खेल

इङ्ल्यान्डलाई जिते कोलम्बिया सशक्त दाबेदार

कोलम्बियाले जारी महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा इङ्ल्यान्डविरुद्ध जित निकाल्दै ऐतिहासिक सफलता आत्मसात् गर्ने लक्ष्य राखेको छ।

जारी विश्वकपमा अहिलेसम्म दक्षिण अमेरिकाको एक मात्र टोली कोलम्बियाले आगामी शनिबार क्वार्टरफाइनलमा इङ्ल्यान्डको सामना गर्दै छ। इङ्ल्यान्डविरुद्धको उक्त खेलमा कोलम्बियाकी कप्तान क्याटलिना युस्मेले ‘ठूलो सपना देखेको’ र प्रशिक्षक नेल्सन अबाडियाले ‘इतिहास कायम गर्ने’ भन्दै प्रतिक्रिया दिएका छन्।

विश्व वरीयताको २५औं स्थानमा रहेको दक्षिण अमेरिकी टोली कोलम्बियाले यसअघि कहिल्यै पनि क्वार्टरफाइनलमा स्थान बनाएको छैन। यद्यपि, मंगलबार अफ्रिकी टोली जमैकामाथि १–० को साँघुरो जित निकाल्दै कोलम्बियाले इतिहास कायम गरिसकेको छ।

जारी विश्वकपमा अहिलेसम्म दक्षिण अमेरिकाको एक मात्र टोली कोलम्बियाले आगामी शनिबार क्वार्टरफाइनलमा इङ्ल्यान्डको सामना गर्दै छ।

कोलम्बियाको त्यो सफलतामा कप्तान युस्मेको गोल निर्णायक बनेको थियो। शनिबार सिड्नीमा कोलम्बियाले इङ्ल्यान्डको सामना गर्दै छ। कोलम्बियाले समूहचरणमा विश्वको दोस्रो वरीयतामा रहेको जर्मनीलाई पनि २–१ ले स्तब्ध बनाएकाले इङ्ल्यान्डविरुद्ध पनि निडरतापूर्वक प्रतिस्पर्धा गर्नेमा दुई मत छैन।

कोलम्बियाका प्रशिक्षक अबाडियाले युरोपियन च्याम्पियन इङ्ल्यान्डले पनि जारी विश्वकपको उत्कृष्ट टोली रहेको भने स्वीकार गरेका छन्। ‘इङ्ल्यान्ड जारी विश्वकपको उत्कृष्ट टोली हो। तर, हामीले अर्को उत्कृष्ट टोली जर्मनीसँग पनि प्रतिस्पर्धा गरिसकेका छौं। त्यसैले हामी पनि दोस्रो उत्कृष्ट टोली हौं,’ उनले भने।

कोलम्बियाले जारी विश्वकपमा उत्कृष्ट अट्याकिङ फुटबल खेलिरहेको छ। उनीहरूको त्यो खेल शैलीमा युवा स्ट्राइकर लिन्डा काइसेडो स्टार फुटबर साबित हुँदै आइरहेकी छन्। यता, कप्तान युस्मे पनि कोलम्बियाका लागि अर्की भरपर्दी खेलाडी हुन्।

उनै उस्मेले आफ्नो टोलीको यात्रा कुनै पनि हालत नरोकिने बताएकी छन्। ‘हामी यो ऐतिहासिक यात्रालाई जारी राख्न चाहन्छौं। गोल गरेर नै हामी यहाँसम्म आइपुगेका हौं,’ उनले भनिन्, ‘अब हामी इङ्ल्यान्डका बारेमा सोचिरहेका छौं। जुन खेल हाम्रो सपना पनि हो। हामीले त्यो खेलमा धैर्यताका साथै बुद्धि प्रयोग गरेर खेल्नुपर्छ। तब मात्र हामीले यो विश्वकपमा केही गर्न सक्छौं।’

कोलम्बियाले जारी विश्वकपमा उत्कृष्ट अट्याकिङ फुटबल खेलिरहेको छ। उनीहरूको त्यो खेल शैलीमा युवा स्ट्राइकर लिन्डा काइसेडो स्टार फुटबर साबित हुँदै आइरहेकी छन्। यता, कप्तान युस्मे पनि कोलम्बियाका लागि अर्की भरपर्दी खेलाडी हुन्।

नेल्सन अबाडियाले सन् २०१७ देखि कोलम्बियाको प्रशिक्षण समालेका हुन्। तर, उनको प्रशिक्षणमा सन् २०१९ मा भएको गत संस्करणमा भने कोलम्बिया छनोट हुन असफल भएको थियो।

यस पटक भने विश्वकप खेलेको कोलम्बिया सन् २००७ मा आफ्नै महादेशीय राष्ट्र ब्राजिलले पाएको सफलता प्राप्त गर्न चाहन्छ। त्यति बेला ब्राजिल विश्वकपको फाइनलमा पुगेको थियो। यद्यपि, फाइनलमा भने ब्राजिल जर्मनीसँग पराजित भएको थियो। अहिलेसम्म कुनै पनि दक्षिण अमेरिकी राष्ट्रले महिला विश्वकप जित्न सकेको छैन। सम्भवतः कोलम्बियाले इङ्ल्यान्डलाई हराएमा उसलाई त्यो दाबेदारका रूपमा हेरिनेछ।  

प्रकाशित: २५ श्रावण २०८० ०१:०७ बिहीबार

महिला विश्वकप ऐतिहासिक सफलता आत्मसात् गर्ने लक्ष्य