खेल

‘रंगशाला पुनर्निर्माणमा राखेप बाधक’

काठमाडौं- युवा तथा खेलकुद मन्त्रालयका सविच महेशप्रसाद दाहालले दशरथ रंगशालामा पुर्निर्माणको जिम्मा सेनालाई दिने काममा रष्ट्रिय खेलकुद परिषद् (राखेप) बाधक बनेको आरोप लगाए । व्यवस्थापिका संसद्को महिला बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिअन्तर्गतको युवा तथा खेलकुद उपसमितिलाई जबाफ दिने क्रममा मंगलबार सचिव दाहालले सो आरोप लगाएका हुन् । उनले रंगशाला पुनर्निर्माणका लागि चीन सरकार सहयोग गर्न तयार रहेको सङ्केत पनि दिए  । ‘हामीले अहिलेसम्म आधिकारिक प्रस्ताव पाइसकेका छैनौं । तर, दशरथ रंगशाला द्रुत गतिमा पुनर्निर्माणका गर्नका लागि चिनियाँ सरकार सहयोग गर्न इच्छुक छ, ’ उनको भनाइ थियो ।

सो अवसरमा युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले विभागीय क्लब (त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बल र नेपाल पुलिस क्लब)हरूको भौतिक संरचना प्रयोग गरेर भए पनि दक्षिण एसियाली खेलकुद (साग) को आयोजना गरेरै छाड्ने बताए ।

मन्त्री केसीले सागका लागि विभागीय क्लबका उच्च अधिकारीहरूसँग उपलब्ध भौतिक संरचनाको स्थितिबारे मन्त्रालय छलफल गर्ने तयारीमा रहेकोे जानकारी दिए ।

‘साग आयोजना गर्नु राष्ट्रिय गौरवको विषय हो । त्यसैले भौतिक संरचनाकै कारण हामी यो अवसर गुमाउने पक्षमा छैनौं,’ मन्त्री केसीले थपे, ‘हामीसँग भएका संचरनाले नपुग्ने भए विभागीय टोलीका संरचनाहरू प्रयोग गर्न सक्छौं ।’

काठमाडौंमा बसेको दक्षिण एसियाली काउन्सिलको बैठकले २०१९ मार्च ९ बाट १८ सम्म नेपालमा साग गर्ने निर्णय गरेको थियो । त्यसअघि गुवाहटीमा सम्पन्न १२औं सागको समापन समारोहमा नेपालले २०१८ मा प्रतियोगिता गर्ने गरी झन्डा लिएर आएको थियो । आयोजनाका लागि करिब डेढ वर्ष मात्र बाँकी रहँदा नेपालले भएको एक मात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशालाको पुनर्निर्माण गर्ने सकेको छैन । दुई वर्षअघि भूकम्पले क्षति पु¥याएको दशरथ रंगशालाको आधा प्यारापिट भत्काएर बनाउनुपर्नेछ भने भिआइपीतिरको प्यारापिट रेक्टोफिटिङ गर्नुका साथै नयाँ छानो हाल्नुपर्नेछ । तर अहिलेसम्म त्यो भत्काउन पनि सुरु भएको छैन ।

तर, मन्त्री केसीले दशरथ रंगशालाको पुनर्निर्माणमा सहयोग गर्ने र त्यसमा उद्घाटन र समापन समारोह आयोजना गर्न सकिने बताए । ‘पुनर्निर्माणका लागि हामीसँग समय एकदम कम छ । त्यसैले हामीले सबै काम फास्ट ट्र्याकमा गरिरहेका छौं । त्यसका लागि हामीले नेपाली सेनाको सहयोग लिन खोज्दै छौं ।’

उपसमितिका संयोजक मोहनकुमार राईले मन्त्रीलाई व्यवस्थित कार्ययोजना बनाउनका लागि साग आयोजना मूल कमिटीको बैठक बस्न सुझाव दिए । पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा  प्रमको संयोजकत्वमा साग आयोजना मूल समारोह समिति र मन्त्रीको संयोजकत्वमा तयारी समिति गठन भएको थियो । संयोजक राईले सबै सरोकारवालालाई समेटेर अर्को बलियो कमिटी बनाउन सुझाए । उनले ओलम्पिक कमिटीको आधिकारिकता विवादले साग आयोजना गर्ने अवसर नेपालबाट फुत्किन सक्ने चेतावनी दिए ।

‘ओलम्पिक विवाद समाधान नगरी साग आयोजनाको तयारीले पूर्णता पाउन सक्दैन,’ संयोजक राईले थपे, ‘यो विवादलाई समयमै समाधान गर्न सकिएन भने साग अयोजनाको अवसर गुम्न पनि सक्छ ।’

प्रकाशित: ३२ श्रावण २०७४ ०२:१८ बुधबार

रंगशाला पुनर्निर्माणमा राखेप बाधक