खेल

बुन्डेसलिगामा भिडियो रेफ्रीको प्रयोग

बर्लिन- साबिक विजेता बायर्न म्युनिखले शुक्रबार राति बायर लेभरकुसेनलाई ३–१ ले हराउँदै बुन्डेसलिगामा सुखद सुरुआत गरेको छ। बुन्डेसलिगमा पहिलो पटक भिडियो सहायक रेफ्री (भिएआर) प्रविधिको प्रयोग भएको छ।  भिएआरकै सहयोगमा  मध्यान्तरपछि प्राप्त पेनाल्टीलाई बायर्नका स्ट्राइकर रोबर्ट लेवान्डोवस्कीले गोलमा परिणत गरेका थिए।

५३औं मिनेटमा लेवान्डोवस्कीलाई चार्ल्स अरानग्युजले पेनाल्टी बक्समा फाउल गरे पनि रेफ्रीले बायर्नलाई पेनाल्टी दिएनन्। तर भिएआर प्रविधिको सहयोगमा बायर्नले पेनाल्टीको अवसर पायो र उक्त अवसरलाई सदुपयोग गर्दै लेवान्डोवस्कीले बायर्नको अग्रता ३–० मा पुर्‍याएका थिए।

यसअघि नवौं मिनेटमा रक्षक निकाल्स सुईको हेड गोलमा बायर्नले अग्रता लिएको थियो। उनले सवास्टियन रुडेको पासलाई गोलमा परिणत गरेका थिए। १९औं मिनेटमा अर्टुरो भिडालको पासमा मिडफिल्डर क्रोन्टिन टोलिसोले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारेका थिए। त्यसलगत्तै उनले टोलीको अग्रता बढाउने सुनौलो मौका खेर फालेका थिए। उनको प्रहार पोस्टमा लागेर फर्किएको थियो।

६५औं मिनेटमा एडमिर मेहमदीले जुलियान बर्नाटको पासमा गोल गर्दै लेभरकुसेनलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त भएन।

‘यो मेरा लागि विशेष दिन रह्यो। नयाँ क्लबका लागि पहिलो खेलमा पहिलो गोल गर्नु खुसीको कुरा हो,’ सुईले भने। लेभरकुसेनका रक्षक जोनाथन थाले पहिलो हाफमा टोलीले कमजोर प्रदर्शन गरेको बताए। ‘पहिलो हाफमा हाम्रो प्रदर्शन खराब रह्यो र हामीले आफ्नै गल्तीमा गोल खायौं,’ थाले भने। वर्षाका कारण दोस्रो हाफको खेल १५ मिनेट रोकिएको थियो।

गत सिजन बुन्डेसलिगामा आफ्नो दबदबा कायम राख्दै लगातार पाँचांै पटक उपाधि जितेको बायर्नले यस सिजन पनि उक्त लयलाई निरन्तरता दिने संकेत गरेको छ। केही साता आरबी लिपजिगभन्दा तल रहे पनि बायर्नले अन्ततः गत मेमा १५ अंकको अन्तरमा लिग उपाधि कब्जा गरेको थियो।

दोस्रो हाफमा बायर्नका गोलकिपर स्भिन उल्रिजले बर्नाट र डोमिनिक कौरको प्रहार विफल पारेपछि लेभरकुसेन निराश बनेको थियो।

प्रकाशित: ४ भाद्र २०७४ ०४:४२ आइतबार

बुन्डेसलिगामा भिडियो रेफ्रीको प्रयोग