खेल

रोनाल्डो युरोपका उत्कृष्ट

मोनाको- पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो बिहीबार लगातार दोस्रो पटक युइएफए वर्ष खेलाडीको अवार्ड जित्न सफल भएका छन्। दोस्रो पटक युइएफए वर्ष खेलाडीको अवार्ड जित्ने क्रममा रोनाल्डोले चीर प्रतिद्वन्द्वी बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसी र युभेन्ट्सका कप्तान तथा गोलकिपर जियानलुइजी बुफोनलाई पछि पारे।

गत सिजन रियाल मड्रिडलाई च्याम्पियन्स लिग र स्पेनिस ला लिगा गरि दोहोरो उपाधि जिताएका रोनाल्डोले युइएफए वर्ष खेलाडीको अवार्ड जितेको यो तेस्रो पटक हो। यसअघि उनले सन् २०१३–१४ र सन् २०१५–१६ को सिजनमा पनि युइएफए वर्ष खेलाडीको अवार्ड जितेका थिए।

त्यस्तै बुफोनले युइएफए वर्षका उत्कृष्ट गोलकिपरको उपाधि जित्दा, रियालका कप्तान सर्जियो रामोस युइएफए वर्षका उत्कृष्ट रक्षक र लुका मोडरिच वर्षका उत्कृष्ट मिडफिल्डर घोषित भए।

प्रकाशित: १० भाद्र २०७४ ०३:५६ शनिबार

रोनाल्डो युरोपका उत्कृष्ट