खेल

मैत्रीपूर्ण फुटबलमा नेपालको जित

काठमाडौं- एएफसी एसिया कप छनोट प्रतियोगिताको तयारीका लागि जापान भ्रमणमा रहेको नेपाली फुटबल टोलीले बुधबार दोस्रो   मैत्रीपूर्ण खेलमा जित हात पारेको छ। नेपालले ख्वानसेइ गाकुइन विश्वविद्यालयलाई २–१ ले पराजित गरेको हो।

यसअघि आइतबार सम्पन्न पहिलो खेलमा नेपाल ओसाका यु–२३ सँग १–१ को बराबरी खेलेको थियो।

नेपालको जितमा विमल घर्तीमगर र सुमन लामाले समान एक गोल गरेका थिए। कौबे विश्वविद्यालयको रंगशालामा सम्पन्न खेलको १२औं मिनेटमा विमलले गरेको गोलमा नेपालले अग्रता लिएको थियो। तर २५औं मिनेटमा ख्वानसेइ गाकुइन खेलमा फर्किएको थियो।

दोस्रो हाफको अतिरिक्त समयमा सुमनले गोल गर्दै नेपालको जित पक्का गरेका थिए।

नेपालले १० दिने जापन भ्रमणमा ५ मैत्रीपूर्ण खेल खेल्नेछ। पछिल्लो पटक सन् १९९७ मा जापान गएको नेपाली टोलीको दुई दशकपछि यो पहिलो भ्रमण हो। नेपालले बिहीबार एमिती स्पोटर््स क्लब,शुक्रबार हनान विश्वविद्यालय र  शनिबार गते भिसेल कोबेको यु–१८ टोलीविरुद्ध खेल्नेछ। जापान भ्रमणका दौरान नेपाली टोलीले जे–लिगको एक खेल हेर्नेछ।

एसिका कप छनोट प्रतियोगिताअन्तर्गत नेपालले भदौ २० गते ताजकिस्तानविरुद्ध काठमाडौंमा प्रतिस्पर्धा गर्नेछ। एएफसी एसिया कप छनोट प्रतियोगिताको समूह ‘डी’ मा रहेको नेपालले फिलिपिन्स भ्रमणमा ४–१ को नतिजा बेहोरेको थियो भने यमनसँग घरेलु मैदानमा गोलरहित बराबरी खेलेको थियो।

प्रकाशित: १ भाद्र २०७४ ०३:१० बिहीबार

मैत्रीपूर्ण फुटबलमा नेपालको जित