खेल

गिरिजाप्रसाद क्रिकेट रंगशाला २ वर्ष भित्रै बन्छ: मन्त्री लिम्बु

विराटनगर १९ वैजनाथपुर स्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला। फाइल तस्बिर: नागरिक।

युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले विराटनगर –१९ वैजनाथपुर स्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालाको डिपिआर अन्तिम चरण पुगेको बताएका छन्।

आज विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री लिम्बुले मुलपानी र विराटनगर स्थित वैजनाथपुरको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालाको डिपिआर अन्तिम चरणमा पुगेको बताएका हुन्। उनले डिपिआर तयार भए पछि भौतिक पूर्वाधार निर्माणको काम सुरु गर्ने जानकारी दिए।

‘डिपीआरको काम अन्तिम चरणमा पुगेको छ’ मन्त्री लिम्बुले भने ‘डिपीआर तयार भइसकेपछि भौतिक निर्माणको काम अघि बढ्छ।’ मन्त्री लिम्बुले गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला २ वर्ष भित्र निर्माण सम्पन्न गर्ने योजना मन्त्रालयको रहेको जानकारी दिए।

उनले उक्त रंगशाला निर्माण सम्पन्न गर्न २ अर्ब रुपैयाँ लागत लाग्ने प्रारम्भिक अनुमान रहेको र डिपिआर तयार भइसके पछि कति बजेट आवश्यक पर्ने भन्ने यकिन विवरण आउने बताए।

गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालाका लागि यो वर्ष सरकारले ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। थोरै बजेट परेकाले विभिन्न आलोचना भए पनि आफू गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला निर्माण गर्न दृढ रुपमा लागि परेको लिम्बुले स्पष्ट पारे।

विराटनगर १९ स्थित बैजनाथपुरमा १७ बिघा क्षेत्रफल रहेको क्रिकेट रंगशाला सरकारी निकायको वेवास्थाका कारण अलपत्र अवस्थामा रहेको छ।

प्रकाशित: २४ श्रावण २०८० ११:४० बुधबार

गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला