खेल

रोनाल्डो अदालतमा उपस्थित

मड्रिड-रियाल मड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो सोमबार कर छली मुद्दामा अदालतमा उपस्थित भएका छन्। ३२ वर्षे रोनाल्डो १४ करोड ७० लाख युरो कर छली आरोपमा बयान दिन पोजियुलो डी एलकोरोनाको अदालतमा उपस्थित हुँदा सञ्चारकर्मीसँग लुक्दै पछिको बाटोबाट गएका थिए।

अदालतको सुनुवाइपछि रोनाल्डोले यससम्बन्धी पत्रकार सम्मेलनमार्फत जानकारी दिने बताइएको छ।

फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सूचीमा विश्वका धेरै आम्दानी गर्ने खेलाडी बनेका रोनाल्डो स्पेनमा कर छलीको आरोपमा अदालतमा बयानका लागि उपस्थित हुने पछिल्ला खेलाडी हुन्।

गत वर्ष कर छलीको मुद्दामा अदालतले पोर्चुगलका स्ट्राइकर रोनाल्डोका चिर प्रतिद्वन्द्वी अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीलाई दोषी भएको भन्दै जरिवाना र जेल सजाय सुनाएको थियो।

केही खेलाडीले स्पेनमा कर छलीको आरोपमा सजाय पाइसके पनि अझै केही खेलाडी अनुुसन्धानको घेरामा छन्।

स्पेनका अधिकारीहरूले रोनाल्डोले सन् २०१० मा नक्कली कम्पनी स्थापना गरेको र त्यसको फाइदा उठाउँदै कर छलेेको आरोप लगाएका छन्। उनीहरूले रोनाल्डोको यस कार्यले स्पेनको आर्थिक नीति उल्लंघन भएको बताएका थिए।

रोनाल्डोले सन् २०११ र २०१४ का बीचमा ४ करोड ३० लाख युरो आम्दानी गरे पनि १ करोड १५ लाख युरो मात्र आम्दानी गरेको भनी झूटो विवरण बुझाएको अधिकारीहरूले आरोप लगाएका थिए।

अदालतको सुनुवाइ प्रक्रियापछि रोनाल्डोले आफूमाथि लागेको आरोप खण्डन गर्ने बताइएको छ।

रोनाल्डोले आफूमाथि लागेको आरोपको खण्डन गर्दै आरोप निराधार भएको बताउँदै आएका छन्।

‘मेरो धारणा स्पष्ट छ, म निर्दोष छु,’ रोनाल्डोले भनेका थिए।

रियालका सर्वधिक गोलकर्ता रोनाल्डोले निर्दोष भए पनि आफूमाथि आरोप लागेको भन्दै स्पेन छाड्ने चेतावनी दिएपछि यस मुद्दाले नयाँ मोड लिएको थियो।

उनले केही दिनअघि स्पेनिस खेलकुद दैनिक मार्सासँग कुरा गर्दै रियालमै बस्ने र क्लबको उपाधि यात्रालाई निरन्तरता दिन चाहेको बताएका थिए।

स्पेनमा कर छली मुद्दा लागेका रोनाल्डो एक मात्र खेलाडी होइनन्। अदालतले यही प्रकृतिका मुद्दामा मेसीलाई २१ महिनाको जेल सजाय र  २ करोड ९ लाख युरो जरिवानाको सजाय सुनाएको थियो। स्पेनको कानुनअनुसार गैरहिंसाको घटनामा २ वर्षभन्दा कमको जेल सजाय भएमा जेल जानु पर्दैन। गत महिना अदालतले मेसीको जेल सजायको सट्टा दैनिक ४ सय युरोका दरले थप २ लाख ५२ हजार युरो तिरे पुग्ने फैसला गरेको थियो।

कर छलीकै मुद्दामा बार्सिलोनाका अर्जेन्टिनी रक्षक हाभिर मास्चेरानोलाई १ वर्षको जेल सजाय भएको थियो। बार्सिलोनाकै ब्राजिलियन स्ट्राइकर नेइमार र उनका अविभावकमाथि कर छलीको आरोपमा मुद्दा चलिरहेको छ।

त्यस्तै रियालका पूर्वखेलाडी एन्जेल डि मारिया, पोर्चुगलका रक्षक फाबियो कोइनट्रवो र पूर्वप्रशिक्षक जोजे माउरिन्होमाथि पनि कर छलेको आरोप लागेको छ।

रोनाल्डोमाथि लागेको आरोप प्रमाणित भएमा उनले २ करोड ८० लाख युरो जरिवानाका साथै साढे ३ वर्ष जेल जीवन बिताउनुपर्नेछ।

गत नोभेम्बरमा रियालसँगको सम्झौता सन् २०२१ सम्म थप गरेका रोनाल्डो सन् २०१६–१७ सिजनमा ९ करोड ३० लाख पाउन्डका साथ फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सूचीमा विश्वका धेरै आम्दानी गर्ने खेलाडी बनेका थिए।

प्रकाशित: १७ श्रावण २०७४ ०५:५२ मंगलबार

रोनाल्डो अदालतमा उपस्थित