खेल

‘अब प्रश्न ममाथि उठ्नेछन्’

प्रादेशिक क्रिकेट संघ बागमति प्रदेशको अध्यक्षमा निर्वाचित नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले यसअघि आफैंले उठाउँदै आएको परिवर्तनका प्रश्न अब आफूमाथि उठ्ने बताएका छन्।

ललितपुरस्थित धोबीघाटमा शुक्रबार सम्पन्न प्रादेशिक क्रिकेट संघ बागमति प्रदेशको दोस्रो साधारणसभा तथा निर्वाचनबाट प्यानलसहित विजयी भएका पारसले पदमा आएपछि आफूमाथि पनि सकरात्मक परिर्वनका प्रश्न उठ्ने धारणा राखेका हुन्। पूर्वकप्तान पारसले अध्यक्ष पदका अर्का आकांक्षी चितवनका उमेश पियालाई ९ मतले हराएका थिए। बागमति प्रदेश क्रिकेट संघका ६ जिल्लामध्ये चार जिल्लाले यसअघि नै पत्रकार सम्मेलनमार्पmत पारसको नेतृत्वमा प्रदेश निर्वाचनमा होमिने सर्वाजनिक गरेको थियो। सोहीअनुरूप चार जिल्लाले नै पद बाँडेर निर्वाचन लड्ने घोषणा गरेका थिए। निर्वाचनमा पनि चार जिल्लाकै उम्मेदवारले जित्दा चितवन र नुवाकोट भने बाहिरियो। पारसको प्यानलमा उठेका सबैले समान २३ मत पाए। १२ पदका लागि निर्वाचन हुँदा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी पूर्वकप्तान नीरा राजोपाध्याय भने सदस्यमा निर्विरोध चयन भइन्। कुल ३७ जना प्रतिनिधिले नै मतदानमा भाग लिएका थिए। त्यसमध्ये पारसले २३ मत र उमेशले १४ मत पाए। अन्य पदमा पनि यही अनुपात जित-हारको निर्णय भयो।  

उपाध्यक्षमा प्रेमबहादुर क्षेत्री २३ मत प्राप्त उनका प्रतिद्वन्द्वी रूपक रञ्जितले १४ मत पाए। सचिवमा प्रशन्न शाक्य २३ मतसहित निर्वाचित भए। उनका प्रतिद्वन्द्वी प्रज्वल सापकोटाले १४ मत मात्र प्राप्त गरे। कोषाध्यक्ष पदमा सञ्जय बस्नेत २३ मतका साथ विजयी हुँदा विजय बोहोराले १४ मत प्राप्त गरे। सदस्य पदमा पारसकै प्यानलका अजयवीर पाण्डे, अनिल अधिकारी, सञ्जोग श्रेष्ठ, सुजन महर्जन, धीरज श्रेष्ठ, शेखर श्रेष्ठ र वसन्तराज सत्यालले समान २३ मत प्राप्त गर्दा जितका लागि पर्याप्त भयो।  

निर्वाचित भएपछि पारसले चार वटा जिल्लाको टिमले ३-५ महिनादेखि तयारी गरेको र सोही टिम वर्कका कारण जित सम्भव भएको बताए। पहिलोपटक निर्वाचनमा भाग लिएको उल्लेख गर्दै उनले दुई दशकदेखि क्रिकेट खेले पनि निर्वाचनमा जाँदा केही फरक अनूभुती भएको प्रतिक्रिया दिए। खेल्न छाडेपछि क्रिकेटमा पदाधिकारीका रूपमा काम गर्ने सुरुआत भएको पनि उनको धारणा थियो।  

क्यानमा उठ्ने पारसको संकेत

आगामी असोज ५ र ६ गते काठमाडौंमा नेपाल क्रिकेट संघ(क्यान) को महाधिवेशन हुँदै छ। शुक्रबार बागमतिले नयाँ नेतृत्व पाएसँगै सबै प्रदेशको निर्वाचन सम्पन्न भएको छ। केन्द्रीय निर्वाचनमा पारसले पनि दाबेदारी दिने चर्चा चलिरहेको भन्ने प्रश्नमा उनले प्रदेशका नयाँ निर्वाचित टोलीसँग छलफल गरेर अगाडि बढ्ने बताएका छन्। 

प्रकाशित: १६ भाद्र २०८० ०२:२२ शनिबार

‘अब प्रश्न ममाथि उठ्नेछन्’ पूर्वकप्तान पारस खड्का