खेल

बज्राचार्य र कोइरालालाई दोहोरो उपाधि

काठमाडौं- राष्ट्रिय च्याम्पियनसमेत रहेका संरक्षकभूषण वज्राचार्यले शनिबार प्रथम एएनएलटीए/जेटीआई राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताअर्न्तगत यु–१६ एकलतर्फको उपाधि जितेका छन्। सातदोबाटोस्थित लन टेनिस कोर्टमा उपाधिका लागि भिडन्त हुँदा संरक्षकभूषणले पूरै सेट खेल्न परेन। उनका प्रतिद्वन्द्वी प्रणव खनाल रिटायर्ड हर्ट भएपछि संरक्षकभूषण विजेता घोषित भएका हुन्। प्रणवलाई चोट लाग्दा खेल १–१ सेटको बराबरीमा थियो। पहिलो सेटमा प्रणव ६–१ ले विजयी भएका थिए भने दोस्रो सेट संरक्षकभूषणले ६–३ ले जितेका थिए। यसअघि संरक्षकभूषणले यु–१८ एकल विधाको पनि उपाधि जितेका थिए।

महिला यु–१६ एकलतर्फको उपाधि प्रेरणा कोइरालाले जितन्। प्रेरणाले सलोनी तामाङलाई २–० हराउँदै हराउँदै उपाधि जितेकी हुन्। यससँगै प्रेरणाले पनि दोहोरो उपाधि जित्न सफल भइन्। यसअघि प्रेरणाले यु–१४ महिला एकलमा सलोनीलाई नै हराउँदै स्वर्ण पदक जितेकी थिइन्। यु–१६ महिला एकलको फाइनलमा प्रेरणाले सलोनी तामाङलाई ६–१, ६–३ ले पराजित गरेकी हुन्।

अखिल नेपाल लन टेनिस संघले आयोजना गरेको प्रतियोगितामा यु–८, यु–९, यु–१०, यु–१२, यु–१४, यु–१६ र यु–१८ उमेरसमूहको महिला तथा पुरुष एकलमा ७२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। यु–८ को पुरुषको उपाधि बोरिस अधिकारीले जित्दा महिलातर्फको उपाधि समृद्धि महर्जनले जितिन्। यु–९ पुरुषमा आयुमानहजुर घले तथा महिलामा प्रशंसा मोक्तान विजयी भएका थिए। यु–१० पुरुषको उपाधि आरभसम्राट हाडा र महिलातर्फको उपाधि प्रशंसा मोक्तानले जिते। यु–१२ पुरुषतर्फको उपाधि आर्यन गिरीले जिते भने महिलातर्फ रायना शाह विजयी भइन्। यु–१४ पुरुषमा सम्यकभूषण वज्राचार्य र यु–१८ महिलातर्फको उपाधि मायांका राणाले जितेका थिए।

प्रकाशित: २२ श्रावण २०७४ ०५:०७ आइतबार

बज्राचार्य कोइरालालाई दोहोरो उपाधि