खेल

ब्याटिङमा तुलनात्मक सुधार, दीपेन्द्रसिंहको अर्धसतक

काठमाडौं- ब्याटिङमा तुलनात्मक सुधार गरेको नेपालले शुक्रबार यु–१९ विश्वकप क्रिकेट एसियाली छनोट प्रतियोगितामा आयोजक सिंगापुरलाई २२ रनले पराजित गरेको छ।

अघिल्ला तीन खेलमा टस जितेर फिल्डिङ रोजेको नेपालले शुक्रबार इन्डियन एसोसिएसन मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको थियो। दीपेन्द्रसिंह ऐरीले अर्धशतक पूरा गरेपछि नेपालले ४६.५ ओभरमा सबै विकेट गुमाएर १ सय ६८ रनको योगफल खडा गरेको थियो। १ सय ६९ रनको लक्ष्य पछ्याएको सिंगापुरले ४६.५ ओभरमा सबै विकेट गुमाएर १ सय ४६ रनमात्र जोड्न सक्यो। नेपालका प्रशिक्षक विनोद दासले धेरै भन्दा धेरै पिच कन्डिसन बु‰नग पिच चिसो भए पनि टस जितेर ब्याटिङ रोजेको बताए।

‘हामी पूरै पचास ओभर क्रिजमा बिताउन चाहन्थ्यौं। त्यसैले बलिङमैत्री पिच भए पनि हामीले पहिला ब्याटिङ गर्ने निर्णय गर्‍यौं,’ प्रशिक्षक दासले भने, ‘हामीले ब्याटिङमा केही सुधार त गर्‍यौं, तर अझै हाम्रो प्रदर्शनमा धेरै सुधार आवश्यक छ।’

अघिल्ला खेलका तुलनामा ब्याटिङक्रममा केही परिवर्तन गरेको नेपालले १२औं ओभरसम्म ३९ रन जोड्दा तीन विकेट गुमाइसकेको थियो। ओपनिङमा आएका अनिल शाहले सन्दीप सुनारसँग पहिलो विकेटका लागि २० रनको साझेदारी गर्दै नेपाललाई आशा दिलाएका थिए। तर ९ बलमा १ चौकासहित ७ रन जोडेका अनिललाई तेस्रो ओभरमै आर्यमन सुनिलले ब्रिगु इएरबाट क्याच गराएपछि नेपालले थप १९ रन जोड्दा अर्को दुई विकेट गुमायो। १४ बलमा १ चौकासहति ८ रन जोडेका प्रनित थापामगरलाई अंश भारगाबाले हंशुल दीपमार्फत क्याच गराए। आसिफ शेख ३ रन जोडेर पवेलियन फर्किए। असिफलाई आहन गोपिनाथ अचरले बोल्ड गरेका हुन्। अनिललाई ओपनिङ गराएकोमा प्रशिक्षक दासको भनाई थियो, ‘अघिल्ला खेलमा हाम्रो ब्याटिङ राम्रो हुन सकेको थिएन। त्यस्तो टोलीमा केही परिवर्तन गर्नु आवश्यक थियो। त्यसैले हामीले अनिललाई ओपनिङमा पठाउने निर्णय गर्‍यौं। तर दूर्भाग्यवश उनी लेगसाइडमा क्याच हुन पुगे।’

आगामी खेलमा पनि अनिलले ओपनिङमा निरन्तरता पाउँछन् भन्ने प्रश्नमा प्रशिक्षक दासले भने, ‘अहिल्यौं केही भन्ने अवस्था छैन। हामीसँग एडिल खान पनि छन्। अवस्था हेरेर निर्णय लिन्छौं।’

त्यसपछि सन्दीप सुनार र दीपेन्द्रसिहं ऐरीले चौथो विकेटका लागि ३५ रनको साझेदारी गर्दै नेपालको इनिङ उकास्ने प्रयास गरे। ५५ बलमा २ चौका र १ छक्का प्रहार गरेका सन्दीप सुनार २६ रन जोड्दा आहनको बलमा हंशुल दीपमार्फत क्याच भए। त्यसपछि दीपेन्द्रसिंहले रोहितकुमार पौडेलसँग पाँचौं विकेटका लागि ४१ रनको साझेदारी गर्दै नेपाललाई सम्मानजनक स्कोरतर्फ डोहर्‍याएका थिए। अािघल्ला तीन खेलमा १० रनमात्र जोड्न सकेका दीपेन्द्रसिंहले ८३ बलमा २ चौका र २ छक्का हान्दै ५४ रन बनाए। प्रशिक्षक दासले दीपेन्द्रसिंहको प्रशंसा गर्न छुटाएनन्। उनले थपे, ‘दीपेन्द्रसिंह उत्कृष्ट खेलाडी हुन्। उनीबाट मैले ठूलो स्कोरको आशा गरेको छु। आज उनले जसरी खेले त्यसबाट म खुशी छु।’

दीपेन्द्रलाई विक्रम बीर विसवारेले रोहन रंगराजनमार्फत क्याच गराएका थिए। रोहितकुमारले ३१ बलमा १ चौकासहित १५ रन जोडे। अफगानिस्तानविरुद्ध २६ रन बनाएका पवन सर्राफ २ रनमा पवेलियन फर्किए। प्रकास केसीले २३ रन बनाए। प्रकाशले २४ बलमा ३ चौका प्रहार गरे। कप्तनान सन्दीप लामिछानेले ५ रन जोड्दा किशोर महतो १ रनमा अविजित रहे।

सिंगापुरका विक्रम बीरले ३ विकेट लिँदा आर्यमन सुनिल र आहनले समान २/२ विकेट लिए। अंश र रोहनको नाममा १/१ विकेट रह्यो।

१ सय ६९ रनको लक्ष्य पछ्याएको सिंगापुरले पनि राम्रो सुरुआत गरेको थियो। ओनपर रोहन र सिन अग्रवालले पहिलो विकेटका लागि ४० रनको साझेदारी गर्दै नेपाली बलरलाई दबाबमा राखेका थिए। १२ ओभरको पहिलो बलमा नेपालका कप्तान सन्दीपले रोहनलाई ‘कट एन्ड बोल्ड’ गर्दै महŒवपुर्ण साझेदारी तोडेका थिए। राहनले ३१ बलमा ३ चौका र १ छक्कासहित २३ रन बनाएका थिए। तर त्यसपछि सिन अग्रवालले पुन सिद्धान्तसँग दोस्रो विकेटका लागि ३६ रनको साझेदारी गरे। दुईको साझेदारीलाई किशोरले तोडेका थिए। किशोरले सिन अग्रवाललाई एलबिडब्लु आउट गरेका थिए। लगत्तै सिद्धान्तलाई पनि सन्दीप लामिछानेले एलबिडब्लु आउट गरे। सिन अग्रवालले २१ रन जोड्दा सिद्धान्तले २५ रन बनाए।

त्यसपछि युवराज सिंह र हंशुल दीपले छैटौं विकेटका लागि ४५ रनको साझेदारी गर्दै नेपाललाई दबाबमा राखेका थिए। यी दुईको साझेदारीलाई पनि सन्दीप लामिछानेले तोडेका थिए। ३० बलमा १ चौका र २ छक्का प्रहार गरेका हंशुल दीपलाई सन्दीपले एलबिडब्लु आउट गरे। १९ रन जोडेका युवराजलाई किशोरले दीपेन्द्रसिंहमार्फत क्याच गराए। सिंगापुरका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

सन्दीपले १० ओभरमा १ मेडनसहित २२ रन दिएर ४ विकेट लिए। पहिलो दुई खेलमा ५/५ विकेट लिएका सन्दीपले प्रतियोगितामा १६ विकेट लिइसकेका छन्। किशोर र पवनको नाममा २/२ विकेट रह्यो। म्यान अफ दी म्याच घोषित दीपेन्द्रसिंहले १ विकेट लिए।

पहिलो खेलमा नेपालले सिंगापुरलाई ७३ रनमा अलआउट गरेको थियो। तर शुक्रबार सिंगापुरले १ सय ४६ रनसम्मको स्कोर बनायो।

शुक्रबारै अफगानिस्तानले मलेसियालाई १० विकेटले पराजित गर्‍यो। मुजीव जर्दानले ६ विकेट लिएपछि सिंगापुर क्रिकेट क्लबमा पहिला ब्याटिङ गरेको मलेसियाले २२.२ ओभरमा सबै विकेट गुमाएर ५८ रन जाडेको थियो। ५९ रनको लक्ष्य अफगानिस्तानले ५.४ ओभरमा विना क्षती पूरा गर्‍यो।

प्रकाशित: ७ श्रावण २०७४ ०३:४२ शनिबार

ब्याटिङमा तुलनात्मक सुधार दीपेन्द्रसिंहको अर्धसतक