खेल

यु १९ विश्वकप छनौटः नेपालद्वारा सिंगापुर पराजित

काठमाडौं— यु १९ विश्वकप छनौट क्रिकेटमा नेपालले सिंगापुरलाई ४ विकेटले पराजित गरेको छ। सिंगापुरले पहिला ब्याटिङ गर्दै ७४ रनको लक्ष्य दिएको थियो।

नेपालले १७.३ ओभरमा ६ विकेट गुमाउँदै ७७ रन बनायो। नेपालका लागि प्रनित थापा मगरले सर्वाधिक २३ रनको योगदान दिए। २६ बल सामना गरेका उनले चार चौका प्रहार गरेका थिए। अनिल शाह र रोहितकुमारले क्रमश १९ र ११ रन बनाए। नेपालका अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

पहिले ब्याटिङ गरेको सिंगापुर २९ ओभरमा अल आउट हुँदा ७३ रन बनाउन सक्यो। नेपाली टोलीका कप्तान सन्दिप लामिछानेले ५ विकेट लिए। साहब आलमलको पोल्टामा ३ विकेट पर्‍यो भने किशोर महतले २ विकेट लिए। सिंगापुरका लागि ब्रिगु लायरले सर्वाधिक ४२ तथा सेन अग्रवालले ११ रन बनाउनुबाहेक अरूले दोहोरो रनको स्कोर छुन सकेनन्। सिंगापुरका चार खेलाडी शून्यमा आउट भए।

प्रतियोगितामा एसियाका शीर्ष चार राष्ट्र अफगानिस्तान, नेपाल, मलेसिया र आयोजक सिंगापुरका युवा टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको शीर्ष स्थानमा रहने टोली अर्को वर्ष हुने युथ विश्वकपका लागि छनोट हुनेछ।

प्रकाशित: २ श्रावण २०७४ ०६:२४ सोमबार