खेल

नवरात्रले विश्वकपको तालिका परिवर्तन

कट्टर प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच यसै वर्ष हुने विश्वकपको प्रतिस्पर्धाको मिति सारिएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले विश्वकपमा भारत र पाकिस्तानबीचको खेलसँगै अन्य आठवटा खेलको खेलतालिका परिवर्तन गरिएको जनाएको हो। आगामी विश्वकपमा भारत र पाकिस्तान आगामी अक्टोबर १५ मा खेल्ने तालिकाको थियो। यद्यपि, आइसिसीले खेलतालिका परिवर्तन गर्दै एक दिनअगाडि नै यी दुई कट्टर प्रतिद्वन्द्वी बीचको प्रतिस्पर्धा तय गरेको छ। भारतको आयोजनामा यसै वर्ष हुने विश्वकपमा घरेलु टोलीले विश्वकपकै ठूलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पाकिस्तानसँग चुनौती प्रस्तुत गर्दै छ।

५० ओभरको विश्वकप सुरुआतमा जुनमा हुने तय थियो। तर, दुई देशबीच द्वन्द्व सुरु भएपछि पाकिस्तानले भारत नजाने घोषणा गरेसँगै विश्वकपको समयतालिका परिवर्तन हुन पुग्यो। विश्वकप आयोजना सुरु हुन दुई महिनाभन्दा कम समय बाँकी छँदा फेरि खेलको समयतालिकामा परिवर्तन भएको छ। खेलस्थलमा भने परिवर्तन भएको छैन।

अहमदाबादको सुरक्षा अफिसरले अक्टोबर १५ मा सुरक्षा दिन कठिनाइ हुने बताएपछि आइसिसीले उक्त खेल समय तालिका परिवर्तन गरेको हो। नौ दिनसम्म चल्ने हिन्दुहरूको नवरात्र पनि अक्टोबर १५ मा नै सुरु हुने र त्यो दिन भारत र पाकिस्ताबीचको खेलमा पनि अत्यधिक दर्शक आउने सक्ने अनुमान गर्दै अहमदाबादको प्रहरीले सुरक्षा चुनौती हुन सक्ने जनाएको थियो।

हिन्दुवादी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पनि राजनीति करियरको आधार क्षेत्र पनि अहमदाबाद हो। उनको नामबाट बनेको उक्त विशाल क्रिकेट रंगशाला पनि त्यो पर्वका कारण छायामा पर्ने भएकाले खेलको समयतालिका सारिएको अनुमान गरिएको छ।

ठूलो संख्यामा भारत र पाकिस्तानका समर्थक भेला हुने भएकाले उनीहरूबीच पनि द्वन्द्व हुन सक्ने अनुमान स्थानीय सुरक्षाकर्मीको थियो। पाकिस्तानले भारत एसिया कप खेल्न श्रीलंका जाने भएपछि मात्र आफू पनि विश्वकप खेल्न भारत जाने निर्णय गरेको हो।

एसिया कप आगामी सेप्टेम्बरमा पाकिस्तानले आयोजना गरे पनि यी दुई बीचको प्रतिस्पर्धा श्रीलंकामा हुँदै छ। यसै हप्ता मात्र पाकिस्तान सरकारले विश्वकप खेल्न भारत टोली पठाउनका लागि पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) लाई अनुमति दिएको हो।

प्रकाशित: २५ श्रावण २०८० ०१:१८ बिहीबार

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) आठवटा खेलको खेलतालिका परिवर्तन