खेल

नेपाल यु–१५ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश (फोटो फिचर)

काठमाडौ– भारतलाई २–१ को नतिजा सुम्पिएको नेपाल समूह ‘बि’ को उपविजेताका रुपमा साफ यु–१५ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।

पहिलो खेलमा माल्दिभ्सलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरिसकेपनि समूह विजेताको लागि भएको भिडन्तमा भारतले बाजी मारेको हो।

बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भारतको जितमा कप्तान विक्रम प्रताभ सिंहले दुई गोल गरे। नेपालका कप्तान रोशन रानामगरले सान्त्वना एक गोल गरे।

२७ औं  मिनेटमा कप्तान विक्रम प्रताभ सिंहले गरेको गोलमा भारतले अग्रता लिएको थियो। स्ट्राइकर बिके ओरामले गरेको प्रहार नेपालका गोलकिपर विशाल सुनारले नियन्त्रण लिन नसक्दा प्राप्त बललाइए सिंहले पोस्टको दिशा दिएका थिए।

४१ औं मिनेटमा कप्तान रानामगरले पेनाल्टीमा गोल गर्दै नेपाललाई खेलमा फर्काएका थिए । पहिलो प्रहार भारतका गोलकिपर लाल ब्याकलुवा जोङतीले रोकेपनि रिबाउन्डमा प्राप्त बललाई उनले जाली चुमाएका थिए। भारतका रक्षक मियोराङथेम थोइबा सिंहले स्ट्राइकर आकाश बुढामगरलाई पेनाल्टी बक्समा लडाउँदा नेपालले पेनाल्टीको अवसर पाएको थियो।

६५ औं मिनेटमा सिंहले गोल गर्दै भारतको जित पक्का गरेका थिए । उनले स्ट्राइकर गिभसोन सिंह मियोराङथेमको फ्रि–किकलाई हेड गर्दै जाली चुमाएका थिए।

सेमिफाइनमा नेपालले शुक्रबार समूह ‘ए’ को विजेता बंगलादेशसँग एन्फा कम्प्लेक्स सातदोबाटोमा खेल्नेछ। त्यस्तै भारतले शुक्रबारै समूह ‘ए’ को उपविजेता भुटानसँग हलचोक मैदानमा प्रतिस्पर्धा गर्नेछ।

सबै तस्बिरहरु: प्रबिन कोइराला

 

नेपाल यु–१५ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश फोटो फिचर