खेल

ताप्लेजुङ गोल्डकप: सुनसरीको जुट विकास सेमिफाइनलमा

गृह टिम मानाभरा स्पाेटिङ क्लब ताप्लेजुङलाई ट्राईबेक्ररमा हराउँदै इटहरी सुनसरीको जुट विकास फुटबल एकेडेमी ताप्लेजुङ गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ।

जुट विकास फुटबल एकेडेमीले मानाभरा स्पाेटिङ क्लबलाई ट्राई बेक्ररमा ५–४ ले पराजित गर्‍यो। दुवै टिमले खेल अवधिमा १–१ को बराबरी खेलेपछि खेल ट्राई बेक्ररतर्फ धकेलिएको थियो। जुट विकासका रोहन कार्कीले खेलको २६ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए।

विपक्षी टिमका खेलाडीले गोलपोष्ट भन्दा करिब २५ यार्ड टाढा फाउल गरेपछि प्राप्त भएको फ्रि–किकलाई गोलमा परिणत गर्दै जुट विकासका रोहनले बनाएको अग्रता खेलको ७२ औं मिनेट सम्म टिक्यो।

खेलको ७३ औं मिनेटमा जुट विकासको झैँ मानाभरा स्पाेटिङ क्लबले पनि सोही प्रकृतिका आधारमा फ्रि–किकको मौका पायो। त्यो मौकालाई मानाभराका लखन लिम्बूले खेर फालेनन्। फ्रि–किकलाई गोलमा परिणत गर्दै लखनले टिमलाई बराबरीमा ल्याए। त्यसपछि दुवै टिमले रक्षात्मक खेल खेले। तर गोल थप्न सकेनन्। र खेलको निर्णय ट्राई बेक्ररबाट गरियो।

मध्य क्रमबाट विपक्षी पोष्टतर्फ गोल अघि बढाए पनि ‘थर्ड लाइन’ मा देखिएको कमजोरी सुधार गर्न नसक्दा गृह टिम यस वर्षको गोल्डकपबाट बाहिरिएको छ। अधिकांश डिभिजन लिग खेलेका खेलाडीको साथ पाएको जुट विकास फुटबल एकेडेमीको दरिलो रक्षापंक्ति गृह टिमका लागि गोल गर्न बाधक बन्यो। फलस्वरूप पहिलो खेलमै गृह टिमलाई स्तब्ध पार्दै जुट विकास सिधै सेमिफाइनलमा प्रवेश गरेको छ।

८ टिम सहभागी प्रतियोगिताको दोस्रो दिनको खेलमा रेडहर्ष स्पाेटिङ क्लब इलाम र गोर्खा स्पोर्टिङ क्लब दमक आमनेसामने हुँदैछन्। पहिलो खेल जितेको जुट विकास फुटबल एकेडेमी भने अब फाइनल प्रवेशका लागि शनिबार हुने फिदिम स्पाेटिङ क्लब पाँचथर र मोरङको पथरी–११ फुटबल क्लबको विजेतासँग भदौ १८ गते भिड्ने छ।

यसअघि प्रतियोगिताको उद्घाटन गर्दै फुङलिङ नगरप्रमुख अमिर मादेनले ताप्लेजुङमा सार्वजनिक खुल्ला मञ्च र मैदानको आवश्यकता महसुस गरेर नगरपालिकाले सार्वजनिक खुल्ला मञ्च खरिदको प्रक्रिया अघि बढाएको बताए।

उनले यसअघिका जनप्रतिनिधिहरुको अगुवाइमा फुङलिङ नगरपालिका वडा नं २ मा निर्माण कार्य सुरु गरेको रङ्गशालाको संरक्षण र जर्गेनामा समेत ध्यान दिएर निर्माणका बाँकी काम अघि बढाउने बताए।

कार्यक्रममा पाथीभरा याङ्वरक गाउँपालिका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र (गणेश) मावो र फुङलिङ नगरपालिकाको सामाजिक विकास समितिका संयोजक क्षितिज सुनुवारले लाखे जात्राको अवसरमा ताप्लेजुङमा हुने फुटबलको निरन्तरताका लागि छोटो समयकाबीच आयोजक पक्षले गरेको मेहनेतले प्रतियोगिता सुरुआत हुन टेवा पुगेको बताए।

आयोजक लाखे जात्रा खेल सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङले यो प्रतियोगिताको भव्य सुरुआतको मुख्य श्रेय सबै सहयोगी मन भएको बताए।

‘सहयोगी मनको मत मिल्नु नै आयोजक पक्षलाई काम गर्न उत्साहित र प्रोत्साहित गर्ने माध्यम हो’ गुरुङले भने। 

उनले सहयोगी मनको उदार भाव, स्वयंसेवीहरूको सक्रिय र क्रियाशील कार्य र दाताहरुबाट प्राप्त सहयोगको सहकार्य प्रतियोगिताको भव्य सुरुआतको आधार भएको बताए।

लाखे जात्रा खेल सञ्चालन समितिका वरिष्ठ उपाध्यक्ष प्रकाश मादेनले खेलको भव्य सुरुआतलाई निरन्तरता दिनका लागि सबैसँग आग्रह गरेका छन्। प्रतियोगिताको सबै प्राविधिक सहयोग जिल्ला फुटबल संघले गरेको छ। प्रतियोगितामा प्रथम हुनेले नगद ३ लाख ११ हजार १ सय ११ रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ।

उप-विजेता टिमले नगद १ लाख ५१ हजार १ सय ११ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउने छ। यो रकम यसअघिकै प्रतियोगितामा घोषित रकम हो। २०२९ सालबाट विभिन्न नाममा सञ्चालन हुँदै आएको प्रतियोगिता पछिल्लो समय लाखे जात्रा खेल सञ्चालन समितिका नामबाट निरन्तर बढ्दै आएको छ।

२०७७ र २०७८ सालमा कोरोना संक्रमणका कारण र २०७९ सालमा प्रतियोगिता सञ्चालन स्थल भानुजन माविको खेल मैदान पुनर्निर्माण सहितका कारणबाट प्रतियोगिता रोकिएको लाखे जात्रा सञ्चालन समितिले जनाएको छ।

प्रकाशित: १४ भाद्र २०८० १३:५१ बिहीबार

ताप्लेजुङ गोल्डकप