रतियोगिता हुदैं छ। संघले वर्षेनी संस्थापक अध्यक्ष समेत रहेका इन्द्रबहादुर गुरुङको स्मृतिमा विद्यालयस्तरीय प्रतियोगिता आयोजना गर्दै आएको छ। प्रतियोगिता भदौ २१, २२ र २३ गते पोखरा रंगशालास्थित व्याडमिन्टन हलमा हुने छ।  

विद्यालयस्तरीय प्रतियोगिताको लागि कास्कीस्थित प्याब्सन तथा एनप्याब्सनलाई पत्रचार गरिसकिएको कास्की जिल्ला व्याडमिन्टन संघका अध्यक्ष शुशिलकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार छात्र तथा छात्राको एकल र युगल इभेण्टमा प्रतिस्पर्धा गराईने छ।  

अध्यक्ष श्रेष्ठका अनुसार कक्षा ५ सम्म अध्ययनरत छात्र तथा छात्राको एकल प्रतिस्पर्धा हुने छ। त्यसैगरी कक्षा ६, ७ र ८ मा अध्ययन गर्ने छात्र तथा छात्राको पनि एकल प्रतिस्पर्धा गराईने संघले जनाएको छ। कक्षा ९ र १० मा अध्ययनरत छात्र तथा छात्राको पनि एकल प्रतिस्पर्धा हुने उनले जानकारी दिए। कक्षा ११ र १२ मा अध्ययनरत छात्र तथा छात्राको एकल तथा युगल(डबल्स)मा प्रतिस्पर्धा गराईने अध्यक्ष श्रेष्ठले बताए।  

प्रतियोगितामा उत्कृष्ठ विद्यालयले शिल्ड, पदक तथा प्रमाणपत्र प्राप्त गर्ने छ। प्रतियोगितामा छात्र तथा छात्रा इमर्जिङ खेलाडी माउण्टेन बाईक(साईकल) प्राप्त गर्ने कास्की जिल्ला व्याडमिन्टन संघले जनाएको छ। प्रतियोगिता पोखरा रंगशालास्थित व्याडमिन्टन हलको चारवटै कोर्टमा खेलाईने छ। नकाउटको आधारमा खेलाईने प्रतिस्पर्धामा कास्कीका सरकारी तथा निजी विद्यालयका विद्यार्थीले सहभागिता जनाउने छन।  

प्रकाशित: १६ भाद्र २०८० ०९:२६ शनिबार

विद्यालयस्तरीय व्याडमिन्टन