खेल

हारपछि नेपालको सम्भावना कमजोर

काठमाडौं- फितलो ब्याटिङले बिहीबार पनि निरन्तरता पाउँदा सिंगापुर क्रिकेट क्लबमा नेपालले अफगानिस्तानलाई १ सय ४१ रनको नतिजा सुम्पिएको छ। आइसिसी यु–१९ विश्वकप एसियाली छनोट प्रतियोगिताको तेस्रो खेलमा टस हारेर पहिलो ब्याटिङ थालेको अफगानिस्तानले नेपाललाई १ सय ९१ रनको विजयलक्ष्य छाडेको थियो। अफगानिस्तानको कसिलो बलिङसामु नेपाली ब्याट्सम्यान २६ ओभरसम्म मात्र टिक्न सके। चार ब्याट्सम्यान शून्यमै पवेलियनको बाटो ताकेपछि नेपालले ४९ रन जोड्दा सबै विकेट गुमायो। बिहीबारको हारसँगै नेपालको २०१८ मा यु–१९ विश्वकपमा छनोट हुने सम्भावना कमजोर बनेको छ।

डबल राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा पहिलो चरणको खेल सकिँदा नेपालले तीन खेलबाट ४ अंक जोडेको छ। नेपाल दोस्रो स्थानमा छ। पहिलो स्थानमा रहेको अफगानिस्तानले नेपाललाई २ अंकले पछि छाडेको छ। खेलेका तीनमध्ये तीनै खेल जितेको अफगानिस्तानले ६ अंक बनाएको छ। अयोजक सिंगापुरले दुई अंक बटुलेको छ। मलेसिया अहिलेसम्म जितविहीन छ।

‘जब हामीले पहिलो दश ओभरमै शीर्ष चार ब्याट्सम्यान गुमाउँछौं भने उक्त प्रदर्शनको बचाउ गर्न मिल्दैन,’ नेपालको ब्याटिङबारे प्रशिक्षक विनोद दासले भने, ‘उनीहरूले उत्कृष्ट ब्याटिङ गरे। यो विकेट ब्याटिङका लागि त्यति धेरै खराब पनि होइन। तर हामीले टिकेर ब्याटिङ गर्न सकेनौं।’

अघिल्ला दुई खेलमा एक सयभन्दा सानो योगफल पछ्याएर जितेको नेपालले बिहीबार जितका लागि झन्डै दोब्बर योगफलको लक्ष्य पाएको थियो। नेपालले सिंगापुरविरुद्ध ७३ रनको लक्ष्य पछ्याएको थियो भने मलेसियाविरुद्ध ५८ रनको लक्ष्य पछ्याएर विजय हासिल गरेको थियो।

अफगानिस्तानविरुद्ध १ सय ९१ रनको लक्ष्य पछ्याएको नेपालले छैटौं ओभरमा ओपनर आसिफ शेखलाई गुमाएको थियो। २३ बलमा १ चौकासहित ६ रन बनाएका आसिफलाई दायाँहाते स्पिनर मुजिब जर्दानले बोल्ड गरे। लगत्तै मुजिबको अर्को स्पेलमा अर्का ओपनर सन्दीप सुनार एलबिडब्लु आउट भए। सन्दीपले २ रन जोडेका थिए। त्यसपछि मध्यम गतिका बलर नवीन उल हकले प्रतियोगितामा पहिलो ह्याटि्रक पूरा गर्दै चार बलमा चार विकेट लिएपछि नेपालले सम्हालिने मौकै पाएन। नेपालले धेरै आशा गरेका दीपेन्द्रसिंह ऐरीलाई नवीनले इब्राहिम जर्दानमार्फत क्याच गरे। अहिलेसम्म नेपालका लागि सबैभन्दा धेरै रन बनाएका प्रनित थापामगरलाई बोल्ड गरेका नवीनले अनिल शाहलाई एलबिडब्लु आउट गर्दै ह्याटि्रक पूरा गरे। दीपेन्द्रले ६ बलमा ४ रन जोडे। प्रतियोगिताको तीन खेलमा दीपेन्द्रले १० रनको आँकडा कटाउन सकेका छैनन्। लगत्तैको अर्को बलमा नवीनले एडिल खानलाई बोल्ड गरे।

नेपालका प्रशिक्षक दासले पनि चार बलमा राम्रा चार ब्याट्सम्यान गुमाउनु खेलको निर्णायक मोड भएको बताए। उनले भने, ‘हामीले नवीनको ४ बलमा राम्रा चार ब्याट्सम्यान गुमायौं। यसमा पिचलाई दोष छैन। हाम्रा खेलाडीले परिस्थितिअनुसार खेल्न सकेनन्। हामीले ब्याटिङ राम्रो गर्न नसकेको स्विकार्नुपर्छ।’

प्रतियोगितामा नेपालको सम्भावनाबारे प्रशिक्षक दासले थपे, ‘हामीलाई थाहा छ कि हाम्रो क्षमताअनुसार हामीले अझै खेल्न सकेका छैनौं। विगत एक महिनादेखि हामीले जुन मिहिनेत गरेका थियौं त्यसअनुसार यसबाट सबैभन्दा दुखी हामी छौं। अबका प्रत्येक खेलमा हामी तीनै पक्षमा सुधार गर्नेछौं। हाम्रो तर्फबाट सक्दो राम्रो गर्ने प्रयास गर्नेछौं। हेरांै प्रतियोगिताको अन्त्यसम्म हामी कुन स्थानमा हुन्छौं।’

नेपालका पवन सर्राफले ५४ बलमा ४ चौकासहित २६ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यान क्रिजमा लामो समय टिक्न सकेनन्। कप्तान सन्दीप लामिछाने शून्यमा पवेलियन फकर्िंदा साहब आलमले १ रन जोडे। किशोर महतो २ रनमा अविजित रहे।

अफगानिस्तानका मुजिबले ९ ओभरमा ५ मेडनसहित ७ रन दिएर ४ विकेट लिए। नवीनले ४ ओभरमा १ मेडनसहित ८ रन दिएर ४ विकेट लिए। युसुफ जजाई र जाहिर खानको नाममा १/१ विकेट रह्यो।

त्यसअघि अफगानिस्तानका ओपनर नाबिद ओबेद र इब्राहिम जर्दानले पहिलो विकेटका लागि ७५ रनको साझेदारी गर्दै नेपाली बलरमाथि दबाब सिर्जना गरेका थिए। नाबिदले ३३ रन जोड्दा इब्राहिमले ४३ रनको योगदान गरे। तरिक स्टेनिकजाईले २७, नवीनले २०, इमरान मोहम्मेदीले १८, दरविस रसुलीले १४ र समसुर रहमानले १२ रन जोडे।

नेपालका साहब आलमले ३ विकेट लिँदा सन्दीप लामिछाने र पवन सर्राफले समान २/२ विकेट लिए। किशोर महतो र दीपेन्द्रसिंहको नाममा १/१ विकेट रह्यो।

बिहीबारै भएको अर्को खेलमा आयोजक सिंगापुरले मलेसियालाई १ सय २७ रनले पराजित गर्‍यो। सिंगापुरले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६२ रन बनाएको थियो। २ सय ६३ रनको लक्ष्य पछ्याएको मलेसियाले ४२.४ ओभरमा सबै विकेट गुमाएर १ सय ३५ रन मात्र जोड्न सक्यो।

प्रकाशित: ६ श्रावण २०७४ ०६:४४ शुक्रबार

हारपछि नेपालको सम्भावना कमजोर