खेल

ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक

ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ । यहि बिहीवार जनैपूर्णिमाको दिनदेखि फुङलिङस्थित भानुजन माध्यमिक विद्यालय अम्बिटारको खेल मैदानमा सुरु हुने गोल्डकपको उद्घाटन खेलमा घरेलु टोली ताप्लेजुङको मानाभरा स्पोर्टिङ क्लब र आमन्त्रित जुट विकास फुटबल एकेडेमी ईटहरीबीच प्रतिस्पर्धा हुनेछ ।  

आयोजक लाखेजात्रा खेल सञ्चालन समितिका सचिव टिकेन्द्र नेपालीका अनुसार भदौ १५ गते हुने दोस्रो खेलमा इलामको रेडहर्ष फुटबल क्लव र झापास्थित गोर्खा स्पोर्टिङ क्लब आमनेसामने हुनेछन् ।  

भदौ १६ गते पाँचथरको फिदिम स्पोर्टिङ क्लवको भेट मोरङको पथरी–११ फुटबल क्लबसँग हुने छ । भदौ १७ गते रेडस्टार फुटबल क्लव बिर्तामोड झापाले र भारतको दार्जिलिङ युनाईटेड खर्साङ फुटबल क्लवसँग पहिलो चरणको अन्तिम प्रतिस्पर्धा गर्नेछ । भदौ १८ र १९ गते सेमिफाईनल चरणका खेल हुनेछन् ।  

लाखेजात्राको अवसरमा सञ्चालन गर्न लागिएको गोल्डकपको फाईनल तथा अन्तिम खेल भदौ २० गते श्रीकृष्ण जन्माष्टमीको दिन हुनेछ ।  

प्रतियोगिताको विजेताले ३ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपबिजेताले १ लाख ५१ हजार १ सय ११ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने आयोजकले बताएको छ ।  

आयोजक संस्थाले प्रतियोगिताको पहिलो चरणका खेलका लागि १ सय ५० रुपैयाँ, सेमी फाईनलका खेलहरूका लागि २ सय र फाइनल खेलका लागि २ सय ५० रुपैयाँ प्रवेश शुल्क निर्धारण गरेको जनाएको छ ।  

आयोजक लाखेजात्रा खेल सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङका अनुसार खेल सञ्चालनका लागि करिव ४७ लाख रुपैयाँ खर्च हुने अनुमान छ । खेल मैदान व्यवस्थापनमै धेरै रकम खर्च भइसकेको गुरुङले जानकारी दिए ।  

प्रतियोगिताको दोस्रो पुरस्कारको प्रायोजन फुङलिङ निवासी स्वर्गीय भीमप्रसाद मादेनका परिवार र आफन्तजनले गर्ने भएका छन् ।  

प्रकाशित: ११ भाद्र २०८० ०५:५९ सोमबार

ताप्लेजुङ गोल्डकप