खेल

अन्तिम खेलमा पनि नेपाल पराजित

काठमाडौं- लगातार तीन खेलमा पराजित हुँदै नेपालको एएफसी यु-२३ च्याम्पियनसिप छनोट यात्रा टुङ्गिएको छ। बुधबार अबेर राति भएको खेलमा नेपाल लेबनानसँग २-० ले पराजित भयो। समूह 'डी' अन्तर्गतको अन्तिम खेलमा पनि नेपालले गोल गर्न सकेन। समूहमा नेपाल मात्र अंक बटुल्न नसक्ने टोली हो। नेपालले तीन खेलमा ९ गोलको सामना गर्दा विपक्षीको पोस्टमा एक गोल पनि गर्न सकेन।

समूह चरणको अन्तिम खेलमा नेपाल र लेबनान प्रतिष्ठाका लागि खेलेका थिए। अघिल्ला दुई खेलमा पराजित भइसकेकाले दुवै टोलीको छनोट चरण पार गर्ने सम्भावना समाप्त भइसकेको थियो।

अन्तिम खेलमा जित हासिल गरेर दुवै टोली प्रतियोगिताको अन्त्यलाई सुखद बनाउने लक्ष्यमा थिए। तर नेपालले अन्तिम खेलमा पनि हारको शृंखलालाई रोक्न सकेन। कोउरानीले २९औं मिनेटमा गोल गरेर नेपालविरुद्ध लेबनानलाई अग्रता दिलाएका थिए।

खेलको अन्तिम समयसम्म पनि लेबनानले १ गोलले अग्रता लिएको थियो। खेलमा नेपालको अन्तिम समयसम्म पुनरागमन गर्ने प्रयास असफल भइरहेको बेला लेबनानले अग्रतालाई दोब्बर बनाएको थियो। कोउरानीले नै ९०औं मिनेटमा गोल गर्दै नेपालको खेलमा फर्कने सम्भावनालाई कमजोर बनाइदिए।

राष्ट्रिय टोलीको प्रशिक्षक भएर काम गरिसकेका राजुकाजी शाक्यको प्रशिक्षणमा नेपाल छनोट प्रतियोगिता खेल्न युएई गएको थियो। फितलो तयारी गर्दै युएई पुगेको नेपाल आयोजक युएईसँग ५–० ले पराजित भएको थियो। आयोजकसँग लज्जाजनक हारको सामना गरेपछि नेपालले दोस्रो खेलमा रणनीतिमा केही परितर्वन गरेर खेलेको थियो। पहिलो खेल ४–१–४–१ को फर्मेसनमा खेलेको नेपालले उज्बेकिस्तानसँग सोमबार भएको खेल ४–४–२ को फर्मेसनमा खेलेको थियो। तर दोस्रो खेलमा पनि नेपालले हारलाई टार्न सकेन। खराब नतिजा आत्मसात् गर्ने क्रममा नेपाल उज्बेकिस्तानसँग २–० ले पराजित हुन पुग्यो।

प्रतियोगिताबाट बाहिरिसके पनि राष्ट्रिय टोलीका स्ट्राइकर विमल घर्तीमगरको कप्तानीमा रहेको नेपाल लेबनानविरुद्ध सुखद नतिजा निकाल्ने योजनामा थियो। तर पछिल्ला दुई संस्करणमा सन् २०१४ र २०१६ को छनोट चरण पारेर गरेर फाइनल चरण खेलेको लेबनानले नेपाललाई गोल गर्ने मौका दिएन। प्रतियोगिताअघि नेपालले घरेलु मैदानमा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेर युएई गएको थियो। मैत्रीपूर्ण खेलमा बंगलादेशलाई १–० ले हराउँदै आफ्ना कमजोरीलाई सुधार्ने अवसर पाएको नेपालले सुरुआती खेलदेखि कमजोर प्रदर्शन गरेको थियो। त्यो प्रदर्शनलाई नेपालले अन्तिम खेलसम्म सुधार गर्न सकेन।

यसै गरी उज्बेकिस्तानले घरेलु टोली युएईलाई २–० ले हराउँदैं एएफसी यु–२३ च्याम्पियनसिपको लागि छनोट भएको छ। उज्बेकिस्तानले लगातार तीन खेल जितर समूह विजेता बन्दै च्याम्पियनसिपका लागि छानिएको हो। उज्बेकिस्तानले समूह चरणको पहिलो खेलमा लेबनानलाई ३–१ ले हराएको थियो। समूह चरणको तीन खेलमा विपक्षीको पोस्टमा ७ गोल गर्दा उज्बेकिस्तानले १ गोलको मात्र सामना गर्‍यो। बुधबार उज्बेकिस्तान र युएईविरुद्धको खेल छनोट हुनका लागि निर्णायक थियो। दुवै टोलीको समान ६ अंक भएकाले अन्तिम तेस्रो खेलमा जित हासिल गर्ने टोली प्रतियोगिताको लागि छनोट हुने थियो।

प्रकाशित: ६ श्रावण २०७४ ०६:५० शुक्रबार

अन्तिम खेलमा नेपाल पराजित