खेल

खेलकुदमन्त्रीको पुरानै प्रतिबद्धता

रियो ओलम्पिककी कान्छी खेलाडी पौडीकी गौरिका सिंह (बायाँ) लाई स्वागत गर्दै खेलकुद मन्त्री राजेन्द्रकुमार केसी ।

काठमाडौं – युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले हरिहर भवनस्थित निवासमा आयोजित सम्मान, स्वागत तथा भेटघाट कार्यक्रममा पुगेका दक्षिण एसियाली तथा एसियाली खेलकुदका पदक विजेता खेलाडीलाई पुरानै प्रतिबद्धता सुनाएर पठाएका छन् ।

पदभार ग्रहण गरेदेखि नै खेलकुदमा राजनीति हाबी हुन नदिने बताउँदै आएका केसीले मंगलबार पनि त्यही प्रतिबद्धता दोहो¥याए । ‘मैले सुनेको छु खेलकुदमा धेरै राजनीति हुन्छ । अबदेखि खेलकुदमा कुनै पनि राजनीति हुन दिन्नँ,’ मन्त्री केसीले भने, ‘म आफँै पनि कांग्रेस पार्टीबाट मन्त्री बनेको छु । तर म कांग्रेसलाई सहयोग गर्न नभई समग्र खेलकुदको विकास तथा खेलाडीको हितमा काम गर्न आएको हुँ ।’

खेलक्षेत्रमा राजनीति हाबी भएकाले प्रतिभावान् खेलाडी पनि पलायन हुनुपर्ने अवस्था आएको भन्दै मन्त्री केसीले आफ्नो कार्यकालमा त्यस्तो हुन नदिने प्रतिबद्धता व्यक्त गरे । उनले थपे, ‘तपाईं खेलाडीहरु कडा परिश्रम र मिहिनेतबाट यो अवस्थामा आइपुग्नुभएको छ । खेलाडीमाथि राजनीति गरेर विभेद र अन्याय हुन्छ भन्ने सुनेको छु । तर, म तपार्ईंहरूको हौसला र ऊर्जालाई कुनै पनि हालतमा मर्न दिन्नँ । मेरा कारण खेलाडीको शिर झुकाउनुपर्ने अवस्था आउनेछैन ।’

आफ्नै कार्यकालमा सात प्रदेशमा सातवटा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने बताएका मन्त्री केसीले एक साताभित्र कीर्तिपुरमा ‘मल्टिपरपोज’ कभर्डहलको शिलान्यास हुने बताए । उनले १३औं दक्षिण एसियाली खेलकुद आयोजनामा भैतिक पूर्वाधार मुख्य चुनौती भएको स्वीण्कार गरे ।
‘हामीसँग समय धेरै छैन । यसबारे मैले खेलकुद पुर्वाधार भएका अन्य निकाय (नेपाली सेना, पुलिसलगायतका)सँग छलफल गरिरहेको छु,’ भूकम्पले क्षति पु¥याएको दशरथ रंगशालाको अवस्थाबारे संकेत गर्दै मन्त्री केसीले थपे, ‘त्यसै त हामीसँग कम पूर्वाधार छन् । त्यसमध्ये पनि कतिपय क्षतिग्रस्त छन् । पोखरालाई पनि हामीले विकल्पका रूपमा हेरेका छौं ।’

त्यसअघि कीर्तिमानी धावक वैकुण्ठ मानन्धरले १३औं सागको मिति नजिक आइसक्दा पनि भौतिक पूर्वाधारको अवस्था दयनीय भएको गुनासो गरेका थिए । ‘सागको मिति घोषणा भएको डेढ वर्ष भइसक्यो । तर कुनै पूर्वाधार बनेका छैनन्,’ मानन्धरले भने, ‘पहिलो साग आयोजना हुँदा जति पूर्वाधार थिए, अहिलेको अवस्था त्योभन्दा पनि नराम्रो छ ।’

वैकुण्ठ मानन्धरदेखि गौरिका सिंहसम्मको उपास्थिति रहेको कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्डबाट पारित खेलाडी सुविधा कार्याविधिलाई मन्त्रिपरिषद्बाट पनि पारित गराउन ध्यानाकर्र्षण गराए । श्रेष्ठले खेलाडीको सामाजिक सुरक्षाको विषयलाई गहन रूपमा लिन आग्रह गरे । खेलाडीले शिक्षा, स्वास्थ्य तथा यातायातमा छुट पाउनुपर्नेमा जोड दिँदै मन्त्री केसीलाई खेलाडीको हितमा काम गर्न आग्रह गरे ।

ओलम्पियन तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका पूर्वअध्यक्ष दीपक विष्टले मन्त्रीले २४ दिनभित्र अनुभव हुने गरी काम गर्छु भनेको स्मरण गराउँदै खेलाडी सुविधा कार्याविधि मन्त्रिपरिषद्बाट पास गराउन आग्रह गरे । 

‘यो कार्यविधि हामीले राखेप बोर्डबाट पास गराइसकेका छौं । अब मन्त्रिपरिषद्बाट पारित हुन बाँकी छ,’ विष्टले भने, ‘यो कार्याविधि क्याबिनेटबाट पास भयो भने तपाईंले भन्नुभएजस्तै हामीले काम भएको अनुभव गर्ने थियौं ।’ 

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले आफू पनि मार्सल आर्टको विद्यार्थी भएको भन्दै खेलाडीको हितका लागि मन्त्रिपरिषद् बैठकमा आउने प्रस्ताव पारित गराउनका लागि आफूले भमिका खेल्ने बताए । 

‘देशलाई अन्र्तराष्ट्रिय स्तरमा चिनाउने सबैभन्दा ठूलो संगठन खेलक्षेत्र हो । तर, खेलकुदले सही नेतृत्व नपाउँदा यो क्षेत्र अहिलेको अवस्थामा छ,’ नेपाल सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री बस्नेतले भने, ‘वैकुण्ठ मानन्धरजस्ता खेलाडीहरूले त्यो बेला चिया विस्कुट खाएर पनि यत्रो उपलब्धि हासिल गर्नुभयो । खेलाडीले गर्न नसक्ने भन्ने केही छैन । तर अहिले उहाँ उपचार पनि गर्न नसक्ने अवस्थामा हुनुहुन्छ भन्ने समाचार आउनु दुखद हो । खेलाडीले गालामा रगत र पाखुरामा बल हुँदा मात्र होइन नसक्ने अवस्थामा पनि सामाजिक सुरक्षाको व्यवस्था भयो भने केही गर्ने हौसला मिल्छ । खेलाडीको हितका लागि मेरो सक्दो सहयोग हुनेछ ।’  

 ‘म आफैँ पनि कांग्रेस पार्टीबाट मन्त्री बनेको छु । तर म कांग्रेसलाई सहयोग गर्न नभई समग्र खेलकुदको विकास तथा खेलाडीको हितमा काम गर्न आएको हुँ ।’

 

प्रकाशित: २५ श्रावण २०७४ ०४:३७ बुधबार

खेलकुदमन्त्रीको पुरानै प्रतिबद्धता