खेल

इटालीका प्रशिक्षकको राजीनामा

इटालीलाई युरो कप च्याम्पियन बनाएका प्रशिक्षक रोबर्टो मान्सिनीले आइतबार पदबाट राजीनामा दिएका छन्।  

इटालियन फुटबल फेडेरेसन (एफआइजिसी) ले प्रशिक्षक मानसिनीले आइतबार राष्ट्रिय टोलीको पदबाट राजीनामा दिएको जनाएको हो। एफआइजिसीले शनिबार एक विज्ञप्ति जारी गर्दै मानसिनीले अप्रत्याशित रूपमा पदबाट हट्ने निर्णय पठाएको उल्लेख गरेको छ। ‘युरो २०२४ को क्वालिफायरमा नर्थ म्यासेडोनिया र युक्रेनविरुद्धको खेलअगाडि नै नयाँ प्रशिक्षक नियुक्त गर्नेछौं,’ फेडेरेसनले जनाएको छ। जियान पिइरो भेन्तुरोको प्रशिक्षणमा रहेको इटाली विश्वकप फुटबल २०१८ मा छनोट हुन असफल भएपछि मानसिनीले सोही वर्षको मेमा जिम्मेवारी पाएका थिए।

इटालीका अन्तर्राष्ट्रिय पूर्वखेलाडीसमेत रहेका मानसिनीले सन् २०२१ को युरो कप जिताउँदै इटालीको फुटबललाई पुनः जगाउने संकेत गरेका थिए। यद्यपि, उनी पनि कतार विश्वकप २०२२ मा इटालीलाई छनोट गराउन असफल भए। ५८ वर्षे मानसिनीलाई यसै महिना यु–२१ र यु–२० को पनि जिम्मेवारी दिइएको थियो। इटालीका सञ्चारमाध्यमले मानसिनीको स्थानमा लुसियानो स्पालेट्टीले लिन सक्ने जनाएका छन्। लुसियानोले नापोलीलाई ३३ वर्षपछि सिरी ‘ए’ को उपाधि दिलाएका थिए।  

प्रकाशित: २९ श्रावण २०८० ०२:२० सोमबार

इटालीका प्रशिक्षकको राजीनामा प्रशिक्षक रोबर्टो मान्सिनी