खेल

यु–१६ यूथ फुटबल लिग : त्रिभुवन आर्मी क्लबमाथि पुलिसको जित

नेपाल पुलिस क्लबले जारी एन्फा यु–१६ यूथ फुटबल लिगमा विभागीय टोली प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबमाथि ६–१ को रबाफिलो जित निकालेको छ। 

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा ललितपुरस्थित च्यासल स्टेडियममा शनिवार पुलिसले विभागीय डर्बीमा रबाफिलो जित आत्मसाथ गरेको हो। पुलिसको जितमा सुवास बम र नवीन ओलीले दुई गोल तथा निश्चल मगर र लक्ष्मण थामीले समान एक गोल गरे। खेलको १८ औं मिनेटमा नै नवीनले गोल गर्दै पुलिसलाई अग्रता दिलाए। तर, ३४औं मिनेटमा अनुभव पुरीले गोल फर्काउँदै आर्मीलाई खेलमा फर्काए। तर, दोस्रो हाफमा भने पुलिसले गोलको वर्षा गर्दै पाँच गोल गर्‍यो।

५२ औं मिनेटमा लक्ष्मण थामीले गोल गर्दै अग्रता दोब्बर पारे। त्यसको दुई मिनेटमा नै नवीन ओलीले पुलिसको तेस्रो गोल थपे। अन्तिम १० मिनेटमा पुलिसले तीन गोल थपेपछि रबाफिलो जित निकाल्यो। सुवासले ८१औं मिनेट र ९०औं मिनेटमा गोल गरेका थिए। खेलको इन्जुरी समयमा निश्चल मगरले गोल थप्दा पुलिस विभागीय टोलीमाथि पूर्ण हाबी भयो। 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिवार भएको अर्को खेलमा सङ्कटा क्लबले पनि एफसी खुमलटारमाथि ५–१ को फराकिलो जित निकाल्यो। शनिवार भएको तेस्रो खेलमा एपिएफ र चर्च ब्वाइज क्लबले १–१ को बराबरीमा खेले।

एपिएफले अग्रता जोगाउन नसक्दा चर्च ब्वाइजले एक अंक प्राप्त गरेको हो। कुल १० टोली सहभागी यूथ लिग आगामी ६ महिनासम्म चल्नेछ। लिगमा मनाङ मस्र्याङ्दी र पुलिससहित एफसी खुमलटार, सङ्कटा, आर्मी, एपिएफ, फ्रेण्ड्स, चर्च ब्वाइज, न्युरोड टिम र मच्छिन्द्र एफसीले प्रतिस्पर्धा गर्दैछन्। लिगका खेलहरू एन्फा कम्प्लेक्स, च्यासल स्टेडियम र नेपाल आर्मीको खेल मैदान सल्लाघारीमा भइरहेका छन्। उक्त खेलहरू शनिवार र सार्वजनिक बिदामा मात्र सञ्चालन हुनेछन्। 

प्रकाशित: २० श्रावण २०८० १३:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App